• १२ साउन २०८१, शनिबार

एटीएम लाइब्रेरी

blog

लाइब्रेरी अर्थात् पुस्तकालय भन्नेबित्तिकै हामीले सोझो अर्थमा बुझ्ने गर्छौं पुस्तकहरूको घर । नेपाल शब्दकोषमा लेखिएको अर्थ पनि यही नै हो । जहाँ पुस्तकप्रेमीहरू विभिन्न खालका पुस्तक अध्ययन गर्नका लागि जान्छन् तर ताइवानको यात्राका क्रममा यस्तो पुस्तक घर पनि भेटियो जहाँ भर्खरै विवाह भएको जोडीका लागि हनिमुन मनाउने व्यवस्थासमेत गरिएको रहेछ । विशाल लाइब्रेरी भवनभित्र छुट्याइएको एउटा कोठामा भर्खरै विवाह गरेको जोडीका लागि दाम्पत्य जीवनसम्बन्धी टिप्सहरू समेटिएका पुस्तक मात्रै होइन भिडियो पनि राखिएको थियो । यति मात्रै होइन त्यहाँ डेटिङ लाइब्रेरीसमेत छ । पुस्तकालयप्रति मान्छेको अनुराग बढाउनका लागि ताइवानको ‘ताइपेई सिटी लाइब्रेरी’ ले विभिन्न कुरा ‘फ्युजन’ गरेको छ । 

ताइवान पुगेको तेस्रो दिन हाम्रो ‘स्पोन्सर’ माइटेक कम्पनीले त्यहाँ विभिन्न स्मार्ट पद्धतिबाट सञ्चालन भएका ठाउँ देखाउने अवलोकनात्मक कार्यक्रम थियो । ताइवानको टेक्नोलोजीमा प्रभावशाली भूमिका खेलेको माइटेक कम्पनीले विश्व बजारमा इलेक्ट्रोनिक डिभाइसका लागि चिप्स निर्माण गर्ने काम गर्दोरहेछ । आधुनिकताको जलप लगाएको ताइवान कुनै पनि खोट लगाउन नसक्ने कुनै षोडसी जस्तो थियो । अझ त्यसमा पछिल्लो पटक निर्माण गरिएको न्यु ताइपेई सिटी आफैँमा सुन्दरताको बलियो प्रमाण । अघिल्लो दिन स्मार्ट सिटीको सेमिनार उद्घाटन गर्ने क्रममा त्यहाँका मेयरले विश्वबाट जम्मा भएका स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई आफ्नो ठाउँमा धेरैभन्दा धेरै खर्च गर्न आग्रह गरेका थिए । 

हामीलाई बस्न व्यवस्था गरिएको फुजेन होटेलबाट करिब दुई घण्टामा हामी न्यु ताइपेई स्मार्ट लाइब्रेरीमा पुग्यौँ । न्यु ताइपेई सिटी लाइब्रेरी त्यति धेरै इतिहास नबोकेको भए पनि ठूलो लाइब्रेरी रहेछ । ताइवानका विभिन्न सहरमा शाखा रहेको यो लाइब्रेरी ताइपेई सहरको भव्यताको सूचक थियो । नवौँ तलासम्मका लाइब्रेरी पूर्णतः स्मार्ट लाइब्रेरी रहेछन् । माइटेक कम्पनीले प्रविधि स्पोन्सर गरेको रहेछ । प्रविधिकै माध्यमबाट पुस्तकहरू लिन सकिने लाइब्रेरी कुनै डिपार्टमेन्टल स्टोर जस्तो व्यस्त थियो । यसले त्यहाँको पठन संस्कृतिको सूचना हामीलाई दियो । नौ तलामा विभक्त लाइब्रेरीलाई एक घण्टा नियाल्दा स्मार्ट सिटी मात्रै होइन पुस्तकालयको ग्ल्यामरका बारेमा पनि धेरै कुरा जान्ने अवसर प्राप्त भयो । 

एटीबी

एटीबी अर्थात् ‘एनी टाइम बुक’ । पुस्तकालयको बाहिर नै एटीएम जस्तो मेसिन राखिएको छ । जहाँ पुस्तकालयले निःशुल्क उपलब्ध गराएको कार्ड राखेपछि पुस्तकालयमा भएका पुस्तकको लिस्ट आइपुग्छ । 

जसमा आफूलाई मन परेको पुस्तकमा क्लिक गरेपछि मेसिनमा सोही पुस्तक अगाडि आउँछ । पुस्तकालयमा नपसेर बाहिरबाटै पुस्तक लिएर जान मन लाग्यो भने यो निकै काम लाग्दो प्रविधि थियो । यसका साथै आफूले पहिले लगेको पुस्तकसमेत सोही मेसिनमा फिर्ता गर्न सकिन्थ्यो । यसको अर्को रोचक कुरा के थियो भने यदि पुस्तक धेरै जनाले पढेर फोेहोर भएको रहेछ भने नयाँ जस्तो बास्नादार र सुन्दर पुस्तक बनाउनका लागिसमेत मेसिन जडान गरिएको थियो । 

