• ७ वैशाख २०८२, आइतबार

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

blog

काठमाडौँ, वैशाख २ गते । कान्ति बाल अस्पताल ‘बाल स्वास्थ्य अध्ययन संस्थान’मा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिनुभयो । उहाँका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपियाँ खर्च भएको छ । 

डा. बसौलाले बाल अध्ययन संस्थान निर्माणका लागि नौ अर्ब ३० करोड रुपियाँ लागत खर्च हुने उल्लेख गर्नुभयो । उहाँले कुल बजेटमध्ये २५ प्रतिशत बजेट आगामी वर्षका लागि माग गरिएको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षबाट काम सुरु गर्ने गरी प्रस्ताव तयार गरिएको जानकारी दिँदै उहाँले उक्त बजेटमा छवटा भवन बन्ने उल्लेख गर्नुभयो । उहाँले हाल कान्ति बाल अस्पतालको ९५ रोपनी क्षेत्रफलमा संस्थानको भवन निर्माण गरिने जानकारी दिनुभयो । 

परियोजनाका अनुसार पहिलो तीनवटा ए, बी र सी ब्लकमा अस्पताल सञ्चालन हुने छन् । तीनवटै ब्लकमा गरी कुल एक हजार बेड सञ्चालन हुने बताइएको छ । उहाँका अनुसार एउटा ब्लकमा शैक्षिक संस्था हुनेछ भने अर्को ब्लकमा होस्टल तथा कर्मचारी निवास रहने छन् । 

अध्ययन संस्थानसम्बन्धी डीपीआर एक वर्षको अवधिमा पूरा भएपछि बाल स्वास्थ्य अध्ययन संस्थान स्थापना हुने निश्चित भएको छ । आर्थिक वर्ष २०७७/७८ मा सरकारले नीति तथा कार्यक्रम तथा बजेटमा घोषणामार्फत कान्ति बाल अस्पताललाई संस्थानमा परिणत गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार परियोजनाको डीपीआर तयार भएर संस्थानको काम थालनी भएको हो । २०७९ फागुन ११ गतेदेखि सुरु भएको डीपीआरको काम २०७९ फागुन २५ गते सम्पन्न भएको थियो ।

सरकारलाई बुझाएको अवधारणापत्रमा नेपालको सातै प्रदेशका बालबालिकाको रिफरल अस्पतालका रूपमा विकास गर्ने, बाल स्वास्थ्यको सबै विशिष्टीकृत सेवा उपलब्ध गराउने, देशका सबै बाल अस्पताल, विभाग, एकाइका लागि आधारभूत मापदण्ड तथा उपचार निर्देशिकाहरू तयार पारेर लागू गराउने उल्लेख छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बाल स्वास्थ्य संस्थानलाई बाल स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन अध्यापन गरी बाल स्वास्थ्य अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बताउनुभयो । उहाँले कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थान भएपछि बाल उपचारको राष्ट्रिय नीति तर्जुमा गर्न सहज हुने बताउनुभयो । संस्थानले बाल स्वास्थ्य शैक्षिक केन्द्रका रूपमा सञ्चालनमा ल्याउने भन्दै पौडेलले बाल स्वास्थ्य संस्थानको अवधारणामा एमडी/एमएसलाई पूर्ण क्षमतामा सञ्चालन गरी उच्च शिक्षाको कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।