• ७ जेठ २०८१, सोमबार

बालविवाह रोक्न पञ्च वर्षीय योजना

blog

पञ्च वर्षीय योजना तर्जुमा गोष्ठीका सहभागीहरु । तस्विर : राजन रावत, हुम्ला

राजन रावत

हुम्ला, चैत २९ गते । बालविवाह न्यूनीकरण गर्नका लागि पञ्च वर्षीय कार्ययोजना तयार पारिएको छ । गाउँ गाउँमा बालविवाह बढेपछि त्यसको रोकथाम र न्यूनीकरण गर्नका लागि गाउँपालिकाको पहलमा रणनीति र कार्ययोजना तयार पारिएको हो । 

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले समाजमा बढ्दै गएको बालविवाहलाई रोकथाम गर्न पञ्च वर्षीय कार्य योजना तयार गरिएको बताउनुभयो । बीस वर्षपारि विवाह गर्ने कानुनी व्यवस्था भएको भए पनि त्यो भन्दा कमै उमेरमा विवाह गर्नेको सङ्ख्या बढेपछि कार्य योजना तयार गरी कार्यान्वयन गरेर त्यसलाई न्यूनीकरण अभियानमा गाउँपालिका लाग्न थालेको हो । उहाँले अब रणनीति, कार्ययोजना र कार्यक्रम तय भएको र यसलाई कार्यान्वयनका ल्याउने बताउनुभयो । 

गाउँपालिकाको आयोजनामा उक्त कार्य योजना जनप्रतिनिधि, नागरिक समाज, सामाजिक क्षेत्रमा काम गर्ने निकायको सहभागितामा तयार पारिएको हो । कार्य योजनामा बालविवाह कानुनी कसुर भएको बारे जनचेतना फैलाउन सडक नाटक सञ्चालन गर्ने, बालविवाह विरुद्ध भएका कानुनी व्यवस्था बारे जानकारी गराउने, स्थानीय एफएम रेडियोबाट सन्देश प्रवाह गर्ने, बालविवाह गरेका घटनालाई कानुनी उपचारसम्म पुर्‍याउने, बालविवाह गर्न प्रोत्साहन गर्ने विरुद्ध पनि जनचेतना फैलाउने, बीस वर्षमाथि विवाह गर्नेलाई पुरस्कार तथा सम्मान गर्ने व्यवस्था गर्ने, बालविवाह गर्ने जोडीको परिवारलाई गाउँपालिकाबाट जाने सेवा र सुविधा रोक्का गर्ने, प्रत्येक विद्यालयको वार्षिक कार्य योजनामा बाल विवाह विरुद्धका कार्यक्रमहरू समेट्ने, बालविवाह विरुद्ध अभिभावकलाई सचेतना प्रदान गर्ने लगाएका कुरालाई समेटिएको छ । 

यो कार्य योजनालाई वडा वडामा लगेर कार्यान्वयन गरिनेछ । कार्ययोजना र बालविवाह विरुद्धका कार्यक्रमहरू वडाले पनि सञ्चालन गरिने छ । सिमकोट गाउँपालिका पाँच वर्ष भित्र बालविवाह मुक्त घोषणा गर्ने कार्यक्रम कार्ययोजनामा समेटिएको छ । यसका लागि युनिसेफ नेपालले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।