वि.सं २०७९ भदौ महिनाको एक दिन । आफ्नै पुर्खौली रस्तीबस्ती रहेको इन्द्रावती गाउँपालिका सिपा पोखरेमा सानोतिनो काम लिएर गएको । ढाँडबिसीको तीनकुनेमा बसबाट उत्रिएँ अनि केहीबेर यताउता विहङ्गम दृष्टि दौडाएर टहलिँदै गरेँ । एक डेढ दशकभित्रै अचम्मले फेरिएछ देउपुर फाँटको अनुहार । पहिले त्यहाँ एउटै घर थिएन, गाईभैँसीका गोठमात्र फाट्टफुट्ट थिए तर गाँउबाटै खेतीपाती धान्दै आएका स्थानीय बासिन्दाले बाह्रै महिना हरियो भरिलो रहने सग्लो सिङ्गो उर्वर फाँटमा बिनायोजनाका घरैघरको छरपस्ट खात लगाएछन् । सलबलाउँदा गाडकुला झिकेर सिँचाइ गर्दै वर्षको तीनचार बाली फलाउने बहाडिलो फाँटको अस्मिता बाँदरले हरिया मकै च्यातेझैँ च्यतचुत भएछ । पारी खँड्पाबिसी र भीमटारको उर्वर फाँट पनि बालुवा, गिट्टी र बोल्डर ढुङ्गाको पहाडले थिचिएर निसास्सिएजस्तो देखियो । चौबिसै घण्टा कर्कश आवाजले चारै दिशा थर्काउँदै चालू रहेका भीमकाय क्रसरहरूको भीडभाड रहेछ जताततै । तल्ला बिसीको आधासरो फाँट पनि मरन्च्याँसे बालीनालीमा साख धान्दै रहेछ । स्थानीय एक वृद्धलाई सोधखोज गर्दा मेलैसित बताउन थालेँ ।
“०७२ को महाभूकम्पपछि माथिका गाउँलेहरू लिँडीबुच्ची बिसी झरेर हेलम्बु राजमार्गकिनारमा लहरै आधुनिक पक्की घरको सहर बसाले ! फाँटैभरि धान गहुँकोसट्टा गिट्टी, बालुवा र घरघडेरीको किनबेच चुलियो । नाला, बनेपा, साँगाबाट समेत व्यापारी आएर राजमार्गछेउमा बस्ती बढाए अनि फाँटतिर पनि लामो हात गर्न थाले ।” उनका कुरा घत परे मलाई । “सिमाना पारको छिमेकी ऋषिमन दाइले दालचामल बन्द गरे यहाँका मान्छे बालुवा गिट्टी खाएरै अघाउने हुन् त अब ?” मैले ठट्यौली प्रक्षेपण गरेँ । सोच्दा आफैँलाई पनि हाँसो लाग्दै थियो !
उनीसँग छुट्टिएर विस्तारै पुलामुखको पुरानो बजारतिर लागेँ । पिठिउँमा झोला झुन्ड्याएर बजारसम्म पैदल चल्दैजाँदा माथिमाथिका पिउघर, तीनघरे, हवेली, पोखरे, छाचोक, पाटीगाउँ तीनधारे आदि गाउँहरू नजरमा परे । आपूm सानै छँदा देखेका सग्ला सुकुमार डाँडा पाखाहरूलाई कतै चिथोरेर कतै कोपरेर कतै भुत्ल्याएर कतै खुइल्याएर लछारपछार पार्दै र थिलथिलो बनाउँदै नयाँ नयाँ विकासे मोटरबाटाहरू तयार हुँदैरहेछन् । डोजर, टिप्पर, एक्साभेटर नाउँका आधुनिक दैत्यहरूको करामतले मलिला बारी, फाँट मासिने, सिमसार जमिन भासिने भिरालोमा पहिरा चल्ने आदिइत्यादि खाले नयाँ नौला विकासे खेलतमासा बढ्दै रहेछन् । इन्द्रावतीका बगरमा एक्साभेटरले तीखा दारा गाडेर ड्याम ड्याम बजाउँदै ढुङ्गा बालुवा उधिन्दै गरेको देख्ता आफ्नै टाउको, ढाड छियाछिया पारेजस्तो लाग्यो । आपूm केटकेटी छाँदा काँसका झाडीमा लुकेर बट्टाई, हुटिट्याउँ र मलेवाका फुल चोरेको झलझली सम्झिँदै थिएँ म । अहिले काँसका जराबुटा केही बाँकी रहेनछन् । माथिका गाउँतिरभने जङ्गल बढेर अजङ्गका रुखवृक्षको छायाँले घरबस्ती नै छोपिदिएछ ।
