• ११ साउन २०८१, शुक्रबार

टेलिमेडिसिनमार्फत सेवा लिने बढ्दै

blog

काठमाडौँ, चैत २८ गते  । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरेर सुरु गरेको निःशुल्क टेलिमेडिसिन सेवामा १३७ जनाले सेवा लिएका छन् । 

वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा सञ्चालन गरिएको चिकित्सक परामर्श युनिटले विभिन्न १४ देशमा कार्यरत १३७ नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको हो । बोर्डले चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले देशको केन्द्रीय अस्पताल वीरमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिँदै आएको छ । बोर्डका अनुसार सो अवधिमा टेलिमेडिसिन सेवा लिएकामध्ये सबैभन्दा धेरै साउदी अरब र मलेसियामा कार्यरत श्रमिक छन् । साउदी अरबमा कार्यरत ३५ जना र मलेसियामा कार्यरत ३० जनाले स्वास्थ्य र स्वास्थ्य विशेषज्ञ सेवा लिएको वीर अस्पतालको स्वास्थ्य परामर्श युनिटले जनाएको छ ।

यस्तै संयुक्त अरब इमिरेट्स (यूएई), कतार, रोमानिया, दक्षिण कोरिया, कुवेत, ओमानलगायत १४ देशमा कार्यरत श्रमिकले टेलिमेडिसिन सेवामार्फत परामर्श लिँदै आएका छन् । बोर्डले वीर अस्पतालमा सुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलले विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरै कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यीबाहेक ढाड दुख्ने, हातखुट्टा सुनिने, मुटुको धड्कन बढ्ने, मनोरोगसम्बन्धी समस्या छन् । टेलिमेडिसिनमार्फत सेवा लिने श्रमिकले सुनाएका लक्षणका आधारमा सम्बन्धित विशेषज्ञ चिकित्सकले हेरेर चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराइँदै आएको डा. धरेलले जानकारी दिनुभयो ।  

डा. धरेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकले भनेका समस्या टेलिमेडिसिनका मेडिकल अधिकृतले सुनेर बिरामी श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा हरेक आइतबार र शुक्रबार उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आइतबार र शुक्रबार विदेशी मुलुकमा सार्वजनिक बिदा पर्ने हुँदा ती दिनमा श्रमिकसँग समय हुने भएकाले सेवा उपलब्ध गराउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताउनुभयो । सामान्य स्वास्थ्य समस्यामा उपचार गराउने व्यवस्था नहुँदा वैदेशिक रोजगारीमा गएका कैयौँ श्रमिकको उतै मृत्यु हुने गरेकाले केही भए पनि राहत होस् भनेर यो सेवा सुरु गरेको जानकारी उहाँले दिनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्ष्य गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि–२०७९ स्वीकृत गरेसँगै सेवा दिँदै आएको छ ।  बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्ने व्यवस्था छ । 

विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु¥याउन पहिलो पटक सञ्चालनमा ल्याइएको उक्त सेवा प्रभावकारी बनाउन सजिलो नभएको स्वयं सरकारका अधिकारी नै स्वीकार गर्छन् । बोर्डका कार्यकारी निर्देशक उप्रेतीले नेपालमा रहेका चिकित्सकले विदेशमा रहेका श्रमिकले भनेका कुरालाई आधार मानेर दिने स्वास्थ्य सेवा प्रत्यक्ष भेटेर बिरामी परीक्षण गरेजस्तो प्रभावकारी हुन नसक्ने बताउनुभयो । उहाँले विदेशमा कार्यरत श्रमिक सामान्य स्वास्थ्य समस्याका कारण जटिल अवस्थाको बिरामी हुन नपरोस् भनी टेलिमेडिसिनमार्फत श्रमिकको आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउन थालिएको जानकारी दिनुभयो । बोर्डका अनुसार सार्वजनिक बिदाको दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिँदै आएको छ । विदेशमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिनु परे ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइबर, ह्वाट्सएप, इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि गत पुससम्म ११ हजार ५६२ जनाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ ।