‘एकादेशमा एक जना राजा थिए । तिनका चार छोरा थिए...’
‘ह्या... नाइँ क्या बाजे ! बाघको कथा सुनाउनू न । बाघ र हात्तीको कथा ।’
‘लौ ! हिजै मात्र सुन्या हैन अन्त ? कति एउटै कथा सुन्छस् ? आककक’
‘नाइँ नाइँ । त्यही कथा सुन्ने । मलाई त्यही सुन्नुछ । अर्को नसुन्ने नाइँ !’
‘कस्तो ज्याद्रो बच्चा ! दिनै एउटै कथा । लु त लु आइज, सुन् !’
एउटा सानो बालक र अन्दाजी तीन बीस कटेका वृद्ध हातमा हातमा गाँसेर ठूलाखर्कको ओरालो झ-यो । देब्रेतिर माछापुच्छ«े हिमाल झलमल मुस्कुराउँदै यी दुईका वार्तालाप कान थापेर सुन्न थाल्यो ।
.....
‘एकादेशमा एउटा बाघ थियो । ऊ निक्कै बलियो थियो । हिमालतिर बस्थ्यो । ती अहिलेका जस्तो सुनौलो रङका टाटेपाटे थिएनन् । निक्खर सेतो । हिउँजस्तै सेतो । ऊ हिमाल पहाड लसकलसक गर्दै उकाली ओराली गथ्र्यो ।’
‘तेसका जोई नि उस्तै सेतै । सेता रङका बाघ र बघिनी सँगसँगै हिँड्दा वरपर बुट्यान चुँडाल्दै गरेका घोरल झारलहरू तितरबितर हुन्थे । तिनीहरूको जोडी चखेवा चखेवीको जस्तो । जता पनि सँगसँगै ।’
‘बाजे र बज्यै जस्तै ? ही ही ही !’
‘चुपो लागेर सुन् । बर्ता बोल्छ !’
‘हात्तीको कुरा कैले आम्छ, बाजे ? सेतो हात्तीको...’
‘चुपो लागेर सुन् है । नत्र म भन्दिनँ ।’
‘भन्नु ब्यारे । अबो म चुप्प !’
‘अँ, त्यो सेतो बाघको एउटा मिल्ने साथी थियो । सेतै रङका हात्ती । ती हात्तीकी जोई नि सेतै रङकी थिई । हात्ती र ढोईको जोडी लसक लसक पार्दै हिँड्दा छेउछाउका हिउँ नै भासिन्थे । हिउँमा दबेका घाँसका मुठाहरू हिउँ खोस्रँदै सुँडले बेरेर चुँडाल्थे । हिउँदमा यी जोडी लेकतिर झर्थे, आहार खोज्दै । बाघ र बघिनी भने हिउँतिर सिकार खोज्थे र त्यतै रमाउँथे ।’
‘यी चार जनवरहरूको एकआपसमा खुबै मिल्ती थियो । हिउँदमा मैनाबाहेक अरू बेला यी दुई जोडी सँगै हिँड्थे । सँगै डुल्थे ।’
‘नानीबाबुको कुरा नि भन्नू न, बाजे !’
‘बढी बोल्छस् ? तुइँले सुनेकै कथा हो । तुइँले मलाई सुना, लु जा ।’
‘नरिसाऊ न, बाजे ! अब म बोल्दिनँ । साँच्ची हो । ही ही ही !’
‘अब चुप लागेर सुन् । अँ, ती जोडीका एकुन्टा बाबुहरू जन्मे । बिरालो जत्रो डमरु र खच्चड जत्रो छावा । दुवै निक्खर सेता । डमरु भन्या बाघको नानीबाबु, छावा भन्या हात्तीको । हेक्का राख्या छस् नि ? छस् कि छैनस् ? केही बोल्दैन त ?’