स्मार्ट टेक्नोलोजी

पुस्तकालयका हरेक क्रियाकलापमा सहभागी हुनका लागि स्मार्ट कार्ड अनिवार्य राखिएको छ । लाइब्रेरीभित्रका कुनै पनि सेवा लिनका लागि इजी कार्ड पुस्तकालयले वितरण गर्ने गरेको छ । जुन कार्ड व्यक्तिले निःशुल्क रूपमा प्रयोग गर्न मिल्छ । लाइब्रेरीका हरेक कुरा स्मार्ट सिटीको अवधारणाबाट निर्माण गरिएका छन् । लाइब्रेरीका हरेक सुविधा निःशुल्क प्राप्त कार्डको आधारमा निर्माण गरिएको छ ।  पुस्तकालय न्यु ताइपेई नगरपालिकाले सञ्चालन गरेकाले सबै सुविधा निःशुल्क छन् । 

प्रत्यक्ष भेटघाट

लाइब्रेरीको पाँचाँै तलामा अडियो भिजुअल लाइब्रेरी रहेको छ । जहाँ विभिन्न सफल व्यक्तिको जीवनीसम्बन्धी पुस्तक र भिडियो राखिएको छ । आफूलाई जान्न मन लागेको मान्छेका बारेमा त्यहाँ आएर भिडियो हेर्ने सहित सबै सुविधा लिन सकिन्छ । अर्को महìवपूर्ण कुरा भनेको त्यहाँ जीवनी राखेका मान्छेलाई सम्भव भएसम्म त्यहीँ बोलाएर कुराकानी गराउने समेत गरिँदो रहेछ । फरक कोठामा भिन्न शैलीमा प्रेरक मान्छेसँगको प्रत्यक्ष भेटघाटका लागि यो लाइब्रेरीले बेग्लै खालको व्यवस्था गरेको छ ।

हनिमुन रुम

लाइब्रेरीको पाँचौँ तलाको एउटा साँघुरो ठाउँमा हनिमुन रुम राखिएको छ । भर्खरै विवाह भएका जोडीका लागि यो व्यवस्था गरिएको हो । हनिमुन भन्नेबित्तिकै हामीले सोझो अर्थमा बुझ्दछौँ त्यहाँ आरामदायी पलङ र ओछ्यान होला तर त्यो रुममा भने त्यस्तो केही पनि थिएन । वैवाहिक जीवन कसरी सफल बनाउने ?, वैवाहिक जीवन किन असफल हुन्छ ?, बच्चा जन्माउने योजना कसरी गर्ने ?, वैवाहिक जीवन कसरी व्यवस्थित बनाउने ? लगायत प्रश्न सँगालेको वैवाहिक जीवनसँग सम्बन्धित विभिन्न खालका पुस्तक र भिडियो त्यहाँ राखिएको छ । हनिमुन लाइब्रेरीमा एकैपटक धेरै विवाहित जोडीले अध्ययनमा सहभागी हुन सक्ने गरी व्यवस्था मिलाइएको छ । 

डेटिङ स्पट 

लाइब्रेरीको पाँचौँ तलामै हनिमुन रुमसँग जोडिएको डेटिङ रुम पनि छ । जहाँ प्रेम जीवनको आनन्द लिइरहेका जोडी एकअर्काबीच प्रेम साटासाट गर्दछन् । यस कोठामा प्रेमसँग सम्बन्धित सिनेमाका साथै प्रेमकै बारेमा लेखिएका विभिन्न आख्यानात्मक र गैरआख्यानात्मक कृतिहरू पनि राखिएको छ । प्रेमी जोडीले फरक खालको अनुभूति गर्ने गरी कोठाको सजावटसमेत गरिएको छ । प्रेमका बारेमा खुलेर कुरा गरिने ताइवानमा डेटिङ लाइब्रेरीमा भिडभाड हुने गर्छ । 

रिफ्रेस र मेडिटेसन सेन्टर

विभिन्न कुराले तनावमा परेका मानिस सुस्ताउनका लागि रिफ्रेस सेन्टरसमेत यस लाइब्रेरीमा रहेको छ । सातौँ तलामा विभिन्न फूल र बोटबिरुवा लगाएर विशेष तरिकाले बनाइएको बगैँचामा तनावमा रहेका मानिस जाने गर्दछन् । त्यहाँ उनीहरूको तनाव मेट्ने काम गरिन्छ । यसका साथै मेडिटेसन र योगका लागि पनि फरक कोठा निर्माण गरिएको छ । जहाँ आधुनिक शैलीमा योग र मेडिटेसन गरिने मेसिनसमेत राखिएको छ । 

विषयगत लाइब्रेरी 

लाइब्रेरीमा वृद्धहरूका लागि छुट्टै तरिकाले सजावट गरिएको छ । उनीहरूका लागि कोठा पनि अलग छ । त्यस्तै बालबालिकाका लागि पनि फरक तवरले लाइब्रेरीको सजावट गरिएको छ । उनीहरूले पुग्न सक्ने गरी -याक निर्माणदेखि पढिसकेपछि रमाउने ठाउँ पनि त्यहाँ बनाइएको छ । अभिभावकहरू आफ्ना बालबालिकालाई खेलाउन  त्यहाँ जाने गरेका छन् । 

समग्रमा ताइवानको पहिलो र सबैभन्दा ठूलो लाइब्रेरीका रूपमा रहेको न्यु ताइपेई सिटी लाइब्रेरी नमुना लाइब्रेरी हो । जहाँ पुस्तक पढ्ने मात्रै होइन मानसिक तनाव कम गर्नका लागि मानिसहरू जाने गर्दछन् ।