भोजपुर, असार ९ गते । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो ।
आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएपछि उत्साह बढेको स्थानीयवासी सूर्य राईले बताउनुभयो । पक्की भवन बनेपछि सहज रूपमा सेवा पाउनेमा आशावादी रहेको उहाँको भनाइ छ । यो स्वास्थ्यचौकी नहुँदा विगतमा सामन्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
“हाम्रो ठाउँमा स्वास्थ्यचौकी नै थिएन”, उहाँले भन्नुभयो, “स्थानीय तह कार्यान्वयनमा आएपछि स्वास्थ्यचौकी स्थापना भयो । तर भवन नहुँदा हामीलाई समस्या थियो । नयाँ पक्की भवन बनेपछि उत्साह थपिएको छ ।”
रामप्रसाद राई गाउँपालिका–८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । देशमा सङ्घीयता आएपछि यहाँ स्वास्थ्यचौकी स्थापना गरिएको छ । तर स्वास्थ्यचौकीको भवन नहुँदा सेवा प्रवाहमा समस्या रहँदै आएको थियो । वडाको पहलमा यहाँ प्रदेश सरकारबाट प्राप्त रु. २५ लाख बजेटमा चारकोठे पक्की भवन निर्माण भइरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । भवन निर्माणको काम अन्तिम चरणमा छ । विगतमा यहाँ स्वास्थ्यचौकी नहुँदा धेरै समस्या भएकाले आफूले वडाको जिम्मेवारी लिएपछि स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।
दक्षिणी क्षेत्रमा पर्ने यो ठाउँ भोजपुर सदरमुकामबाट ५० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक रहेकाले यहाँका नागरिकलाई सदरमुकामसम्म स्वास्थ्य सेवा लिन आउन निकै समस्या छ । यहाँ नै स्वास्थ्यचौकीको आफ्नै भवन निर्माणपछि सेवा लिन सहजहुने स्थानीयको भनाइ छ । रासस