‘ह्या बाजे पनि ! क्यार्नी त ! आफैँ केही नबोल् भन्ने । बोलेन भने बोलेन भन्ने ।’
‘लु लु, ठीक गरिस् । चुप लागेर सुन् । समयसँगै ती दुवै हलक्क बढ्न थाले । ती दुई नि औधी मिल्नी । रामलक्ष्मणको जोडीजस्तै । छुकछुके नि उत्तिकै । छावाका छोटो सुँडले डमरुको पेटमा कुत्कुत्याउँदा ती डाम्ना हिउँमा लडीबुडी खेल्दै रमाउँथे । त कहिले डमरु छावाको पिठ्युँमा चढेर हिउँले सेतै छोपिएका रनवन डुल्दै हिँड्थे ।’
‘तर दिन बित्तै जाँदा पट्ठो हुँदै गएका दुवै हिउँमा खेल्न रुचाउन छाडे । यो ठाउँभन्दा पर के पो हुँदो हो भन्ने खुल्दुली तिनका मनमा पर्न थाल्यो । हिउँभन्दा मुन्तिर, डाँडापाखाभन्दा नि मुन्तिर के होला भन्दै गफिन थाले । ह्याँ त सिकार पाउन नि मुस्किल, घाँसबुट्यान भेट्टाउन नि मुस्किल भन्दै आफ्नै घरठाउँको खेदो खन्न थाले ।’
‘अनि एक दिन दुवै जना आफ्ना बुढ्यौलीले छोप्दै गएका बाआमालाई रुवाउँदै तराई झरे । बाघ–बघिनी र हात्ती–ढोई जोडी बाँधेर आफ्ना सन्तानहरूलाई हिउँको रेखीसम्म पु¥याउन आए । डाँडाबाट ओर्लंदै गरेका आफ्ना दुई सन्तानलाई आँखाले भेटुन्जेल हेरिरहे । देखिन छाडेपछि भारी मन र भिजेका आँखा लिएर आफ्ना बासतिर फर्के ।’
‘त्यसरी रुवाएर जान नहुने नि हगि, बाजे ? कस्तो निस्ठुरी !’ बालकले आफ्नो बाजेको हात च्याप्प समायो । ‘म बाजेलाई छाडेर कैँ’नि जान्नँ ।’
बाजेको आँखा टिलपिल भएको बालकले देख्नै पाएन ।
‘अनि त्यसपछि के भो नि, बाजे ?’
‘वर्षौं बित्यो । जवान भइसकेका बाघ घर फिरेन । हात्ती नि फर्केन । उता मास्तिर हिमालमा छाडिएका बुवाआमाहरू बुढ्यौलीले कमजोर पर्न थाले । कमजोर जिउले सिकार भेट्टाउन हम्मेहम्मे पर्न थाल्यो । बुट्यान खोस्रन जाँगर मर्न थाल्यो । किन हो कुन्नि, हिउँको रेखी पनि माथि माथि सर्न थाल्यो । सेतो हिमाल कालो बन्न थाल्यो । हिउँले टम्म परेका ठाउँमा हिलाको धाप बन्न थाल्यो ।’
‘अनि एक दिन...’
‘के भो, बाजे, एक दिन ?’
‘एक दिन, निक्कै दिनदेखि भोकले रन्थनिएकी बघिनी सिकार गर्न गा’की, त्यही धापमा जाकिइन् । बल भएको भए, निक्लन सक्थिन् होली । तर कमजोर जिउ ! बिस्तारो हिलामा धसिँदै गइन् । अत्तालिँदै बघिनीलाई बचाउन गा’की ढोई नि त्यही दलदलमा फँस्न पुगिन् । लगत्तै आफ्नी बूढीलाई बचाउन गएका हात्तीको पनि दलदलमा आधा जिउ डुब्न पुग्यो । के गरूँ के नगरूँ गर्दै बाघ धापको छेउछेवै फनफनी चक्कर मार्न थाल्यो । हिलाका टाटा परेर बाघका जिउमा कालाकाला धर्का कोरिन थाले । सफा सेतो जिउ टाटेपाटे बन्यो । आखिर हार खाएर धापको किनारमा थुचुक्क बसेर ग्वार्न थाल्यो । तर ह्वाँ बचाउन आउने को ?’
‘तीन दिन तीन रात बाघ त्यो धापको डिलमा रुँगेर बस्यो र चौथो दिनको बिहान भोकले आलसतालस परेर त्यहीँ खुत्रुक्क प¥यो । अघिल्लै दिन अर्का तीनवटाले धापमा ज्यान गुमाइसकेका थिए ।’
‘प्राणपखेरु उडेको बाघको टाटेपाटे जिउमा बिहानपखको घाम पर्दा सुनौलो देखियो । उता आधा जिउ हिलामा गाडिएका हात्तीको सुकिलो सेतो शरीर पूरै हिलाम्मे अनि मैला भइसकेको थियो ।’
‘ठीक त्यही बेला तराईको घना जङ्गलमा मनग्गे सिकार अनि हरिया घाँसमा रमाइरहेका उनीहरूका सन्तानहरूको रङ पनि अचानक बदलिन थाल्यो । त्यो दिनबाट बाघ सेतो रहेन, सुनौलो टाटेपाटे बन्यो । हात्ती पनि सेतो रहेन, ध्वाँसे मैलो घुर्मैलो बन्यो । हुनसक्छ, यो तिनले गरेका पापको फल पो हो कि बाबै ?’
