• १७ कात्तिक २०८२, सोमबार

भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै सम्पर्कमा आएनन्

blog

बागमती, कात्तिक १७  गते । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो ।

यस्तै भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये हालसम्म दुई सय ८६ जना कैदीबन्दी कारागार फर्केका छन् भने एक सय ५४ जना कैदीबन्दी अझै फर्किन बाँकी  छन् ।  

कारागार प्रमुख पौडेलका अनुसार अन्य कारागारबाट फरार भएका ७१ जनासमेत भीमफेदी कारागार फर्किएका छन् ।  अन्य कारागारका ७१ कैदीबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण पठाइएको, एक जना थुनामुक्त भएको र ३५ जना कारागारमा रहेको प्रमुख पौडेलले बताउनुभयो ।  

कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई ६० र (क) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीको क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनुभयो । 

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताउनुभयो । रासस