बबई समाचारदाता
बबई (बर्दिया), असार ९ गते । बर्दिया जिल्लाको वन क्षेत्रसँग जोडिएका बस्तीलाई सुरक्षित राख्नका लागि वन क्षेत्रबाट बस्ती पस्ने वन्यजन्तु छेकबार गर्न लगाइएको कङ्क्रिट वाल (दिवाल) मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न प्रभावकारी बन्दै गएको छ ।
बर्दियामा सामुदायिक वन र निकुञ्जसहित निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आउने जनावरले वन क्षेत्रको सीमामा कृषकले लगाएको अन्नबाली नोक्सान गर्न थालेपछि जनावरलाई बस्ती तथा कृषकको खेतबारीमा पस्नबाट रोक्न लगाइएको कङ्क्रिट वाल प्रभावकारी बन्दै गएको हो ।
आर्थिक दृष्टिकोणले अत्यन्तै खर्चिलो मानिएको कङ्क्रिट वाल निर्माण गर्न प्रतिकिलोमिटर एक करोड ७५ लाख लाग्ने गर्दछ । वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्नका लागि कङ्क्रिट वाल प्रभावकारी भएपछि ठाकुरबाबा नगरपालिकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको ३२ किलोमिटर क्षेत्रफलमा कङ्क्रिट वाल निर्माण गर्न सुरु गरेको छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले गत वर्षदेखि निर्माण सुरु गरिएको कङ्क्रिट वालको काम यस वर्ष महत्वपूर्ण स्थानमा वाल निर्माण भइसकेको बताउनुभयो ।
खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले वन क्षेत्रसँग जोडिएका मानव बस्तीमा वन्यजन्तुको प्रवेश रोक्न पर्खाल लगाइएपछि बाघ, हात्ती, गैँडा, चितुवा, चित्तल, बँदेललगायतका ठुला तथा साना जनावर बस्ती पस्न पाएका छैनन् भने त्यस क्षेत्रमा अहिले कृषकले लगाएको अन्नबाली नोक्सानीको क्रमसमेत घट्दै गएको बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाका स्थानीय मुकुन्द क्षेत्रीले वन्यजन्तुले धेरै क्षति पुर्याउने गरेको ठाकुरबाबा नगरपालिका वडा नं. १,२,४,६,७ र ८ का सामुदायिक वनसँग जोडिएका डुम्रेनी, अम्रेनी, कर्मला, सैनवार, मोतीपुर, लठुवा, खोरपुर, गोब्रेला चिटकैया, शिवपुरलगायतका स्थानमा कङ्क्रिट वाल निर्माण भएपछि पछिल्लो समय वन्यजन्तुले बस्तीमा पुर्याउने क्षति केही मात्रामा भए पनि न्यूनीकरण भएको र त्यसले मानव–वन्यजन्तु द्वन्द्वमा समेत कमी आएको बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएको ३२ किलोमिटरमध्ये यस वर्षसम्म मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ११ किलोमिटर सीमा क्षेत्रमा २० करोड लगानीमा कङ्क्रिट वाल निर्माण गरिसकेको छ भने बाँकी रहेको क्षेत्रमा पनि कङ्क्रिट वाल निर्माण गर्दै जाने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।