• ९ असार २०८२, सोमबार

कोशीटप्पुमा रमाउँदै पुष्पा र अञ्जली

blog

कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिमी सेक्टर क्षेत्रमा विचरण गर्दै पुष्पा र अञ्जली । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, असार ९ गते । कोशीटप्पु वन्यजन्तु आरक्षको संरक्षणमा रहेका पुष्पा र अञ्जली आरक्षको वातावरण र हेरचाहमा फस्टाएका छन् । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एकसिङे दुई वटा गैँडा कोशीटप्पुको वातावरणमा फस्टाएका हुन् । 

चितवन राष्ट्रिय निकुञ्जबाट २०८० असोज १० गते दुई वटा पोथी गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याइएका थिए । संरक्षणका वरिष्ठ अधिकृत भूपेन्द्रप्रसाद यादवले भन्नुभयो, “पुष्पा र अञ्जली यहाँको वातावरणसँग घुलमिल भइसकेका छन् । दुई गैँडा अहिले स्वस्थ र बलिया देखिएका छन् । उनीहरूको शारीरिक बनावटमा  पनि परिवर्तन आएको छ ।”

उहाँका अनुसार यहाँको वासस्थान गैँडाका लागि उपयुक्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिको अध्ययनले कोशीटप्पुमा गैँडाका लागि अनुकूल वातावरण रहेको सिफारिस गरेपछि पुष्पा र अञ्जलीलाई त्यहाँ पु¥याइएको थियो । आरक्षभित्रको तीन हेक्टर क्षेत्रफलको इन्क्लोजर (ठुलो खोर) मा गैँडाको रखवारी गरिँदै आएको कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिमी सेक्टर पथरी पोस्टका रेन्जर जीवन पोखरेलले बताउनुभयो । उहाँका अनुसार तारजालीले घेरिएको इन्क्लोजरभित्र चरनका लागि घाँसे मैदान, पानी खानका लागि कलधारा, राति सुत्नका लागि खोरको व्यवस्था गरिएको छ । उनीहरूका हेरचाहका लागि कर्मचारी नै खटाइएको आरक्ष कार्यालयले जनाएको छ । बिहानैदेखि विचरण गर्ने पुष्पा र अञ्जली बेला बेला पोखरीमा पौडी खेल्ने र पुनः विचरण गरेरै दिन बिताउँदै आएको छन् । पुष्पा र अञ्जलीका लागि आरक्ष सुरक्षार्थ रहेको नेपाली सेनाका जवानसहित आरक्षको पश्चिमी सेक्टर कार्यलयमा आरक्ष प्रशासनका आठ जना कर्मचारी खटिएका छन् । चितवनको तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर अनाथ बनेका पुष्पा र अञ्जली राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएका थिए । दुई वर्षअघि संरक्षण कोषबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याउँदा पुष्पा चार वर्ष र अञ्जली अढाई वर्षकी थिए । 

अब यी दुवै गैडा प्रजननयोग्य भएको आरक्ष प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादव बताउनुहुन्छ । उहाँका अनुसार पोथी गैँडा चार वर्ष र भाले गैँडा छ वर्ष पुगेपछि प्रजननयोग्य हुन्छन् । आरक्षको विकास र पर्यापर्यटनको विकास गर्ने उद्देश्यले चाँडै टप्पुमा गैँडाको वंश विस्तार गर्र्न भाले गैँडा ल्याइने योजना रहेको उहाँको भनाइ छ । 

वंश विस्तारका लागि चितवनको सौराहाबाटै २०८० चैत १० गते भाले गैँडा ‘मेघौली’ लाई कोशीटप्पुमा ल्याइएको थियो । पुष्पा र अञ्जलीसँगै राख्न चितवनबाट कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा ल्याइएको मेघौली गैँडा बिमारी भएपछि टप्पुमा तीन दिनको बसाँइपछि पुनः फिर्ता लगिएको थियो । कोशीटप्पु वन्यजन्तु आरक्ष अर्ना (जङ्गली भैँसी) र चराका लागि प्रख्यात मानिँदै आएको छ । अब यहाँ अर्ना र चरासँगै हात्ती र गैँडा अवलोकन गराउने आरक्षको योजना रहेको छ ।