केदार तिमल्सिना
बनेपा, असार ९ गते । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्डको काममा सुस्तता आएको छ ।
सडक विस्तारको काम सुरु गरिएको साढे दुई वर्षमा राजमार्गको साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा करिब ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सूर्यविनायकदेखि साँगासम्म करिब ३७ प्रतिशत मात्रै भौतिक प्रगति भएको हो । निर्माण सम्झौताको म्याद छ महिना बाँकी रहँदा राजमार्ग विस्तारको बाँकी ५० प्रतिशत काम कसरी सम्पन्न गर्ने भन्ने चुनौतीसमेत थपिएको छ ।
बाँकी समयमध्ये असार र साउन महिना वर्षायामको समय भएकाले उक्त दुई महिनामा सडक विस्तारको काम नहुने देखिएको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजना भक्तपुरका इन्जिनियर विष्णुप्रसाद खनालले अरनिको राजमार्गको साँगादेखि धुलिखेलसम्मको साढे आठ किलोमिटर सडकखण्डमा हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले उक्त सडकखण्डमा सडकमा पर्खाल लगाउने, नाली बनाउने, खानेपानी, विद्युत् पोल हटाउन, ढल व्यवस्थापन तथा सडक सीमामा रहेका संरचना हटाउने काम सम्पन्न गरिएको बताउनुभयो ।
उहाँले साँगादेखि धुलिखेल सडकखण्डको धुलिखेलदेखि बाँसघारीसम्मक करिब एक किलोमिटर सडक कालोपत्रे गरिएको बताउनुभयो । “हामीले असार मसान्तसम्म काभ्रेपलाञ्चोक जिल्लामा रहेको साँगादेखि धुलिखेलसम्मको करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेका थियौँ तर प्री मनसुनका कारण यो काम हुन सकेन,” इ. खनालले भन्नुभयो ।
उहाँले धुलिखेल, बनेपाको बुडोल र जनागाल क्षेत्रमा कालोपत्रे गर्ने तयारी गरे पनि बुडोलमा सडक सीमामा रहेको संरचना हटाउन ढिलाइ भएको र जनागालमा कालोपत्रे गर्ने तयारी भइरहँदा ठुलो पानी परेर सडक सुक्न समय लागेको र वर्षा भइरहेकोले कालोपत्रे गर्न समस्या भइरहेको बताउनुभयो । उहाँले वर्षाका कारण असार महिनामा खासै काम हुन नसकेको बताउँदै अहिले बनेपाको बुडोल क्षेत्रमा मेसिनरीवाल र नाली जोड्ने काम भइरहेको बताउनुभयो ।
“साँगादेखि धुलिखेलसम्मको निर्माणको ठेक्का पाएको निर्माण व्यवसायीको समयसीमा पुस महिनासम्म रहेको छ, यो समयावधिमा उसले सडकको काम सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ, यदि वर्षा लम्बियो भने समयमै काम सम्पन्न गर्न समस्या हुने देखिन्छ,” इ. खनालले थप्नुभयो । उहाँले काभ्रेपलाञ्चोकतर्फको निर्माण व्यवसायी कम्पनीलाई धुलिखेलमा गरिएको कालोपत्रेलगायतको कामको गरी करिब १५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकतर्फ गरिएको कामको करिब ४० प्रतिशत मात्रै आर्थिक प्रगति भएको बताउनुभयो । यसै गरी अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको खण्डमा हालसम्म करिब ३७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । भक्तपुर खण्डमा सडकमा टेवा पर्खाल, नाली निर्माण, राजमार्गको सीमामा रहेका संरचना हटाउने काम भइरहेको बताउनुभयो । उहाँले भक्तपुर खण्डमा विशेष गरी साँगा क्षेत्रमा केन्द्रित भएर काम भइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर खण्डमा सबबेस हाल्ने तयारी गरे पनि वर्षाका कारण समस्या भएको बताउनुभयो । इ. खनालले आयोजनाले वर्षाको समयमा विशेष गरी साँगा क्षेत्रमा समस्या हुने देखिएकोले उक्त क्षेत्रमा वर्षाका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा निर्माण व्यवसायीको कार्यक्षेत्रमा रहेका उपकरण प्रयोग गरेर तुरुन्त राजमार्ग सुचारु गरिने बताउनुभयो ।
उहाँले राजमार्ग विस्तारको काम गरेका निर्माण व्यवसायीलाई काम गरेबापतको रकम भुक्तानी गर्नका लागि बजेट अभाव भएका कारण मन्त्रालयसँग थप बजेट माग गरिएको बताउनुभयो । उहाँले राजमार्ग विस्तारका व्रmममा विभिन्न विषयमा विवाद भएका कारण विस्तारको काममा ढिलाइ भएको बताउनुभयो । अहिले पनि बनेपा क्षेत्रमा सडकको मध्यविन्दु (सेन्टर प्वाइन्ट) विषयलाई लिएर विवाद भएका कारण बनेपा क्षेत्रमा काम हुन सकेको छैन ।
अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी साढे दुई वर्षदेखि सडक विस्तारको काम हुँदै आएको छ । सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि आशिष कुमार श्रेष्ठ/बन्धन/भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा २०७९ पुस महिनादेखि काम गर्दै आएको छ ।
यस्तै काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि सडक विस्तारको काम गर्दै आएको छ । साँगादेखि धुलिखेलसम्मको जिम्मा पाएको लामा कन्स्ट्रक्सनको सम्झौता २०८२ मङ्सिर र सूर्यविनायकदेखि साँगासम्मको सडकको जिम्मा पाएको आशिष कुमार श्रेष्ठ/बन्धन/भगवती जेभीको सम्झौता २०८२ पुस महिनामा सकिने आयोजनाले जनाएको छ ।