• ९ मंसिर २०८१, आइतबार

सामाजिक घटनाहरूको दस्तावेज

blog

मान्छेभित्र उम्लिएका कुण्ठा, आक्रोस मिसिएका कथाहरूको सङ्ग्रह हो कथाकार नवराज रिजालको ‘अब उप्राप्त’ कथासङ्ग्रह । साहित्यक पत्रकारितामा दत्तचित्त भएर लागिपरिरहेका रिजालका ‘अब उप्रान्त’ कथा सङ्ग्रहमा १७ वटा कथा सङ्ग्रहित छन् । कथामा नेपाली समाजमा रहेका सामाजिक, राजनीतिक, मानसिक, आर्थिक, समसामयिक विसङ्गतिमाथि सशक्त प्रहार गरिएका छन् । समाजमा सामाजिक, राजनीतिक समस्या विकराल हुन्छन् र त्यसको सामाधान पनि यही राजनीति र समाजबाट गरिएन भने समाजमा अनेक बेथिति उत्पन्न हुन्छन् । समाज र समाजका मान्छेकै कारण घरपरिवारमा बेथिति मौलाएको छ । समकालीन कथाहरूमा राजनीतिले परेको प्रभाव राम्रै गरी व्यक्त गरिएको भेटिन्छ । आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक पार्टी र तिनका भ्रातृसङ्गठनहरू देशभर बन्द, हड्ताल गर्छन् । गरिखाने साधारण नागरिक र दिनभर श्रम गरेर छाक टार्ने श्रमिकलाई कस्तो प्रभाव पार्छ ? आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सर्वसाधारणलाई  दिएको सास्ती ‘राप’ कथाको सारांश हो । राजनीतिक मात्र नभई सामाजिक विसङ्गति पनि समाजमा उत्तिकै छ । 

बोक्सीको नाममा मलमूत्र खुवाउनु र सामाजिक अन्धविश्वास अझै व्यापक छ समाजमा । मान्छेका अनगन्ती चाहना हुन्छन् तर ती चाहना कहाँ पूरा हुन्छन् र ! सपना कथाकी पात्र विमलाको आफ्नो चाहना पूरा नभएको ‘विपना’ हो । सरल भाषामा उनिएका प्रयोगशील यी कथाहरू हाम्रो जीवनले भोगेका परिघटनाहरू हुन् । साँचै आजको समाज विचित्रको छ । समर्पण, सेवा, सहयोगभन्दा पनि स्वार्थ, आशक्ति, पदलोलुपता छ समाज । मान्छेले समाजमा जति सेवा र समर्पण गरे पनि स्वार्थीको नजरमा स्वार्थ बाँचेसम्म सद्भाव र समर्पणले ठाउँ पाउँदैन । आजको राजनीति फोहोरी र व्यक्तिवादी गुटबन्दीमा रुमलिएको छ । जो ठूलाबडाको गुलामी र चाप्लुसी गर्छ उनै योग्य र उचो ठहरिन्छ । ‘सिफारिस’ कथा पार्टीमा योगदान गर्ने कार्यकर्ताभन्दा आयातीत, जनताबाट तिरस्कृत एवं स्वार्थी जुनियर नेता, कार्यकर्ताले चुनावमा टिकट पाउँछ । किनभने ऊ लामा हात गरेर कमाउँछ र टाउकेको मन जित्छ । टाउकेलाई पनि इमानदार र दस्तुर नबुझाउने सिनियर कार्यकर्ताभन्दा बुझाउने र रिसाउने जुनियर कार्यकर्ता प्यारो हुन्छ । हो यी कथाहरू राजनीति र सामाजिक घटनाहरूको चित्र कोरिएका कथाहरू हुन् । कथामा जीवनले भोगे देखेका प्रतिस्पर्धा, असन्तुष्टि, निराशा, कुण्ठा, सङ्घर्ष र अभावका प्रतिविम्ब तथा तस्बिरहरू खिचिएझैँ लाग्छन् । अभाव, चिन्तन र प्रतिस्पर्धाले समाज र समाजको मान्छे द्वन्द्वग्रस्त छ । मान्छे अफ्ठ्यारो बाटो हिँड्दै विडम्बना र कष्ठपूर्ण जीवन जिउन वाध्य छ । यस्तो जीवन जिउने मान्छेको यात्रालाई टपक्क टिप्न कथाकार सक्षम देखिन्छन् । सामाजिक जीवनमा रहेको आवश्यकताभन्दा बढीको भौतिक सुख–सुविधा र परदेश मोहले विदेश पलायन हुनेहरूको सङ्ख्या दिनप्रति दिन बढ्दो छ, गाउँ सहर रित्तिँदो छ । गाउँ बूढापाकाले भरिएको छ । सहर युवा पलायनले भविष्यमा वृद्धवृद्धाहरूको आवास बन्ने खतरामा छ । प्रतिभा पलायनको समस्या पनि यी कथामा कुनै न कुनै तरिकाले प्रस्ट पार्न खोजिएको छ । कथामा गन्थन छैन बरु जीवनका भोगाइका घटनाहरू जस्तै लाग्ने यी कथामा शैलीगत नवीनताले भरिएका छन् । साहित्यमा मानवीय मूल्यको आत्मसात गर्ने कथाकार नवराज रिजालको कथासङ्ग्रह ‘अब उप्रान्त’ पठनीय सुन्दर कृतिका रूपमा लिन सकिन्छ । 


कृति: ‘अब उप्रान्त’ 

विधा:  कथासङ्ग्रह

कथाकार: नवराज रिजाल

प्रकाशक: अक्षरधाम प्रकाशन, काठमाडौँ

मूल्य: ५००÷–

पृष्ठ :१६८

Author

होमशङ्कर बास्तोला