कुनै दिन निक्कै चालू र चहलपहल देखिने पुलामुखको ढाँडखोला बजार आज जनशून्य लाग्यो । लेकबिसी तन्किएका कच्ची मोटरबाटाले चियापसल र खिच्रीमिच्रीका बजार बोकेर गाउँगाउँ पु¥याएपछि दोबाटे पुराना साहुहरूको म्याख्ला तोडिएको अनुभव भयो । पुलको मुखमा धनबहादुर श्रेष्ठ भाइको औषधि पसलमा बसेर वरपरका साथी सङ्गातिसँग बात मारौँ भन्ने इरादा थियो तर त्यहाँ पुग्दा परिस्थितिले रणभुल्ल बनायो । भाइको तीनतले आरसीसी बिल्डिङ ७२ सालको महाभूकम्पले भताभुङ्ग पारेर खण्डहरमा परिणत भएछ । त्यसको केही दिनपछि नै भाइ पनि हृदयाघातले दिवङ्गत भएछन् ! पल्लो घरका सीताराम भाइ पनि त्यस दिन कता गएछन्, भेट भएन । सिपातिर तर्ने नयाँ पुलको बारा समातेर अलमल्ल उभिएँ । तँछाडमछाड गर्दै नाँच्दै, उफ्रिँदै गरेका इन्द्रवतीका चन्चल छाल हेर्दै पनि थिएँ । वातावरण नै उदास उदास लाग्यो ! घरिघरि सिन्धुकोट फर्सिला धुसिनी देउपुरतिरका गाउँबस्ती पनि नियाल्दै थिएँ । एकैछिन पछि मोटरसाइकल चढेर ढोट्टारको बाटो गोपी भाइ आउँदै गरेका देखिए । उनै हुन् भन्ने टुङ्गो लागेपछि मन ढुक्क भयो !
म पछाडि सिटमा बसेँ । पुलको मुखैबाट भाइले मोटरसाइकल भनिने त्यो चपर्चन्ड धर्तीयान चलाउन थाले । मोहरपानीबाट झरेको खोल्साकिनारको उकालो बाटो कतै बोल्डर ढुङ्गा छापेर, कतै चुच्चे स्लेट ठोकेर बनेको रहेछ । हाम्रो भटभटेलाई भाइले दरो तालले अँचेतेर सिधा बाटो लगाउँदा पनि कहिले भित्तो त कहिले छेउको खोल्सो ताकेर मुन्टो बटार्दै बाँदरे घुर्र्की देखाउन थाल्यो । कहिले यो छेउ त कहिले ऊ भित्तो जोतिँदै ढ्वार्र ढुइँयँको असभ्य हर्कत पनि गर्दै थियो । उसको पहिलो गतिविधि देख्तै अलिअलि शङ्का र अलिअलि डर पनि लाग्यो मलाई । ठाडो खोल्साको किनार नाघेर सानो टारमा निस्किँदा पनि भटभटेभने अझै तलतिरै हामफाल्ने रिहर्सल गर्दैथियो । माथि निस्किएपछि बाटो अलि समथर भटियो । भाइले जसोतसो अँचेतेर चलाइरहेका थिए ।
“रातमाटे बाटामा अलि अलि हिलो हुँदा पनि यो मोटरसाइकल स्लिप खाइहाछ भन्दाइ !” भन्दैथिए भाइ । मैले प्रतिक्रिया जनाइनँ । हे हे मात्र गरेँ । “अहिले थोरै चिसो ठाउँमा आइपुग्दा पनि ओ¥याहा काम गरिरहेछ । बोकाखसीको खोरमा यसको ग्यारेज बनेकाले हिलो देखेपछि डराउने र हरिया पाउला, मुना देखेपछि बाटो छोडेर दायाँबायाँ दगुर्न खोज्ने यसको चन्चले स्वभाव रमिताको छ !” भाइले कुरो थपे ।
“के भनेको भाइ ?” मैले नबुझेर प्रश्न गरेँ ।
“हो त दाइ, अहिले जुनसुकै गाउँमा पनि खसी बाख्राको खोरमा भटभटे नै भटभटे भेटिन्छन् ! गाइभैँसीका कटेरा, गोठमा पनि ट्याक्टर, टिप्पर र धान कोदो झार्ने मेसिन पो उग्राउँदै बसेका छन् । सबैका टाट्ना खाली !” भाइको ठट्यौली बातले मनमा झन् कुतकुती लगायो !