‘विचरा !’ बालक निन्याउरियो, ‘यो कथा मात्र हो नि हगि, बाजे ? ख्यालख्याल हो नि ? साँच्ची भाको हैन नि ?’
‘खै ? भा’को हो भन्ने कि हैन भन्ने । अहिले पनि माछापुच्छ«ेको भित्तोमा बाघको छाप कोरिएको देखिन्छ– दाहिने फर्केर थुचुक्क बसेको– डुब्दै गरेको हात्तीलाई हेर्दै गरेको । उता हेर् । देखिस् ? अनि हेर् त त्यसको दाहिनेतिर आधा जिउ धापमा डुब्या हात्ती जस्तो छैन त ? त्यो तीन नम्बरको अन्नपूर्ण हिमाल हो । ह्याँबाट उति थाहा हुन्न । तल सहरबाट हेर्दा त बाघ र हात्तीको आकार ठ्याक्कै देखिन्छ भन्छन् ! यी तिनका आत्मा उडि’गै हिमालमा टाँस्या हुन् रे ।’
बालकले देब्रेतिर फर्केर हेर्दा माछापुच्छ«े हिमालको पाटोमा उसले दाहिनेतिर थुतुनो फर्केको बाघको आकृति प्रस्टै देख्यो ।
.......
केही दिन भयो, बागबहादुरको घरमा खटपट सुरु भएको । उनका छोरा मानबहादुर बाउँठिन थालेको त्यही दिनदेखि, जुन दिन उसका मिल्ने साथी पाल्देन दिल्लीबाट फर्केर आयो । साथीको चुरीफुरीले उसलाई हत्तु बनाएको थियो । घरिघरि ‘क्यानाम अच्छा हे’ भन्दै विदेशी लवज निकालेर बोल्ने उनको तरिकाले मानबहादुरलाई कुरीकुरी पाथ्र्यो । उनले सल्काउने महँगा चुरोटको धुवाँले उसलाई कुरकुरी लगाउँथ्यो । घरि चाँदनीचोकको बखान, घरी कुतुब मिनारको बखान, घरी इन्डिया गेटको बखान । उसलाई औडाहा हुन्थ्यो !
बस्, मानबहादुरको दिमागमा यो पस्यो कि अब उसलाई वनडाँडा उकालीओराली गरेर जिन्दगी खेर फाल्नु छैन । उसलाई नयाँ ‘जगह’ देख्नु थियो, धेरै पैसा कमाउनु थियो, नौलो जीवन जिउनुथियो । छोटकरीमा भन्ने हो भने अब उसलाई यो ठाउँबाट भाग्नु थियो ।
त्यो रात उसको घरमा कचहरी बस्यो । मानबहादुरले ठाडै निर्णय सुनायो । अर्को हप्ता पाल्देनसँगै दिल्ली जाने, स्वास्नी र छोरो पनि साथै लैजाने ।
बागबहादुर कुनैबेला बाघजस्तै मस्सुर थिए । तर आज ऊ निरीह बन्यो । उनकी बूढी कुनामा बसेर सुँकसुँकाउन थाली । मानबहादुरकी बूढी सुन्तली भने मनमनै दङ्ग परिन् तर अनुहारले साखुल्ले पल्टिइन् । नाति चाहिँ जिल्ल प¥यो । दस वर्षे बालकको कुरो के पो चल्दो हो तर उसले आफ्नो बाजेको हात च्याप्प समायो अनि हिम्मत गरेर भन्यो, ‘म बाजेलाई छाडेर कहीँ पनि जान्नँ ।’
