• ४ जेठ २०८१, शुक्रबार

गर्मीसँगै चुरे आसपासमा पानी अभाव

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख ५ गते । सर्लाहीको चुरे क्षेत्रका अधिकांश कुवा र इनार सुक्न थालेपछि आसपासका बस्तीमा खानेपानीको हाहाकार हुन थालेको छ। सर्लाही जिल्लाका चुरे क्षेत्रमा रहेका भालुखोप, केराबारी, बेलडाँडा, बिलन्दी, कौवा, दापडाँडा, कालिञ्जोर, गुइडुङ, परवानीपुर, नारायणखोला, अत्रौलीलगायत क्षेत्रमा हरेक वर्षको गर्मी मौसममा खानेपानीको समस्या हुने गरेको छ। 

बढ्दो वन विनाश र खोला उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थालेको बताइन्छ। चैतदेखि जेठसम्म खानेपानीको धेरै नै अभाव हुने गरेको छ। चुरे क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ उकालीओराली गर्न बाध्य भएको बताउँछन्। हरिवन नगरपालिका–१, केराबारीकी रस्मिला जिम्बाका अनुसार गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको छ। त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई/चार घरलाई समेत नपुग्ने अवस्था छ।

उहाँका अनुसार गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर उपयोग गरिरहेका छन्। दूषित पानीका कारण सो क्षेत्रका बासिन्दामा बर्सेनिजसो झाडापखाला लाग्दै आएको छ।

लालबन्दी नगरपालिका–१२, भालुखोपका वीरबहादुर रानाले चैतदेखि दुई/तीन महिना खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गर्नुभयो। उहाँले सबैतिर सुक्खा लाग्दा मानिसलाई पिउने तथा सफाइ र बस्तुभाउलाई पानीको अभाव भएको बताउनुभयो।  

ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले वन क्षेत्रमा डढेलो लाग्न थालेसँगै चुरेभेगमा खानेपानीको अभाव थप बढेको बताउनुभयो। चुरे भेगमा बस्तीका घर छरिएर रहेका कारण खानेपानीको सुविधा पु-याउन निकै कठिनाइ भइरहेको वडाध्यक्ष खत्रीले बताउनुभयो। चुरे भेगमा पर्ने ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाले खानेपानीका लागि बर्सेनि बजेट विनियोजन गर्दै आइरहेका छन्।