“कताबाट आए त भेडाबाख्रासरी यत्रोविधि ट्याक्टर, मेसिन र भटभटे धर्तीयान गाउँ डुल्न ?” मैले प्रश्न गरेँ ।
“मोटर साइकल हराएको सूचना त दिनको दस बीसवटा आउँछन् तर भेटिएको एउटै आउँदैन, होइन दाइ ? हराएर दम्पच भएका अनि पुलिसले खोजी गर्दा पनि नभेटेका भटभटेहरू अहिले गाउँगाउँ, टोलटोल दसैँका बोकाखसीभन्दा पनि छरपस्ट छन् । गाउँबिसी, पाखा, खोला बगर जताततै दगुर्ने चनमते स्वभावका यी भटभटेहरू बिनाबिलबीजक, बिनाचालकअनुमति नै निर्वाध चलिरहेका छन् । उहिले गोरु जोत्न या गाडा चलाउन लाइसेन्स नचाहिएजस्तै हो दाइ ! तर खसीबोकाभन्दा पनि यिनीहरू हरामी छन् । आधुनिक फेसनका किशोरकिशोरी बाटाछेउ देख्न नहुने, सँुडो तेस्र्याएर ढ्वाइँ ढ्वाइँ गर्दै जाइलाग्ने यिनको उत्ताउलो स्वभाव खपिनसक्नुको छ । पारि राजमार्गतिर लग्यो भने टिप्पर, लोडर, ट्रक देखेपछि यिनीहरू बिरालो देखेका मुसाजस्तै छेउकुुना दुम्किएर बस्छन् अनि ठूला गाडी दायायाँबायाँ लागिसकेपछि बल्ल तीजको पाइतो सार्छन् । अझ राजमार्गका पुलिसचौकी देखे भने त यिनीहरू परैदेखि लुतुक्कै पर्छन् । पुलिस दाइसँग भेट होला भनेर सधैँ थर्कमान हुन्छन् चितुवाले अगुल्टो देखेजस्तै !”
भाइको विरोधाभासपूर्ण भटभटे वर्णन चाख मानेर सुन्दै गएँ । हामी चडेको मोटर साइकलको वैधता र अवस्थाबारे पनि भाइलाई सोधिहेरेँ तर गाउँपालिकाको जिम्मेवार पदाधिकारी भएकाले उनको भटभटेलाई किर्ते तथा चोरीको बात लगाउने, लाग्ने सम्भावना थिएन । बिल र चालक प्रमाणपत्र लिएका भटभटेहरू पनि अरूको सङ्गतबाट प्रदूषित हुन् भने बेर नमान्ने रहेछन् ! “उसो भए यी गाउँका मान्छेले गाइबाख्रा पाल्न छोडेर भटभटे पाल्न थालेका हु्न् त भाइ ?” सोधेथेँ मैले ।
“हो दाइ कृषिप्रधान देश त अहिले आएर ऋषिप्रधान देश पो बन्यो त ! बारीमा दुम्सी बाँदर पसेर अब कुन बाली लाग्ने हो अनि कुन बाली पाक्ने हो भन्दै तपस्या गर्न थाले । बदाम आलु त भालु, बँदेल बाँदरले, रोप्न नपाई बीउ खोस्रिने, उम्रिहाले पनि मुन्टा चुँडिदिने, केहीजानी फलिहाले पनि तुरुन्तै बोटबाटै सिनित्तै चट पारिदिने गर्छन् । फलपूmल तरकारी त झन् हिँउँद बर्खा भन्नै नपर्ने, चिचिला लाग्दै खत्तमखलाँस ! यी जङ्गलबासी चौपाया मित्रहरूले गाउँलाई मज्जैले गरिबीको बर्को ओड्ने असहाय अदना बनाएका छन् तर बनेल भालु, चितुवाको भने अर्कै नगदेबाली पनि लाग्न थाल्यो । गाउँका मान्छे बँदेलको डरले वनबुट्यान जान छोडे, अर्काथरी तिनै गाउँलेहरू बिजुलीपासो थापेर गाउँनगिचै बँदेलको सिकार गर्ने भएका छन् !”