बागबहादुरले आफ्नो नातिलाई अँगालोमा बेर्दै भन्यो, ‘तँ कहीँ जान्नस्, बिर्खे ! मसँगै बस्छस् !’ तर अफसोस, नातिलाई दिएको उनको आश्वासन पूरा हुन सकेन ।
रुवाबासीको हप्ता सकियो । मानबहादुर पोकोपन्तरो बोकेर आँगनमा निक्ल्यो । सुन्तली हर्षित मनलाई अँधेरो अनुहारले छोपेर लोग्नेको पछिपछि निक्लिन् । बिर्खे च्याँठिएर रुँदै थिए । बागबहादुर भिजेको बिरालोझैं निथ्रुक्क परेर कुनोमा मिल्किएका थिए । उनकी बूढी राताराता आँखा लिएर रातै अक्षता मुछ्दै थिइन् ।
‘तेरो जय होस्, छोरा ! जाँ जालास्, भग्वान्ले तेरो रछे गरून् !’ टीका लाइदिँदै आमाले छोरालाई आसिक दिइन् । छोराले ढोग गरे । बुहारी हल्का निहुरिन् । नाति डाको छोडेर रुन थाल्यो । मानबहादुरको आँगनमा एकाबिहानै रमिता भयो । छरछिमेकका लागि तमासा भयो ।
बाजेको हातमा हात गाँसेर बिर्खे आफ्नो आमाबाबुको पछि लाग्यो । ठूलाखर्कको ओरालो झ¥यो । भलिचे चौर नाघेर द्यौरालीमा पुग्यो । छुट्टिने बेला भयो ।
कुनै कुराकानी भएन । सायद शून्यतामा वार्तालाप हुँदै थियो । कहिलेकाहीँ बोल्नलाई शब्द चाहिन्न । शून्यताको पनि आवाज हुन्छ, क्रन्दन हुन्छ । त्यो निःशब्द क्रन्दनबीच त्यस दिन एउटा परिवारको विखण्डन भयो ।
बागबहादुरले नातिलाई धेरैबेरसम्म अँगालिरह्यो । निधारमा चुम्यो । शिर मुसा¥यो । बिर्खेले आफ्नो बाजेको खस्रो हात मुसारिरह्यो । सायद त्यो स्पर्शलाई ऊ वर्षौंवर्षसम्मका लागि सँगालेर राख्न चाहन्थ्यो । अब कहिले पो भेट हुने हो ? हुने पो हो कि हैन ?
छुट्टिएर जाँदै गर्दा घुम्ती नाघ्नुअघि बिर्खेले एकपल्ट फर्केर हे¥यो । द्यौरालीको डिलमा टुसुक्क बसेको आफ्नो बाजेलाई देख्यो । जो कुनै बखत बाघझैँ फुर्तिलो थियो । तर अब ऊ एकादेशको बाघ बनिसकेको थियो । अब त्यहाँ कुनै बाघ थिएन, त्यहाँ एउटा मायालाग्दो बूढो थुचुक्क बसेको थियो । हात कोखामा च्यापेर । घोसेमुन्टो लागेर ।
अनि बिर्खेले देब्रेतिर फर्केर हे¥यो । उसले देख्यो, आफ्नो बाजेझैँ थुचुक्क बसेको बाघ–माछापुच्छ«ेको भित्तोमा र त्यसको छेउको अन्नपूर्ण हिमालमा देख्यो– धापमा डुब्दै गरेको हात्ती । उसले त्यो हात्तीमा आफूले आफैँलाई देख्यो ।
.......
अनि मैले पनि देखेँ बाघ र हात्तीको आकृति, त्यो दिन !
