• ९ असार २०८२, सोमबार

रोकियो पथरी–ज्यामिरे सडक निर्माण

blog

मोरङको पथरी–जाँते हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडक ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, असार ९ गते  । मोरङको पथरी–जाँते–हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडक ३५ प्रतिशत भौतिक प्रगति भएर रोकिएको डेढ वर्ष भयो । कहिले सडक क्षेत्रका रुख कटान नभएर त कहिले स्थानीयको अवरोधका कारण रोकिएको यो सडक पछिल्लो समय निर्माण कम्पनीबिचको विवादले रोकिएको हो । 

कोशी प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रूपमा निर्माण प्रक्रिया अगाडि बढाएको यो सडक तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते ठुलो तामझामसाथ शिलान्यास गर्नुभएको थियो । राईले तीन वर्षभित्रमा सडक निर्माण गरेर आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो तर पाँच वर्ष सात महिना बितिसक्दा पनि १७ किलोेमिटर लम्बाइको सडक अझै कालोपत्रे भइसकेको छैन । लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्वपश्चिम राजमार्गलाई क्रस गरेर डाइनियाँ हुँदै भारतको सिक्टी बजारसँग जोड्ने उत्तर–दक्षिण यो सडक उत्तरी मोरङको व्यापार प्रवर्धनका लागि महìवपूर्ण मानिँदै आएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय विराटनगरले २०७९ असोजभित्र सम्पन्न गर्ने गरी सडक ठेक्का लगाएको थियो । १९.६ किलोमिटर लम्बाइ र २२ फिट चौडाइको ५० एमएमको अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिने सडक ७२ करोड ५० लाख रुपियाँमा टेन्डर आह्वान भएको थियो ।  

श्रेष्ठ कन्स्ट्रक्सन काठमाडौँले २५ प्रतिशत कम बोलकबोल गरी भ्याटसहित ५४ करोड ४८ लाख ४५ हजार १२५ रुपियाँ ९६ पैसामा ठेक्का लिएको थियो तर श्रेष्ठ कन्स्ट्रक्सनले सडक निर्माण गरेन । श्रेष्ठ कन्स्ट्रक्सन र विनीताश्री निर्माण कम्पनीबिच आन्तरिक रूपमा सहमतिपछि विनिताश्रीले गर्ने भयो । विनीताश्री निर्माण कम्पनीका सञ्चालक भीमबहादुर पौडेलले भन्नुभयो, “हामीले जुन मूल्यमा ठेक्का लागेको हो, त्यही मूल्यमा काम गर्ने जिम्मा लिएका हौँ । हालसम्म ३५ प्रतिशत काम सकिएको छ । अब २० करोड रुपियाँको काम छ । साढे पाँच किलोमिटर काम गर्न बाँकी छ तर हामीले काम गरेको साढे १० करोड रुपियाँ प्राप्त गर्न बाँकी छ । त्यो प्राप्त नभएपछि काम गर्न सक्ने कुरै भएन ।’’ सुरुमा ठेक्का प्राप्त गरेको श्रेष्ठ कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । 

पूर्वाधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख सुशील श्रेष्ठका अनुसार खरिद ऐनको १४ औँ संशोधन अनुसार म्याद थप्नका लागि असार १२ सम्म श्रेष्ठ कन्स्ट्रक्सन आइसक्नु पर्छ । साथै बिमा शुल्कबापत १६ लाख रुपियाँ र बैङ्क ग्यारेन्टी अलग्गै तिर्नु पर्छ । कार्यालय प्रमुखले श्रेष्ठ कन्स्ट्रक्सनलाई बारम्बार पत्राचार गर्दा पनि सम्पर्कमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “असार १२ सम्म नआए ठेक्का तोड्नुको विकल्प हुँदैन ।” श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा सो सडकका लागि दुई करोड र आगामी वर्षका लागि तीन करोड रुपियाँ विनियोजन भएको छ । 

यता लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले जाँते बजार उत्तरको सडक क्षेत्रमा परेका रुख नहटाउँदा निर्माण रोकिएपछि जिल्ला विपत् व्यवस्थापनको बैठकमार्फत रुख काट्ने बाटो खोलिएको बताउनुभयो । दुई वर्षको पहलपछि सडकमा पर्ने पाँच वटा रुख काट्ने सहमति भयो तर सडक निर्माण नै अन्योलमा परेको छ ।  प्रदेश सरकारले २०७६ सालमा प्रदेशभरिका ६२ वटा सडकलाई बहुवर्र्षीय योजना अन्तर्गत गौरवको योजनाका रूपमा निर्माण गर्ने भनेको थियो । सोही योजना अन्तर्गत पथरी–जाँते–ज्यामिरे सडकखण्ड पनि समावेश भएको हो ।