• १५ चैत २०८०, बिहिबार

नव वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

blog

काठमाडौं, वैशाख १ गते।  गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह आयोजना गरेको छ। विभागले तोकिएको समय अर्थात् ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता अनिवार्य रुपमा गराउनुपर्छ भन्ने सन्देश प्रवाह सप्ताह आयोजना गरिएको जनाएको छ। 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक एवम् सूचना अधिकारी कृष्ण पौडेलले नयाँ वर्षको अवसर पारेर सप्ताह आयोजना गर्नुको मुख्य उद्देश्यबारे भन्नुभयो, “व्यक्तिगत घटना दर्ता व्यक्ति र राज्यका लागि महत्वपूर्ण कार्य हो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन र सो भन्दा अगाडिका यस सम्बन्धी ऐनहरुले पनि कुनै पनि घटना घटेको ३५ दिनभित्र घटना दर्ता गर्नुपर्छ भन्ने व्यवस्था राखेको छ।” उहाँले आफूलाई चाहेको बेला मात्र व्यक्तिगत घटना दर्ता गर्ने अवस्था विद्यमान रहेकाले यो सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो। 

उहाँले व्यक्तिको जीवनमा घट्ने पाँच प्रकारको घटना जस्तै जन्म, मृत्यु, विवाह, बसाइँसराई र सम्बन्ध विच्छेद सम्बन्धी घटना घटेको ३५ दिनभित्र घटना दर्ता गर्नुपर्ने व्यवस्था ऐन तथा कानुनमा उल्लेख रहेको बताउनुभएको हो। 

उहाँले भन्नुभयो, “हाम्रो चलन जहिले चाहिन्छ त्यही समयमा मात्रै गर्ने छ, जसले गर्दा राज्यले समयमै अभिलेख पनि पाएन। दर्ता ढिला हुँदा व्यक्तिलाई पनि अनेक किसिमका समस्या देखा परे। ती विषयमा सचेतना गराउने उद्देश्यले”, समयमै व्यक्तिगत घटना दर्ता हुँदा राज्यले समयमै आवश्यक अभिलेख प्राप्त गर्ने र व्यक्ति स्वयम्ले पनि पछि थप झन्झट खेप्नु नपर्ने उहाँको भनाइ छ। 

उहाँले समयमै राज्यलाई नागरिकको घटनाबारे अभिलेख प्राप्त हुँदा राज्यबाट पाउने सेवा, सुविधा र नीति निर्माणमा पनि टेवा पुग्ने बताउनुभयो। “नागरिकले पनि समयमै आफ्नो व्यक्तिगत घटना दर्ता ग¥यो भने राज्यबाट पाउने सेवा, सुविधा साथै आफ्नो व्यक्तिगत पहिचान पनि अझै महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा जनचेतना अभिवृद्वि गर्ने उद्देश्यले हरेक वर्षको वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँछौं’’, उहाँले भन्नुभयो। 

यही शिलशिलामा २०८० वैशाख १ गते शुक्रबारदेखि सात दिनसम्म यो सप्ताह मनाइने उहाँको भनाइ छ। यो सम्बन्धी सचेतना अभिवृद्वि गर्न राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र सचिवलगायत सरकारका उच्च पदस्थ व्यक्तिको शुभकामना सन्देश प्रकाशन तथा प्रसारण गर्ने कार्यक्रम अनुसार गोरखापत्र लगायतका पत्रपत्रिका तथा सञ्चार माध्यममा प्रकाशन भएको छ। 

यसअघि विभागले तयारी गर्दै आएको आन्तरिक योजना अनुसार देशका ७७ वटै जिल्लाका वेबसाइटहरुमा यस सम्बन्धी सूचनामूलक सन्देश प्रसारण गर्ने उहाँले बताउनुभयो। 

व्यक्तिगत घटना दर्ताको काम स्थानीय तहमा हुने भएकाले सबै स्थानीय तहमा सूचनामूलक सन्देश प्रवाहका लागि विभिन्न कार्यक्तम गर्न विभागले आग्रह गरेको छ। उहाँले व्यक्तिगत घटना दर्ता सप्ताह चलिरहेको अवधिमा अनिवार्य रुपमा व्यक्तिले घटना दर्ता गराउनैपर्ने भन्ने नभई घटना घटेको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु मूल उद्देश्य रहेको बताउनुभयो।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।