म पोखरा एकल यात्रामा निक्लेको थिएँ । पोखराको भ्रमण सराङकोट नपुगी अपूरो हुने नै भयो । त्यसमाथि हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केबलकार चढ्ने हुटहुटी मनमा बोकेर पोखरा पुगेको थिएँ । वाटरफ्रन्ट रिसोर्टलाई देब्रे पारेर पामेको बाटो हुँदै केही छिनमा पुगियो केबलकारको बेस स्टेसन । सात सयको टिकटले सराङ्कोट ओहोरदोहोर गर्न पाइने रहेछ ।
यसअघि आउँदा मैले मेरो स्मृतिमा कोरेको सराङ्कोटको विम्बसँग अहिले देखेको सराङकोटको कुनै पनि प्रकारले तालमेल भेटिनँ । यस्तरी परिवर्तन भइसकेछ कि उत्तरतिरको अन्नपूर्ण हिमालको शृङ्खला नदेख्दो हुँ त म अर्कै ठाउँ पुगेँ भन्ठान्दो हुँ ।
यहाँबाट तीन हिमशृङ्खला देख्न सकिन्छ– धौलागिरि, अन्नपूर्ण र मनास्लु । त्यसमध्ये सबैभन्दा नजिकै र टड्कारै देखिने भनेको अन्नपूर्ण रेन्ज नै हो, जसको मध्य र अग्र भागमा रहेको छ, माछापुच्छ«े हिमाल र त्यसको दायाँपट्टि अन्नपूर्ण तेस्रो ।
अनि मैले देखेँ बाघ र हात्तीको आकृति ! दाहिने फर्केर थुचुक्क बसेको बाघको स्पष्ट आकार– माछापुच्छ«ेको भित्तोमा मानौँ कुनै शिल्पकारले छिनोले कुँदेर बनाएको होस् । टुप्पोको भागले कानको बान्की बनेको थियो भने त्यसको मुन्तिर बनेको अङ्ग्रेजी अङ्क ‘घ’ जस्तो देखिने आकृतिले उपल्लो र तल्लो ओठको बान्की बनेको थियो । त्यसको ठीकमुनि अस्पष्ट रूपका पाउको आकृति बनेको थियो । हिमालको देब्रे ढलानले ढाडको आकार बोकेको थियो । ध्यान दिएर हेर्ने हो भने ठ्याक्कै बाघको आकृति !
माछापुच्छ«ेको दाहिनेतिर रहेको अन्नपूर्ण थ्री भने दुरुस्तै हात्तीको शरीरको माथिल्लो भागजस्तै देखिने, देब्रेतिर फर्केको । तल्लो भाग यस्तो लाग्ने मानौँ जमिनमुनि दबिएको छ या पानीमुनि डुबेको छ ।
माछापुच्छ«ेको देब्रेतर्फको अग्रभागमा भने होचो खाले मार्दी हिमाल रहेको छ । पदयात्रीहरू यही हिमालको बेसक्याम्पसम्म पदयात्रामा जान्छन्, एमबीसी जाने भन्दै । अनि यहाँबाट उत्तरपश्चिमी भागसम्मको साहसिक यात्रा गरेर एबीसी ट्रेक पूरा गर्छन् । अन्नपूर्ण बेस क्याम्प पदयात्रा भनेको यही हो ।
यस पटक मेरो पनि सानोतिनो पदयात्रा गर्ने योजना भएकाले सराङ्बाकोटबाट फर्केर सिधै हानिएँ बसपार्क । काँडे जाने बस पकडेर गन्तव्य पुग्दा पाँच बजिसकेछ । लोकल बस भएकाले एक घण्टा लाग्ने दूरी छिचोल्न झन्डै दुई घण्टा लगायो । हिउँदको महिना, छिट्टै रात पर्ने बेला, अनि पुग्नुपर्ने ठाउँ अस्ट्रेलियन क्याम्प, जुन मेरानिम्ति नितान्त नौलो ठाउँ थियो । त्यसमाथि एक्लो यात्री ।
यतै रात बसुँ कि जस्तो लाग्यो । नजिकैको काँडे गेस्टहाउस पुगेर बासको सोधखोज गर्दा होटेल मालिक्नीले उल्टै एक घण्टामा ढुक्कै पुगिहालिन्छ, बिहानको सनराइज हेर्ने गरी अहिल्यै जानुस् भन्दिएपछि मेरो गोडा चिलाइहाल्यो र रकस्याकलाई टामटुम कसेर म लस्किहालेँ । तर म भन्दा छिटो रात लस्किँदै आयो । बाटोमा पर्ने जङ्गलको बाटो छिचोल्दै गर्दा झमक्कै अँधेरो भयो । मोबाइलको टर्चलाइट बालेर लुखुरलुखुर एकलासको ढुङ्गे उकालो चढ्दै गर्दा सानोतिनो आवाजले पनि झस्याङ्ग पार्न थाल्यो ।
