बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख ५ गते । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाली भएको छ वर्ष भएको छ। पहिलो पटक निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गरेका छन् भने दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधिले पनि एक वर्ष पूरा गर्नै लागेका छन्।
नेपालको संविधानले स्थानीय तहका अधिकार र जिम्मेवारी स्पष्ट रूपमा तोकेको छ। अघिल्लो शासन प्रणालीअन्तर्गतका स्थानीय निकाय थप अधिकार र जिम्मेवारीका साथ सशक्त स्थानीय सरकार बनेका छन्।
अधिकार र जिम्मेवारीका आधारमा ‘गाउँगाउँमा सिंहदरबार’ भनिने गरे पनि स्रोत, साधन र पूर्वाधारका हिसाबमा भने स्थानीय सरकार कमजोर नै छ। भर्खर केही पूर्वाधार तयार भई स्थानीय सरकारको सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ।
स्थानीय ‘सिंहदरबार’ भनिने स्थानीय तहका प्रशासनिक भवन भने धमाधम तयार हुँदै छन्। सिन्धुली जिल्लाका नौवटा स्थानीय तहमध्ये आठवटाले आधुनिक शैलीमा आफ्नै प्रशासनिक भवन निर्माण गरेका छन्।
आठवटाको आफ्नै भवन
दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुली जिल्लामा आठ स्थानीय तहले प्रशासनिक भवन निर्माण गरेका हुन्। दुई नगरपालिकामध्ये कमलामाईको भने पहिलेदेखि नै आफ्नै प्रशासनिक भवन थियो भने दुधौलीले नयाँ भवन निर्माण गरेर सेवा दिन थालेको छ।
दुधौली नगरपालिकाले आफ्नै स्रोतबाट पाँच करोड रुपियाँ लगानी गरेर प्रशासनिक भवन निर्माण गरेको उपप्रमुख चन्द्रकिशोर थारूले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को विषयगत कार्यालयको भवन भने नगरपालिका र सङ्घीय सरकारको १५ करोड रुपियाँ लागतमा धमाधम निर्माण भइरहेको छ। यो भवन भने निर्माण पूरा गर्न अझै एक वर्षजति लाग्ने अनुमान गरिएको छ।
सिन्धुली जिल्लाका सात गाउँपालिकामध्ये मरिण, सुनकोशी, गोलन्जोर, फिक्कल, हरिहरपुरगढी र तीनपाटन गाउँपालिकाले प्रशासनिक नयाँ भवन निर्माण गरेका छन्।
सुनकोशी गाउँपालिकाले पनि छ महिनाअघि मात्रै आधुनिक नयाँ भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह सञ्चालन गरेको जनाएको छ। मरिण गाउँपालिकाले पनि डेढ वर्षअघि आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी दैनिक प्रशासनिक काम र सेवा प्रवाह सञ्चालन गर्दै आएको छ।
तीनपाटन गाउँपालिकाले सेवाग्राहीलाई सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न भर्खर सुरु गरेको छ । तीन वर्षअघि निर्माण सुरु भएको उक्त प्रशासनिक भवन भर्खर निर्माण सम्पन्न भएपछि नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको हो। उक्त भवन निर्माण सम्पन्न हुनुअघि गाउँपालिकाकै सभा हलको एउटै कोठाबाट विषयगत सबै शाखा सञ्चालन हुँदा सेवाग्राहीको भिड हुने गरेको थियो। अहिले एउटै भवनको विभिन्न कोठाबाट विषयगत शाखाले सहज सेवा दिँदा सेवाग्राही पनि दङ्ग छन्।
तीनपाटन गाउँपालिका–११, चकमकेका वीरबहादुर कार्कीले भन्नुभयो, “अहिले नयाँ भवन, त्यसमाथि पनि सबै शाखाका लागि छुट्टाछुट्टै कोठा छन्। आलिसान भवनभित्र सेवा लिन भित्र छिर्दा छुट्टै आनन्द आउँछ।”
यो प्रशासनिक भवन पाँच करोड ५३ लाख रुपियाँ लागतमा निर्माण भएको हो। यसमध्ये दुई करोड १६ लाख रुपियाँ राष्ट्रिय योजना आयोगको सहयोग रहेको छ भने बाँकी गाउँपालिकाको आफ्नै लगानी रहेको छ।
तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरका अनुसार सुरुमा गाउँपालिकाको केन्द्र रहेको चकमके बजारमा निजी घर भाडामा लिएर सेवा प्रवाह गरिएको र वार्षिक १९ लाख रुपियाँ भाडा बुझाउनु परेको जानकारी दिनुभयो। अहिले नयाँ भवन निर्माण भएपछि एकीकृत सेवा प्रवाह भएको र सेवाग्राहीलाई समेत सहज भएको उहाँले बताउनुभयो।
घ्याङलेखमा निर्माण हुँदै
सिन्धुलीकै घ्याङलेख गाउँपालिकाले भने दुई महिनाअघि मात्रै आफ्नो प्रशासनिक भवन निर्माण सुरु गरेको छ। पाँच करोड ७७ लाख रुपियाँको लागतमा बन्ने यो भवन तीन वर्षभित्रै निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो।
घ्याङलेख गाउँपालिकाको सेवा प्रवाह सुरुमा विद्यालय भवनबाट गरिएकोमा अहिले वडा कार्यालयको भवनबाट प्रशासनिक कामको सेवा प्रवाह गरी काम चलाएको उहाँले बताउनुभयो।