भाइका अड्बाङ्गा कुरा चाख मानेर सुन्दै गएँ म ! उनको भट्भटे भाङ्टारको डिलमा निस्किसकेछ । पाहुना लाग्न गाउँतिर पसेको मध्यपहाडी राजमार्गसँग जम्काभेट भइ त गयो, एकछिन मज्जैले गुड्यौँ । भाङटारभित्र पस्ने इरादा थियो तर मेरा दौतरी मास्टर वीरबहादुर दनुवार काठमाडौँ पसेर घर बनाउने ठेकदार बनी सकेछन् । भाइले नै बताए । अरू अरू पनि सोधखोज गरेँ तर आफ्नो समयका दौतरी कोही गाउँमा छैनन् भन्ने भाइकै आधिकारिक टिप्पणी सुनेपछि त्यता पसिएन अनि मध्यपहाडी राजमार्गसँग सम्बन्ध तोडेर हामी आँपटारकिनारको बाटो उँभो लाग्यौँ । यता पनि बोल्डर ढुङ्गाको उही फजिती । रातमाटे चिप्लो बाटोमा जबर्जस्ती ट्र्याक खोलेर बनाएको कच्ची बाटोमा भटभटेले ठाउँकुठाउँ उत्पाती नाचको लीला मञ्चन गरेर थर्काउन थाल्यो । आपूmलाई भने पुरानो गाउँठाउँमा आएको मौका पारेर भटभटे मोराले हातपाउ पुर्परो खँजाहा पारिदिने त हैन भन्ने प्रश्नले धुकचुक बनायो, मथिङ्गल अमिलियो !
तलदेखि माथिसम्म लम्बेतान फैलिएको टारछेउको आँपबगैँचा भुसुक्कै मासिएछ । अल्का रुखजति लिँडिबुच्ची फाँडिएर बुच्चो भएको अाँपटारको सिङ्गो बस्ती नै घाइते, कुरूप वृद्ध जटायुजस्तो लाग्यो । बाटो किनारामा अजङ्का काला ठूटा मात्र देखेर मन हुर्हुरी बल्यो । कठै नि त कति मीठा आँप फल्थे त्यो बगैँचामा ? बाल्यकालमा दिनरात चाखेका नाना जातका आँपको स्वाद सम्झिएर मुखभरी सलसली पानी भरियो । हर्कबहादुर दनुवार भाइको बाटाछेउको पसलमा पसेँ र तात्तातै सोधपुछ गरेँ । आँपका रुख ज्यादै बूढा भएर, बाँदरले पनि चिचिलैमा झार्दै समाप्त पारिदिन थालेपछि आआफ्नो बारीछेउका रुख जग्गाधनीले नै काटेको कुरा बताए भाइले ।
मास्टर हर्क भाइसँग देउता, पुर्खा र पितृबारे पनि कुरा भए । आफ्नो वंशका आदि पुरुषका चारभाइ सन्तानमध्ये जेठा राई, माइला लिम्बु, साइँला सुनार अनि कान्छा दनुवार भएको चाखलाग्दो कुरा सुनाए भाइले । विविध थरगोत्रका टारेली दनुवारको भूमिपूर्णिमाका दिन भूमिपूजन गर्ने, श्रीपञ्चमीमा वर्षैसाल वायु बोलाउने, विशेष चाडबाडमा पानीको धारो या खोलाामा पितृहरूलाई सम्झिएर अक्षता चडाउने परम्परा यथावत् कायम रहेछ । प्रत्येक दनुवारगाउँको सिरान पुछार कतै न