धन्न नेट चल्ने ठाउँ परेछ र अस्ट्रेलियन क्याम्प गेस्टहाउसको नम्बर भेट्टाएर फोन हानेँ । मेरो हरिबिजोग सुनेपछि उताबाट काम गर्ने भाइलाई पठाउने भए मेरो उद्धारका निम्ति । यसैबीच मैले चाल पाएँ कि म त बाटो बिराएर तल्लो लामो बाटो पो हिँड्दै रहेछु । किनकि सिट्टी बजाउँदै कराउँदै होटेलको भाइ बनको माथिल्लो बाटो पो आउँछ त ! बल्ल सास आयो । यो पनि सानोतिनो एड्भेन्चर नै भयो भन्ने लाग्यो ।
ठूलाखर्कलाई अचेल अस्ट्रेलियन क्याम्पभन्दा रहेछन् । कुनै बखत अस्ट्रेलियनको समूहले अन्नपूर्ण बेस क्याम्प ट्रेकिङमा जाँदा यही ठाउँमा क्याम्प खडा गरेकाले हुँदाखाँदाको अर्गानिक नाम परिवर्तन भएर अस्ट्रेलियन क्याम्प बनेछ । आजकल यो ठाउँलाई ठूलाखर्क भनेर चिन्नै छाडिसके ।
बिहानको सात बजेर तीन मिनेटमा सूर्योदय हुने थाहा पाएर बिहान सखारै थुर्थुरिँदै उठेँ । तर गज्जबको ‘सनराइज’ हेर्ने अवसर जुर्दा जाडोको सकस भुलेँ । भाग्यवश मौसम छ्याङै खुलेको थियो । अन्नपूर्ण रेन्जको पानारोमिक नजारा हेर्न यो ठाउँ एकदम सही लाग्यो । अन्नपूर्ण साउथदेखि माछापुच्छ«े, अन्नपूर्ण थ्री, अन्नपूर्ण फोर आँखैअगाडि उभिएका थिए । भ्युपइन्टको हाइटभन्दा मुनिबाट सूर्यदेव सर्लक्क निक्लिने बेला हिमाल सुनौलो किरणले पोतिने परिदृश्य अविस्मरणीय रह्यो ।
..............
ठूलाखर्कको ओरालो लखरलखर झर्दै थिएँ । भलिचे चौर पुग्दा नपुग्दै मौसम खराब हुन थाल्यो । अघिसम्मको झलमल हिमाललाई कुहिरोको पर्दाले ड्याम्म ढाक्यो । शीत झरेर बाटो लपक्क भिज्यो । चौरका घाँसका चक्लाहरू ठाउँठाउँमा सेताम्मे हुन थाले । ज्याकेटको टोपीले शिर ढाकेर म छिटोछिटो पाइला चाल्न थालेँ ।
चौरको छेउमा सानो खोल्सो बग्दै थियो । त्यसको माथि मुढा तेस्र्याएर पुलेँसो बनाइएको थियो । शीतले भिजेर मुढा सिलित्त परेको थियो । चिप्लेर लड्ने डरले म सुस्तसुस्त पाइला चाल्दै थिएँ । त्यत्तिकैमा बनको कतैबाट ‘हुइट’ गर्दै आवाज आयो । वनको तलतिर स्याउलो छिरिक छिरिक ग¥यो । म चनाखो बनेँ ।
यत्तिकैमा वनको तल्लो बाटोबाट एउटा बूढो मान्छे ताछिएको सालको लौरो टेक्दै माथ्लो बाटोमा उक्ल्यो । हेर्दै उराँठलाग्दो । जिङ्ग्रिङ परेको कपाललाई जेनतेन छोपेको फाटेको टोपी । मैलाले कट्कटिएको ज्याकेट, मानौँ किनेदेखि धोएको छैन । तलुवा उछिटिएको गमबुट ।
‘ए बाबु ! बिर्खेलाई देख्नुभयो ?’ लुगलुग काम्दै उसले गमबुटको तलुवा मिलायो । चिसो सिरेटोको तीखो काँडाले उसको पातलो ज्याकेटलाई छेडिरहेको थियो ।
‘को बिर्खे ?’ घाँस, दाउरा बिसाउने ढुङ्गे बिसौनीमा रकस्याक अड्याउँदै मैले सोधेँ । उसको शरीरबाट आइरहेको अमिलो गन्धले मलाई सकस तुल्यायो ।
‘बिर्खे क्या, मेरो नाति ! अघि यहीँ छोड्या थेँ । अहिले काँ गो, काँ गो ! भन्या मान्दैन । बस्या ठाम् अड्दैन । अब काँ खोज्ने होला !’ ऊ चिन्तित देखियो ।
‘खै बा ! म भर्खर यता पुगेको । कोही पनि देखिनँ । बाटोमा पनि कोही देखिनँ त ।’
‘भर्खरै त सँगसँगै थियौँ । कथा सुनाउँदै आइरहेका थियौँ । बाघ र हात्तीको कथा सुन्न खुप रुचाम्छ, मेरो नाति ।’ उसको अनुहार उजेलियो ।
‘घर गयो कि न ?’
