गुणबहादुर रोका
सुलीकोट, असार ९ गते । गोरखामा अविरल वर्षाका कारण गोरखा–नाम्जुङ–घैरुङ– मनकामना सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण शहिद लखन गाउँपालिका–७ बुङकोट ढुङ्गाडे भञ्ज्याङ सडकमा सोमबार बिहान ५ बजे सडक भासिएर पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रातभरि परेको अविरल वर्षाले गोरखा सदरमुकामबाट छुटेका विभिन्न सवारीसाधनहरु बिच बाटोमै रोकिएको उहाँले बताउनुभयो ।
‘‘सडक चिराचिरा भएर भासिएको छ । ठुलो पहिरो गएका कारण तत्काल पन्छाउन सकस देखिएको छ,’’ प्रहरी नायब उपररीक्षक सुवेदीले भन्नुभयो, ‘‘शहिद लखन गाउँपालिकाका तथा नेपाल प्रहरी, पूर्वाधार कार्यालय गोरखालगायत सम्बन्धित निकायमा छलफल गरेर सडक खुलाउन प्रयास भइरहेको छ ।’’
उक्त सडक क्षेत्रमा शहिद लखन गाउँपालिका र पूर्वाधार कार्यालय गोरखाको सहयोगमा सवारीसाधन सुचारु गर्न प्रयास भइरहेको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको जेसिबी प्रयोग गरी अबको केही समयमा एकतर्फी रुपमा भए पनि सडक सुचारु गरी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।
झण्डै पाँच घण्टादेखि यात्रुबाहक सबारी साधनहरु रोकिएर बसेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोका कारण गोरखा मनकामना सडक पूर्णरुपमा बन्द भएको छ । निरन्तर रुपमा गाउँपालिकाको जेसिबीले पहिरो पन्छाएर वैकल्पिक मार्ग बनाएर पनि सडक सुचारु गर्न लागिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष थापामगरले बताउनुभयो ।