• १७ साउन २०८२, शनिबार

खडेरीले धान खेती सुक्दै

blog

ढोरपाटन समाचारदाता 

बागलुङ, साउन १६ गते । नियमित वर्षा नहुँदा बागलुङका किसानले लगाएको धान खेती सुक्न थालेको छ । असारमा रोपिएको धानमा सिँचाइको अभावमा गह्रा फाट्ने, धान सुक्ने र केही ठाउँमा रोपाइँ नै गर्न नसक्ने भएपछि किसान चिन्तित बनेका छन् । 

सिँचाइको अभाव र रोगको प्रकोपले किसान मर्कामा परेका छन् । जिल्लामा हालसम्म ९० प्रतिशत रोपाइँ गरिए पनि बाँकी १० प्रतिशत जमिनमा खडेरीका कारण रोपाइँ हुन सकेको छैन । खडेरीका कारण धान खेती सुक्नुका साथै डडुवा, गाबा कुइने र बेरुवा जस्ता रोगले रोपो मर्न थालेको बानपा–४, कुडुँलेका किसान तारानाथ सापकोटाले बताउनुभयो ।  

सापकोटाले भन्नुभयो, “पानी नहुँदा रोपेको धान सुक्न थालेको छ । पानीका लागि तँछाडमछाड गर्नुपर्ने अवस्था छ ।” नरोपिएको जमिन बाँझै रहेको किसानको भनाइ छ । रोपिएको धानमा समेत सुक्खा र रोगको समस्या देखिएको अर्का किसान धुव्र पौडेलले बताउनुभयो ।  

गत वर्ष असारभित्रै धान रोपाइँ सक्ने गरिए पनि यो वर्ष साउनको मध्यसम्म पनि कतिपय ठाउँमा रोपाइँ हुन नसकेको जगबहादुर पुनले बताउनुभयो । पुनले भन्नुभयो, “सिँचाइका लागि पानीको अभावमा किसानबिच झगडासमेत हुने गरेको छ ।” जिल्लामा ३० हजार ५३० हेक्टरमा जमिनमा धान खेती हुँदै आएकामा ४५ हजार एक हेक्टरमा वर्षापछि मात्र खेती गरिँदै आएको छ । अधिकांश ठाउँमा सिँचाइको व्यवस्था नहुँदा किसान आकाशको पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । सिँचाइ नपुगेका ठाउँमा मूल फुटेपछि मात्र रोपाइँ गर्ने गरिएको छ । 

यस वर्ष मनसुन कम सक्रिय भएकाले पर्याप्त पानी नपर्दा केही स्थानमा रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले बताउनुभयो । धानलाई आवश्यक पर्ने पानी अपुग भएकोले उत्पादनसमेत कमी हु नसक्ने उहाँको भनाइ छ । यहाँ चैते धान १० हेक्टर र बर्खे धान पाँच हजार सात सय छ हेक्टरमा खेती हुँदै आएको छ । बलेवा, गलकोट, मूलपानी, सिगाना, जैमिनी, बडीगाड, बुर्तिवाङ र काठेखोला क्षेत्रमा धान खेती बढी हुने गरेको छ । 

जिल्लाको तल्लो भागमा वर्षमा दुई पटक धान खेती हुने गर्छ । स्थानीय जातका मसिनो, गुडुरा, गोला, कनजिरा, बिर्मफुलेसँगै खुमल–४, जेठो बुढो, लुम्ले–२, युएस–३१२, जिटी–७० र बासमती धान यहाँ खेती हुँदै आएको छ । मनसुनको अनिश्चित र सिँचाइ सुविधाको कमीले यस वर्ष बागलुङको धान खेतीमा गिरावट आउने किसानले आकलन गरेका छन् ।