• २ कात्तिक २०८२, आइतबार

बेनीघाट-आरुघाट-लार्के सडकको पाङसिङसम्म सडक सुचारु

blog

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक २ गते । नेपालीहरुको दोस्रो महान् चाड दिपावाली नजिकिएसँगै बेनीघाट–आरुघाट–लार्के सडकको पाङसिङसम्मको सडक सुचारु भएको छ । लगातार वर्षा र पहिरोको कारण केहि महिनादेखि अवरुद्ध भएको पाङसिङसम्मको सडक सुचारु भएको हो । 

उक्त सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दा, व्यापारी, पर्यटक तथा यात्रुहरुलाई ठुलो समस्या परेको थियो, धार्चे गाउँपालकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘पालिकाको पहलमा ३४१ मेगावाट बुढीगण्डकी जलविद्युत्त आयोजनाले पहिरो फालेर सडक मर्मत गरेपछि अहिले साना ठुला सवारीसाधनहरु सहजै पाङसिङसम्म चल्न थालेको छ ।’

पाङसिङ जाने सडक उत्तरी गोरखाको मनास्लु क्षेत्र जाने प्रमुख नाकाको रुपमा रहेको छ । सडक सुचारु भएपछि आन्तिरिक तथा बाह्रय पर्यटक तथा उत्तरी गोरखाबासीहरु तिहार मनाउन घर फर्कने सर्वसाधरणले पनि राहत महसुस गरेका गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले उक्त सडक खण्डहरुमा अझै केहि स्थानमा जोखिम कायम रहेकाले यात्रुहरुलाई सावधानी अपनाउन आग्रह गरिएको धार्चे गाउ्रँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतले बताउनुभयो । 

पालिकाको समन्वयमा विभिन्न संघ संस्थाको सहयोगमा सडक मर्मत गर्ने कार्य जारी राखिएकाले उत्तरी गोरखाका सम्पुर्ण सडकहरु मर्मत सम्भार गर्दै सुचारु गर्दै जाने पालिकाका प्रमुख प्रशासकिय अधिकृत बस्नेतको भनाइ छ ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ देखि पाङसिङ सम्म सडक सुचारु भएपछि मालबाहक गाडी आवतजावत सहज भएको छ भने साना जीपहरु जगत खोलामा पानीको गहिराई बढी भएकाले जगतसम्म पुग्न नसकेको स्थानीय बिशाल घलेले बताउनुभयो ।  

सडक सुचारु भएसँगै मनास्लु क्षेत्रका पर्यटक आबगमनमा समेत सहजता भएको छ । जसले आगमी दिनहरुमा स्थानिय पर्यटन र व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको गाउँपालिकाले जनाएको छ ।