कतै देवीथान नभएको कुनै टोल या टार छैन ! साल र साजका बडेबडे रुखको फेदैमा भीमकाय गोलाकार कालो शिलाको स्थापना गरेर पूजाआजा गरिँदै आएकी देवीलाई धान्यपूर्णिमा र चण्डीपूर्णिमाका दिन भाकलअनुसारका पशुबलि दिएर टारभरिका दनुवारबन्धुहरूले मेला, जात्रा मनाइआएका रहेछन् । छानो हालेर पक्की गारो लगाउन या मन्दिर बनाउन नहुने परम्परागत जनश्रुतिअनुसार वरिपरि ढुङ्गाको गारो चिनेर बनाइएको देवीथानमा रातभरी महिलाहरू जाग्राम बसेर बत्ती बाल्ने गरेको र भोलिपल्ट भाकलअनुसारका बलि चढाउने गरेका मङ्सिर–जेठका मेलाजात्रा सम्झिँदै थिएँ म तर पाठीबोकाको बलि भने बर्जित छ त्यहाँ । सबै टारका बासिन्दाहरू आफ्नो कुल परम्पराबाट थोरै पनि टसमस भएका छैनन् भने भाइले । देवीको दर्शनपछि लाग्यौँ उँभो हामी पनि । बाल्यकालमा टारबेँसीतिर आउजाउ गर्दा पैदल हिँड्ने गरेको बाटो आज बिरानो लाग्यो । हामीले गोठालो आउँदा फड्किने, उफ्रिने, डन्डीबियो, गिर खेल्ने गरेका वरिपरिका नाङ्गा चउर, पाखापखेरालाई साल, साज र चिलाउनेको बाक्लो जङ्गलले अपहरण गरेर लुकाइदिएछ । भुइँमा पनि उँडालु, धुर्सुल, पटपटे र उन्युको झाडी बढेर ड्याम्मै ढाकिदिएछ । गाईभैँसी पाल्न र दाउरा बालेर भान्सा तयार गर्न पनि छोडेछन टारेलीले । गाउँपिच्छे भटभटे र ग्यासका सिलिन्डर छ्यास्छ्यास्ती ! नदीबाट बालुवा गिट्टी निकाल्ने, बेच्ने जङ्गल बढाउने ग्यासचुला जलाउने, भटभटे गुडाउने टारेलीको तिरिमिरी झ्याइँले राम्रो ग¥यो कि गरेन ? बूढो घुच्चुकमा प्रश्न बिझायो । आँखा धमिला, मन अमिलो भयो ।
फेदीको गडगडे धारो पहिलाजस्तो भेटिएन । धारामुनिको पोखरीमा दिनभरि पौडी खेलेपछि हिलाम्मे भएर घर फर्किन्थ्यौ हामी तर अहिले त्यो धारो पाइपमा बन्द भएर गाउँतिर पसेछ ! धारामुनिको पोखरी पनि पोखरी नरहेर प्याज लसुनको खेतबारी बनेछ । वरपरको जङ्गलमा मैदल काँडा एउटै देखिएन । जेठअसारका दिनमा मैदलका पहेँला गेडा टिपेर माड्दामाड्दा गरेपछि मीठो फलमा परिणत हुने गरेको बाल्यकाल सम्झिएर यतिबेर मुख रसाउँदै थियो । सरासर उँभो लाग्दै गयौँ । पिपलटारको माथि पुग्दा पाखातिर आँखा परे । त्यहाँ त झन् छिरी नसक्नु झाडी पो फैलिएछ । ऊ दिन सम्झिएर अलमल्ल परेँ म !
