• १६ साउन २०८२, शुक्रबार

दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे

blog

दोर्दी केन्द्र जोड्ने उदिपुर–रिट्ठेबगर–नौथर सडक कालोपत्र गर्दै मजदुर । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, साउन १५ गते । लमजुङ दोर्दी गाउँपालिका केन्द्र नौथर सेरा जोड्ने सडक कालोपत्रे भएको छ । गण्डकी प्रदेश सरकारको पालिका केन्द्र जोड्ने अभियानअन्तर्गत गत आर्थिक वर्षमा साढे दुई किलोमिटर सडक कालोपत्र भएको हो । 

उदिपुर–रिट्ठेबगर–नौथर सडकको –७ दशमलव १२१ किलोमिटरमध्ये साढे दुई किलोमिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालय प्रमुख नरेशराज जोशीका अनुसार सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ । सडकको हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी रहेको कालोपत्रको काम आगामी दशैँतिहारसम्म सम्पन्न भइसक्ने कार्यालय प्रमुख जोशीले बताउनुभयो ।

ठेकेदारले समयमै काम नगर्दा निर्माण कार्यमा ढिलाइ भएको कार्यालयले जनाएको छ । २०७७ असार ३ गते सम्झौता भई वि.सं. २०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नु पर्ने भए पनि कोभिडको कारण देखाउँदै निर्माण कम्पनीले २०७९ पुस महिनासम्म म्याद थप गरेको थियो । 

सो समयभित्र पनि निर्माण कार्य सम्पन्न नभएपछि पुनः २०८० असार २९ गतेसम्म म्याद थप भएको थियो । दुई पटक म्याद थप गर्दा पनि काम नसकेपछि पुनः २०८१ मंसिर २८ गतेसम्म म्याद थप भएको थियो । तर सो समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि हालसम्म म्याद थप नगरी काम गरिएको छ ।  

सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले गर्दैआएको छ । गण्डकी प्रदेश सरकारको २६ करोड २९ लाख ६ हजार २२५ रुपियाँ लगानीमा निर्माण भइरहेको सो सडक बेसीशहर नगरपालिका –१ उदिपुरदेखि वडा नंं ११ हुँदै चितीहुँदै दोर्दी गाउँपालिका –४ मा नौथर शेरा जोडिन्छ जोडिन्छ । सडकको दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर सडक ढलान हुनेछ । 

सडक निर्माण भएपछि स्थानीयलाई आवत–जावतमा सहज भएको बेसीशहर –११ रामचोकबेँसीका बलराम सेढाइँले बताउनुभयो । पटक–पटक ताकेतापछि ढिलो गरेर भए पनि सडक कालोपत्रे भएपछि दोर्दी गाउँपालिका केन्द्र जान आउन सहज भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।