पूर्वी क्षितिजमा बादलका धर्साहरू । मध्यचैतको पारिलो घाम, अपराह्नतिर बिस्तारै डुब्न लाग्दै छ । उजाड बस्तीका ‘आमा’हरूको एक हुल साँझको दालचामल जोहो गर्न थापाथलीचोकतिर लम्किँदै छ । ‘बेल्चा हान्न’ गएकाहरू पनि फर्किने बेला हुँदै छ । साँझ पर्नासाथ काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती ‘गुल्जार’ हुन्छ । नियमित दैनिकी छँदै छ । काममा जाने, साँझमा घर आउने, पैसा हुँदा–नहुँदा जे होस्, जुनेली झल्को धर्तीमा पर्दासाथ सुकुम्बासी बस्ती तीनपाने ‘रमझम’मा उत्रिन्छ । नजिकै प्रहरी बिट छ । होहल्ला नभएसम्म प्रहरीले केही गर्दैन ।
सुकुम्बासी बस्तीमा प्रायः झगडा नभएको दिन हुँदैन तर बिहान सामसुम भइसक्छ । फेरि आ–आफ्नो काममा जाने दैनिकी छँदै छ । दुई–चार गाँस टिपेर काममा जाने हतारो सबैमा देखिन्छ । थापाथली मात्रै होइन, काठमाडौँका सबै ठाउँका सुकुम्बासी बस्तीका कथा आ–आफ्नै छन् । दुई सातासम्म सुकुम्बासी बस्तीको अध्ययनका लागि बिहान, दिउँसो र बेलुका पुग्दा त्यहाँको हृदयविदारक दृश्य पनि देखियो । नेपाली बृहत् शब्दकोषमा सुकुम्बासीलाई ‘घरजग्गा नभएको रैती, घरबाससम्म भएको तर खेती नभएको रैती’ भनिएको छ । शब्दकोषमा सुकुम्बासी बस्तीलाई ‘गाउँ, बासस्थान, घरहरू भएको अथवा मानिस बस्ने ठाउँ, आवादी’ भनिएको छ तर सुकुम्बासी घरजग्गामा नभएका ‘रैती’ मात्रै होइनन्, यो देशका नागरिक हुन् । यो देशमा धेरै पटक मन्त्री भएकाहरूलाई जिताएर सत्ताका ढोका खोलिदिने ‘चाबी’ हुन् । यति हुँदाहुँदै पनि सुकुम्बासी सधैँका सुकुम्बासी हुन् । बिहान–बेलुका दुई छाक खान तातो घाम र मुसलधारे वर्षामा पिठ्युँ थापेर मेहनत गर्ने श्रमिक हुन् । धेरैको घर सम्हाल्ने सेवक हुन् । यति मात्रै होइन, कोरोनाकालपछि रोजगारीको समस्या झेल्न थालेका कतिपय त यौनप्यासीको भोक मेटाउने साधन पनि बनेका छन् । साँझ पर्न नपाउँदै यस्ता कारुणिक दृश्य देखिन्छन् सुकुम्बासी बस्तीको बाहिरी क्षेत्रमा ।
बदलिन्छ मौसम, बदलिरहन्छन् सरकार । बदलिरहन्छन् सुकुम्बासीमाथि आइपर्ने चिसा बिहानीहरू । बागमती, विष्णुमती, धोबीखोला वा अन्य कुनै नदीनाला किनारमा बस्ने सुकुम्बासीको अविराम पीडा सधैँ उस्तै छ तर यसको समाधान कहिले ?