डुबिन्डाँडाको डिलमा निस्किँदा भने उल्टै मन खुसीले गद्गद पो भयो ! अलि वर्षअघिसम्म खरले छाएका थोत्रा झुप्राझुप्रीले भरिएको त्यो गाउँ आज दुईतीनतले पक्की घर बनेर सिसैसिसाका खापा, झ्यालमा टल्किएछ । परापूर्वकालदेखि नै गरिबीको दुष्चक्रमा फसेर हेपिएको त्यो विपन्न बस्ती २०७२ सालको महाभूकम्प र खाडीको रेमिट्यान्सले अलि वर्षभित्रै सर्लक्कै अनुहार फेरेर सफा सुकिलो बस्तीमा परिणत भएको देख्ता फुरुङ्ग परेँ ।
डुबिन्डाँडा गाउँ नाघेर डन्डुर परेको खोल्सातिर लाग्दा भटभटेले भँड्खारोमा खुरमु¥यार खँजाहा बनाउने पुरानै डरले फेरि सतायो ! अलिक ठूलै भोक्सी परेको भलछेउको बाटो सानातिना डिल कान्ला फड्किँदै र उफ्रिँदै जानुपर्ने देखियो तर जस्तै भए पनि भाइले लगे मज्जैसँग । अलि माथि गाउँबाट आएर त्यहाँ बसोबास गरेका बुधे मिजार दुई वर्षअघि बिदा भएछन् । उनी दरो तालले कोदाली चलाएर हिउँदवर्षै खेती लगादिने गाउँकै अभिभावकजस्ता थिए । अलि माथि बाटो किनारका आँपका ठुल्ठूला बोट पनि मोटरबाटाले जरैसुद्ध बाँकी नराखी लगेछ । आफ्नै घरनिरको धारोमा पुगेपछि भटभटे टक्क अडियो । “भान्दाइ घर पस्ने होइन ?” भाइले भनेपछि झसङ्ग भएँ । करेसाको ठूलो धारामा कलकली पानी पिएर घरतिर लागेको तर गौँडामै बनमारा र पटपटे झार बडेर झाडी बनेछ । घरभित्र पस्ने बाटै पो झन्डै नपाइएको ! धारामुनि खोल्सामा भने मेवा, केराको घारी तलदेखि माथिसम्म सप्रिएछ । आपैmँले चितवनबाट लगेर रोपेका आँपका बिरुवाहरू पनि विशाल बटवृक्ष बनेर सहस्र शाखामा पैmलिएछन् । लामालामा हाँगाबिँगामा पैmलिएको कालो झाडीभित्र अरिङ्गाल कमिला र बारुलाका गोला डोका, थुन्से झुन्ड्याएजस्ता देखिए । समयसमयमा छास्ने छिमल्ने र उपचार गर्ने व्यवस्था नहुँदा आँपको बगैँचा त फलमा कीरा लाग्ने र कालो मोसो खन्याएजस्तो जङ्गली झाडीमा परिण त भएछ । युट्युबमा पढेको अफ्रिकी नरभक्षी रुखजस्तै भयावह पो लाग्यो । घरबारी बगैँचाको रेखदेख गर्न जिम्मा दिएका ज्ञानबहादुर पनि छोराछोरी काठमाडौँतिर लागेपछि आफ्नै घरखेती सम्हाल्न नसक्ने भएछन् । तैपनि उनलाई भेटेर जाऊँ भनेर कौलासेको, कोही बोलेन । घरमा चानुमानु केही देखिएन । कुनै दिन त्यतै बस्नेगरी गएर झाडी फाँड्नेदेखि बोटबिरुवाको संरक्षण गर्ने सल्लाह गर्दै बाटा लाग्यौँ । अलिबेरसम्म मट्याइलो बाटो मज्जैले गुड्यौँ ।
देउराली भञ्ज्याङमा त्यति चहलपहल नभएकाले अलमल गर्नेतिर लागिएन । पँदालीको पधेरो नाघेर अघि बढ्दैमा खलपत्रे बुच्चो तारेभीर पो देखियो । छेउपट्टि किनारमा टुक्रुक्क उभिएर युगौँ पुरानो विशालकाय वरको रुखले पहिलेदेखि नै बाटाको संरक्षण गर्दै बटुवालाई जोगाउने बारको काम गरिआएको थियो तर अहिले मोटरबाटो बनाउने नाममा त्यो गगनचुम्बी विशालकाय बटुवृक्षको समूल उच्छेदन गरेपछि ठाउँ नै असुहाउँदो र बुच्चो भएछ । तीन चार सय मिटर तल पर्ने भँगेरी गाउँसम्मको छङ्गाछुर तारेभीर नाङ्गै देखिँदा हेरिनसक्नु कहाली लाग्दो भएछ ।
