• १३ मंसिर २०८१, बिहिबार

जनभावना बुझेका पार्टीलाई मत दिन आग्रह

blog

चितवन समाचारदाता

चितवन, वैशाख ५ गते । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पुराना स्थापित राजनीतिक दलले मात्र देशको विकास गर्न सक्ने बताउनुभएको छ। 

चितवनको निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसार कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्वमन्त्रीसमेत रहनुभएका नेता विष्टले पुराना पार्टीका नेताले मात्र विकास गर्न सक्ने देखिएको दाबी गर्नुभयो । कहिलेकाहीँ पुराना पार्टीलाई सचेत पार्न जनताले मत नदिन सक्ने भन्दै उहाँले चितवनका जनताले सबै बुझेको बताउनुभयो। जनताको आधारभूत आवश्यकता, भविष्य निर्माणमा एमाले मात्रै सक्षम रहेको बताउनुभयो। 

निर्वाचनमा मत दिँदा लहड र भावनामा होइन, खासमा कसले विकास गर्छ, कुन पार्टीको स्थायित्व छ र काम गर्न सक्ने क्षमता कुन उम्मेदवारसँग छ भन्ने कुरा बुझ्नुपर्ने उहाँले बताउनुभयो। 

देशमा भएका परिवर्तनमा भूमिका निर्वाह गरेका, देश निर्माणका लागि प्रस्ट खाका बोकेको, योजना भएको पार्टीले मात्र जनताको अवस्था परिवर्तन गर्न 

सक्ने बताउनुभयो। 

उपनिर्वाचनले पार्टीको सिटमा खासै ठूलो परिवर्तन नगरे पनि आफ्ना प्रतिनिधिले जनताको आवश्यकता पूरा गर्न कुन सक्षम छ भन्ने कुरा बुझ्नुपर्ने बताउनुभयो। “उपनिर्वाचन किन भएको छ, कसको कारणले भएको हो भन्ने कुरा मतदाताले ख्याल गर्नुपर्छ,” उहाँले भन्नुभयो।