• ९ असार २०८२, सोमबार

स्थानीय तहको बजेट

ललितपुरले आइटी क्षेत्रमा विशेष कार्यक्रम ल्याउँदै

blog

काठमाडौँ, असार ९ गते ।  ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२-८३ को बजेट सूचना प्रविधिमा केन्द्रित बजेट ल्याउने बताएको छ ।  

ललितपुर महानगरपालिकाको प्रवक्ता राजु महर्जनका अनुसार आगामी आर्थिक वर्षका लागि वडास्तरीय सार्वजनिक सुनुवाइको कार्यक्रम सम्पन्न भइसकेको छ । उहाँले सबै वडाले महानगरपालिकामा बजेट पेस गरिसकेको जानकारी दिनुभयो । 

प्रवक्ता महर्जनले भन्नुभयो, “महानगरपालिकाले बजेटको प्रक्रिया अगाडि बढाउन जानकारी तथा सुझाव लिने हिसाबले सार्वजनिक सुनुवाइ भइसकेको छ । सम्बन्धित सम्पूर्ण सङ्घ, संस्थाहरूसँग के कसरी जाने ? नयाँ कार्ययोजना कसरी बनाउने ? भनेर बैठक बसिसकेको छ । ललितपुर जिल्लाका सम्पूर्ण सांसद, प्रदेश सांसदहरूसँग पनि एक चरण बैठक बस्यौं ।”

उहाँले यी सम्पूर्ण सुझावहरू महानगरपालिकाको कार्यपालिका बैठकमा पेस भएको जानकारी दिनुभयो । अब महानगर प्रमुखको संयोजकत्वमा रहने सीमा निर्धारण समितिले सो बजेटको तर्जुमा गर्ने छ । 

उहाँले भन्नुभयो, “सीमा निर्धारण भइसकेपछि सिलिङ पनि तोकेको अनुसार योजना तर्जुमा समितिमा छलफल हुन्छ । विषयगत समिति र वडा कार्यालयहरूको नगरस्तरीय योजना, प्रशासनिक खर्च, चालु खर्च, बजेट तर्जुमा समितिले छुट्याउनुपर्ने छ । त्यसको लागि हामीले नीति पेस गर्नुपर्छ ।” उहाँले असार ६ गतेको नगरसभा बैठकमा सम्पूर्ण नीतिहरु सांसदमार्फत पेस गरिएको र अहिले यो अध्ययनको क्रममा रहेको बताउनुभयो । 

उहाँका अनुसार ललितपुर महानगरपालिकामा सूचना, प्रविधिसम्बन्धी काम गर्ने युवाको सङ्ख्या बढी भएकाले यसै क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बजेटका कार्यक्रम ल्याइएको छ । 

उहाँले भन्नुभयो, “अहिले महानगरपालिकामा आइटीसम्बन्धी काम गर्ने युवाहरू धेरै बढेको छ । ती युवालाई फोकस गरेर महानगरपालिकामा जो जो आइटी क्षेत्रमा लगानी गर्नुुहन्छ, उहाँहरूका लागि विशेष कार्यक्रम ल्याउँदैछौं । अनलाइन जब लगायत अनलाइनसम्बन्धित कामहरू हुन सक्छ । ती युवा जो काम गर्न योग्य, दक्ष छन् उनीहरूलाई बाटो बनाइदिनपर्छ, यही रोजगारीको ग्यारेन्टी गर्नुपर्छ भन्ने हिसाबले यस क्षेत्रमा कार्यक्रम ल्याउने हाम्रो योजना छ ।”

काठमाडौँ महानगरपालिकाको योजना अनुगमन तथा मूल्याङ्कन एकाइका विभागीय प्रमुख सुमित्रा लामिछाने सुवेदीले विभागका बजेट सम्बन्धमा विषयगत समितिमा छलफल भएको जानकारी दिनुभयो । समितिबाट उक्त बजेट योजना अनुगमन, मूल्याङ्कन एकाइमा सङ्कलन भइरहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “विभागका बजेट विषयगत समितिमा छलफल भएको छ । सबै विभागबाट समितिमा छलफल गरेर योजना, मूल्याङ्कन एकाइमा सङ्कलन भइरहेको छ । सबै विभागको बजेट बनिसक्यो । अब बजेट तर्जुमा समितिमा छलफल हुन्छ ।”

उहाँले उक्त बजेटमाथि स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठकले सीमा निर्धारण गर्ने बताउनुभयो । तत्पश्चात् महानगरको औपचारिक बैठक बसेर बजेट सम्बन्धमा निर्णय गर्नेछ । यो प्रक्रिया भने बाँकी रहेको उहाँको भनाइ छ । 

भक्तपुर नगरपालिकाको दुई अर्ब

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ को लागि दुई अर्ब ४७ करोड ३१ लख ११ हजार बजेट सार्वजनिक गरेको छ । जस अन्तर्गत चालु खर्चतर्फ एक अर्ब ५२ करोड ५३ लाख ११ हजार रुपियाँ अर्थात् ६१.६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख रुपियाँ अर्थात् ३२.५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५.७८ प्रतिशत विनियोजन गरेको छ । 

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा आइतबार बसेको १८ औँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय प्रस्तुत गर्नुभएको हो । 

भक्तपुर नगरपालिकाले शैक्षिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ र यसका लागि ५४ करोड चार लाख ६३ हजार रुपियाँ अर्थात् कुल बजेटको २१.८५ प्रतिशत बजेट विनियोजन गरेको छ । 

यस्तै, ख्वप अस्पताललाई आधुनिक सुविधासम्पन्न तथा स्तरीय बनाउन पाँच करोड बजेट विनियोजन भएको छ । रात्रीकालीन बत्ती व्यवस्थाका लागि एक करोड, सम्पदा पुनः निर्माण तथा संस्कृति संरक्षणमा १२ करोड ६८ लाख ५० हजार रुपियाँ विनियोजन भएको छ । 


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।