भीरको टुप्पामा नपुग्दै असरल्ल तेर्सिएका बोल्डर ढुङ्गाहरू खलबलिएर बाटो क्षतविक्षत भएको देखियो । मैले ओरैदेखि भाइलाइ ‘पख बाबु म ओर्लन्छु’ भन्दै थिएँ तर भाइले “पर्दैन भन्दाइ म लगीहाल्छु नि सरासर !” भन्दै भटभटे अघि बडाए । उनले मेरो कुरा नसुन्दा हामी दुवैलाई बोकेको भटभटे भीरको शीरमा असल्ल पसारो परेका बोल्डरको जन्जालमा फसेर फनफनी घुमेर कौरा नाच देखाउन पो थाल्यो । ए गाँठे यस्तो ठाउँमा आइपुगेर कस्तो कस्तो नाच देखाउने हो त यो छुल्याहाले ? कहिले अँगेरी खाएको बाख्रो जस्तै थुतुनु उफार्दै फनफनी घुम्न थाल्छ, कतिबेर गिँदेरी खाएको गाईजस्तै मुन्टो बटार्दै खोक्तै घुम्दै जोखाना हेर्दै गर्न थाल्छ ।
माथिदेखि तलसम्म एकनास खलपत्र देखिने पहरमाथिको नाङ्गो भीरले यता आफ्नो भने हृदयगति नै तलमाथि पार्ने दुष्चिन्ता बढाइसकेको थियो तर एक छिन लर्बरिए पनि भाइका बलिष्ठ हात र भटभटेको अन्तर्निहित अदम्य इच्छाशक्तिले जोरदार चमत्कार गरेर नाच्दै उफ्रिँदै भीरको टुप्पाबाट सकुसल पार गरायो । खलबलिएका बोल्डर ढुङ्गाको एरिया नाघेर मट्याइलो बाटोमा पुग्दा त्रासको सट्टा ज्यानमा आस फर्किएको विश्वास पलायो ।
“बाफ रे बाफ बाँचियो अब त” मेरो मुखबाट अनायास बोली छुटेछ । भाइ हाँसे, म पनि हासेँ मज्जैले । सरासरी गएर सिपा पोखरेको इन्द्रवती गउँपालिका अन्तर्गत पर्ने वडापालिका कार्यालयभित्र पस्यौँ । भाइ मलाई त्यहीँ छोडेर आफ्नो कार्यक्षेत्र ज्यामिरे मानेतिर लागे ।
वडा पालिकाको काम सकेर फर्किंदा भर्खर बाह्र बज्दै रहेछ । कति छिटो काम हुने हो गाउँपालिकामा हिजो आज ? आफैँसँग मनमनै प्रश्न गर्दै छक्क परेँ म ! पैदल हिँड्न मन लागेर मावली भाइलाई मोटरसाइकल नल्याउन भनेको थिएँ ।
वडा पालिकामा भेट भएका गाउँले भाइ भतिजाहरूले पनि मोटरसाइकलमा सिपा घाटसम्म पु¥याइ दिने कुरा गर्दै थिए तर मैले सबैलाई सम्झाइबुझाइ गरेर एक्लै पैदल फर्किने रहर गरेको बताएँ । उघारो, हिउँद बर्खा, अलग अलग बोटबिरुवा र बालीनालीको पहिचानमा फुल्ने, फल्ने गरेका ऊ बेलाका गाउँटोलहरू अहिले कस्ता भए हुनन् भन्ने कुतूहल थियो ।
