नेत्र शाही
जुम्ला, असार ९ गते । जुम्लाको सिंजा गाउँपालिकाका पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका स्वास्थ्य संस्था संस्था पोषणमैत्री भएसँगै गाउँपालिकालाई नै पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको हो ।
यस अगाडि सिंजा गाउँपालिका, वडापालिका र स्वास्थ्य शाखाको पहलमा एकैदिन ६ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । सोही आधारमा सोमबार प्रतिनिधिसभा सांसद विनीता कठायत, गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकायासहित स्थानीय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाको उपस्थितिमा गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका घोषणा गरिएको हो ।
प्रतिनिधिसभा सांसद विनीता कठायतले एक कार्यक्रमका बिच सिंजा गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गर्नुभयो । सिंजा गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार यस अगाडि सिंजा गाउँपालिका वडानम्बर ३ को नराकोट स्वास्थ्यचौकी, वडा नम्बर १ को धापा स्वास्थ्य चौकी, वडा ५ स्थित शनिगाउँको स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएका हुन् ।
यसैगरी आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर २ को बिष्टबाडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द वडा नम्बर ६ को दातमा समेत आधारभूत सूचक तयार गरी पोषणमैत्री स्वास्थ्य संस्था भएका कारण पालिका नै घोषणा गरिएको हो ।
सांसद कठायतले पोषणमैत्री स्वास्थ्य संस्था जिल्लाको पहिलो गाउँपालिका घोषणा गर्न सफल भएकाले स्वास्थ्यकर्मी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पोषणका आधारभूत सूचक पूरा गर्न सफल गर्ने सबैलाई विशेष धन्यवाद दिनुभयो ।
गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाले आधारभूत पोषणका सूचकहरुमा मिहिनेतका साथ काम भएको छ । सवै संस्था घोषणा भएपछि ९ गते सिंजा गाउँपालिका नै पोषणमैत्री गाउँपालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेलासमेत गरिनेछ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरिरहेका छन् ।
गाउँपालिका उपाध्यक्ष सितली रोकायाले मानिसको पोषण मानव जीवनसँग जोडिएको महत्वपूर्ण विषय भएकाले गाउँपालिकाले पोषणमैत्री गाउँपालिकामा जोड दिएको बताउदै यस अभियानमा लाग्ने सबै स्वास्थ्यकर्मी र साझेदार निकायलाई विशेष धन्यवाद दिनुभयो ।
स्वास्थ्यचौकीकाे तथ्याङ्क अनुसार गर्भवती महिलाले विभिन्न समयमा जाँच गर्ने, आइरन चक्की र फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिशत, स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका, जन्मेको एक घण्टामा स्तनपान शुरुवात गर्ने शिशु, भिटामिन ए क्यास्सुल, नियमित वृद्धि अनुगमनलगायतका विभिन्न सूचक पूरा भएपछि पोेषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका छन् । सिंजा गाउँपालिकाका स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्ने पहिलो गाउँपालिका हो ।