विनय कर्ण
कल्याणपुर (सप्तरी), असार ९ गते । सप्तरीको खडक नगरपालिकाले बालश्रममुक्त पालिका घोषणा गर्ने अभियानलाई अगाडि बढाएको छ । नगरपालिकाको नीति अनुसार बालश्रममुक्त नगरपालिका घोषणाको तयारी स्वरूप वडामा अनुगमन सुरु गरिएको हो ।
बालबालिकालाई कानुन विपरीत हुने गरि कुनै काममा लगाउन नहुने कानुनी व्यवस्था र नगरपालिकाको नीति अनुसार वडा नम्बर ८ लाई यसै आर्थिक वर्षमा बालश्रममुक्त वडा घोषणा गर्न लागिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिनुभयो ।
त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै उहाँले वडा नम्बर ८ लाई बालश्रममुक्त वडा घोषणा गर्नका लागि नगर उपप्रमुख तथा नगर बालअधिकार समिति संयोजक रिताकुमारी चौधरी नेतृत्वको टोलीले वडाभरिका इँटाभट्टी, पोल्ट्री फर्म, ग्रिल उद्योग, पसल लगायतको स्थानमा अनुगमन गर्नुभएको बताउनुभयो ।
अनुगमनको क्रममा त्यस वडामा बालश्रम गर्नेको सङ्ख्या शुन्य पाइएकोले एकसाता भित्रै बालश्रममुक्त वडा घोषणाको तयारी थालिएको नगर प्रमुख चौधरीको भनाइ छ ।
"पालिकालाई नै बालश्रममुक्त बनाउन वडा नम्बर ८ बाट त्यसको सुरुवात गर्दैछु, आउने आर्थिक वर्षमा क्रमशः अन्य वडालाई बालश्रममुक्त वडा घोषणा गर्दै पालिकालाईलाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्य रहेको छ," नगर प्रमुख चौधरीले भन्नुभयो ।