त्यसैको समन गर्न लागेँ पैदलै बाटो मैदानको स्कुल क्याम्पसमा पनि पसिएन । एकान्त बाटो पछ्याएर पाइला चले ! तै न्यौपाने गाउँ सुनसान रहेछ । तीन पिप्लेमुनि चौबाटोबाट कार्कीछापतिरको गौँडो पछ्याउँदै बाहुनीटारतिर झर्ने मुड चल्यो । नभन्दै त्यतै लागे पाइला । सयौँ वर्षअघिदेखि बर्खे भलबाढीले खोले डुँढ पारेको तेर्पेतेर्पे बाटोमा बोल्डर ढुङ्गा छापेर बनाएको कच्ची ट्र्याक नै रहेछ यहाँ पनि । अधिकांश बासिन्दा बेँसीतिर झरेर सुनसान भएछ गाउँ । खेती लाग्ने बारीमा धाइरो धुर्सुल, भलायो, उँडालु, उन्युले ढाकेछ । चिलाउने र कटुसका रुख बढेर बस्ती घर बाटो छोप्ने भएछन् । कुन कार्कीछाप हो कुन सापकोटागाउँ, कुन भँडारीथोक हो, छुट्याउनै मुस्किल पर्लाजस्तो भो तर मूल बाटो हिँड्न भने समस्य भएन ।
ढुङ्ग्यान ओरालो बाटो झर्दा तिघ्रा, पिँडुल्लाका मांसपेसी खाँदिएर गोडा दुख्न थाले । उतिबेरै बादलले छोपेर सिमसिम पानी पनि पर्न थाल्यो ! ठेगान नभएको भदौको महिना, छाता नबोकेकोमा आपैmँलाई पछुतो लाग्दै थियो । बाटैछेउमा सप्रिएको कर्कलोबारी देखेपछि ढाडस पलायो । एउटा पात चुँडेर टाउको ओताउने सुर चल्दै थियो तर आँट आएन ! संयोगवश बाटैछेउ गाउँतिर पस्ने गौँडो आइपुगेछ । पसिहालेँ । चुत्रबहादुर थापाको घरमा पुगिएछ ।
“कि केराको पात, कि कर्कलाको पात काटिदेऊ म ओतिएर जानुप¥यो” भन्दा उनी अलमल्ल परे । मैले आफ्नो परिचय दिँदा उनी र उनका जहानसमेत थपिएर मज्जैले हाँस्न पो थाले । एउटै बस्तीको वल्लोपल्लो गाउँका छिमेकी थियौँ हामी, लामो समयदेखि देखभेट नभएर मात्र उनाउ मान्छेजस्तो बनिएछ ! बिस्मातभन्दा पनि विस्मयमा चाहिँ हाँस्यौँ हामी !
उनले खाना खाएर जान आग्रह गरे । मैले मावलीको घरमा खाना बनाइराख्न खबर गरिसकेको भनेपछि उनले छाता दिएर बिदा गरे । सिधै खुर्मुरिएर भँडारीथोकको चौतारोमा पुग्दा पुराना सम्झना तरवर्र याद आइरहेका थिए । माथि पोखरे रामबहादुर दाइकी माइली श्रीमती एक दिन आधारातमा इन्द्रावतीमा हाम फालेर मर्ने अठोट लिएर जाँदा बाघ कराएको सुनेपछि त्यही भँडारीथोकको चौताराबाट गएकै बाटो फर्किएकी थिइन् रे । खोलामा बगेर मर्छु भनेर बाटा लागेकी उनी बाघ डुक्रिएको आवाजले डराएर किन फर्किइन् ? यो कुरा सम्झिएर म त्यतिबेर एक्लै हाँस्दै पनि थिएँ ।
बाहुनीटारको बाटो पक्रिएर सरासर उँधो झरेँ । वल्लो पल्लो झाडीबाट हुत्तै हाम फलेर बाघ भालुले झम्टलान्जस्तो बाटो बिर्सी नपुग्दासम्म आतेसलाग्दो खालको रहेछ । ठिटाठिटीजति सबै विदेश या काठमाडौँतिर हराउँदा बुढाबुढीले मात्र धानेका वारिपारिका गाउँहरू बाँदर, बदेल, दुम्सी र भालुको चौकीदारीमा डर त्रासमा सास फेरिरहेजस्ता निरीह लाग्दथे ।
हजारौँ वर्ष पुरानो ग्रामीण भाइचारा र सनातनी सभ्यता तथा स्वच्छ हावापानीको आकर्षणले पनि मरेको बाख्रालाई उपियाँलेजस्तै चाटचुट्टै छोडेछ गाउँलाई । किन त कोही बस्नै चाहँदैन यहाँ ? यस्तै केके गुनासो पाल्दै अनि छारतोस कसेर बुर्कुसी मार्दै मावलीघर उत्रिएपछि बल्ल मन शान्त भयो !