‘हो त बाबै ! घरै पो गए कि ? म पनि हुस्सु । कतिखेर छड्केछ त मोरो ?’
म घाँटी रसाउनलाई पानीको बोतल खोज्न झोला खोतल्न तल्लीन भएँ । झोलाबाट शिर उचालेर हेर्दा बूढो त गायब ! कतिखेर छड्केछ त बूढो ?
रकस्याक भिरिवरि धम्पुस जाने ओरालो झर्दै गर्दा बूढो अचानक अलप हुँदाको मनको खलबलीले दिमागमा झटारो हानिरह्यो । त्यति नै खेर पर वनमा कसैले ‘हुइट’ गरेको सुनेँ ।
धम्पुस पुग्नै लाग्दा मनको खुलदुली मेटाउन बाटो छेउको चियापसलमा सुस्ताउने निहुँ बनाएर छिरेँ र हुलिया बताउँदै बूढोका बारे सोधखोज गरेँ ।
‘ए ! तपाईंले बागबहादुरलाई भेट्नुभएछ । ओहो, ती बूढोले त पाउनु दुःख पाएका छन् नि !’ साहुनी फरासिली थिई, बेलिबिस्तार लगाइहाली ।
‘ठूलाखर्कमाथिको लेकमा बस्छन् । पट्ठो छँदा सारै बलिया । एक्लैले एक बोरा चामल सर्लक्कै ढाडमा बोकेर उकालोमा ठमठमी हिँड्थे अरे । साथमा जहान, छोरा, बुहारी, नाति, सप्पै थिए । सुखी परिवार । तर एक दिन छोरोको मति बिग्रेछ । परिवारै बोकेर इन्डिया भासिएछन् । बूढोको बिजोक ! जहान चाहिँ छोरो गएदेखि रोइरोई थलिगइन् । बूढो आफैँ चिन्ताले अधमरो भाका, जहानको हेरविचारमा के पो हेक्का राखून् ! पोहोर हिउँदमा तिनी खुस्किगइन् । अब यी बूढा आफ्नो दिमाग खुस्काईवरि वनजङ्गल चहार्दै हिन्छन् । आफ्ना नातिसँग खुब मिल्ती थियो । नातिलाई डाँडाकाँडा खोज्दै हिन्छन् । ‘हुइट हुइट’ गर्दै । के पो भेट्दो हो । दिनैपिच्छे इनको कामै यही भा’छ । कठै ! दुःख नि कति पाका, बरा !’
धम्पुसबाट फेदी जाने ओरालो झर्नुअघि फर्केर हेरेँ । उत्तरतिरको आकाश कुहिरोले ढाकेको थियो । म त्यो कुहिरोपारि माछापुच्छ«ेको भित्तोमा थुचुक्क बसेको बाघ अनि अन्नपूर्ण हिमालमा डुब्दै गरेको हात्ती आकृतिको कल्पना गर्दै ओरालो झर्न थालेँ । मन भने कुहिरोले ढाकेको हिमपर्वतझैँ चिसो थियो ।
उपसंहारः
पुरानो दिल्लीको कुनै पुरानो गल्लीमा एउटा पुरानो घरको पुरानो रोटी दोकानमा बाह्र–तेह्र वर्षको एउटा ठिटो भाँडा माझ्दैछ ।
‘अरे ओ बिरखवा, सो गया क्या ? जल्दी कर बे ।’ काउन्टरमा बसेका निर्दयी अनुहारका व्यक्ति च्याँठिन्छन्, ‘दो थोक वर्तन साफ करनेके लिए इतनी देर?’
‘जी मालिक !’ एउटा मधुरो र निरीह स्वर भाँडाको डङ्गुर पछाडिबाट प्रस्फुटन हुन्छ ।
अनि ऊ छिटोछिटो भाँडा मस्काउन थाल्छ । एकछिन टक्क अडेर ऊ परिश्रमले खस्रो बनेको आफ्नो हात मुसार्न थाल्छ । उसलाई लाग्छ ती हात उनका आफ्ना हैनन् । उसलाई लाग्छ ती उनका बाजेका हात हुन् । उसलाई लाग्छ ऊ आफैँ बिस्तारै एकादेशको बाघमा परिणत हुँदै गइरहेको छ ।