उनीहरूको एउटै उत्तर हुन्छ, “जागिर छैन, विदेश जान पैसा छैन, अहिले त महिला कामदारलाई सरकारले नै जान दिएको छैन, के गर्नु अरू ?” गत साता मात्रै देखिएको त्यो दृश्य र कुराकानीको योभन्दा बढी चर्चा नगरौँ तर विवश भएर ‘गलत पेसा’ अँगाल्नु परेको बाध्यता अहिलेको तितो यथार्थ पक्कै हो ।
बदलिन्छ मौसम, बदलिरहन्छन् सरकार । बदलिरहन्छन् सुकुम्बासीमाथि आइपर्ने चिसा बिहानीहरू । बागमती, विष्णुमती, धोबीखोला वा अन्य कुनै नदीनाला किनारमा बस्ने सुकुम्बासीको अविराम पीडा सधैँ उस्तै छ तर यसको समाधान कहिले ? काठमाडौँ महानगरपालिका–३१, जागृतिनगर टोलस्थित बागमती नदी किनारमा ७० वर्षीया सूर्यमाया गुरुङको होस् वा बालुवाटारको सुकुम्बासी बस्तीकी कान्छीमाया तामाङको पीडा उस्तै छ, समस्या उस्तै छ । वर्षायाममा बाढी र हिउँदमा खोलानदी ढलमा परिणत हुन्छन् । तामाङ भन्नुहुन्छ, “बस्न मन कहाँ छ र ! तर ७६ वर्षकी भएँ, छोराछोरी छैनन्, जाउँ त कहाँ जाउँ ?” काठमाडौँ महानगरपालिकाले बेला–बेला ‘नदी किनार’का सुकुम्बासी बस्ती हटाउन गर्ने ‘बल प्रयोग’ले दिने सास्ती र त्रासदिको सीमा नै छैन । उहाँको प्रश्न छ, “तर हामीसँग अर्को विकल्प पनि छैन नि त !”मङ्सिर दोस्रो साता सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न तनाव साम्य भयो तर सुकुम्बासी बस्तीका बासिन्दामा त्रास कायमै छ । महानगरको सूचना र डोजर आउने डरमै छन् सुकुम्बासी । सुकुम्बासी अभियन्ता हुकुमबहादुर लामा सुकुम्बासीलाई सधैँ त्रासदिपूर्ण अवस्थामा राख्नुभन्दा यसको समाधान खोज्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुकुम्बासीको लगत सङ्कलन गर्ने काममा राष्ट्रिय भूमि आयोग जुटेको छ । लालपुर्जा वितरण गर्ने कि सुकुम्बासीलाई स्थानान्तरण गर्ने हो, त्यो त सरकारले गर्नुप-यो नि !”
व्यवस्थित बसोबास र मनपरि जग्गा किनबेचले सहरको मौलिक पक्ष नासिँदो छ । अर्कोतर्फ सभ्यताको प्रतीक बागमती नदी नमिचिएको ठाउँ छैन । कहीँ जग्गा कारोबारीको नजर परेको छ, कतै सुकुम्बासी बस्तीका कारण बागमती मिचिएको छ ।
महानगर वा कुनै पालिका विशेषले मात्रै सुकुम्बासीको समस्या समाधान गर्न नसक्ने उहाँको तर्क छ । त्यसैले स्थानीय समाधान खोजेर सुकुम्बासी व्यवस्थापन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिलो विकल्प जहाँ छन् सुकुम्बासी, त्यहीँको लालपुर्जा दिनुप-यो, होइन भने उचित ठाउँमा सारेर जग्गा दिनुप-यो कि सरकारले भन्नुप-यो, तिमीहरू यो देशको नागरिक होइन, मलाई भन्नुहोस् त सुकुम्बासीको देश चाहिँ कहाँ छ त ?”
सांस्कृतिक सहरको दृश्य
प्राचीन सभ्यता र मौलिक पहिचान बोकेको काठमाडौँ सहर, पौराणिक ग्रन्थमा वर्णित बागमती नदी तर २१औँ शताब्दीको डिजिटल युगमा सभ्यता र सांस्कृतिक पहिचानको धरोहर काठमाडौँ भूमाफियाका चङ्गुलमा छ । व्यवस्थित बसोबास र मनपरि जग्गा किनबेचले सहरको मौलिक पक्ष नासिँदो छ । अर्कोतर्फ सभ्यताको प्रतीक बागमती नदी नमिचिएको ठाउँ छैन । कहीँ जग्गा कारोबारीको नजर परेको छ, कतै सुकुम्बासी बस्तीका कारण बागमती मिचिएको छ । २०५० कै दशकमा पनि फराकिलो स्वरूपमा बग्ने बागमती नदी किनार ढल वा बर्खे खोल्साको आकारमा आइपुगेको छ ।
सुकुम्बासी अभियन्ता लामा भन्नुहुन्छ, “बागमतीको सुन्दरता, सहरको सुन्दरता जोगाउनु हुन्न भन्ने पक्षमा हामी छैनौँ तर यसका लागि अब विधि बनाउनुपर्छ ।” बागमती नदी किनार मिचेर बस्दा सुन्दरता जोगिन्छ भन्ने प्रश्न गर्दा उहाँको पनि मनगढन्ते उत्तर आउँछ । सुकुम्बासी अभियन्ताले राजनीतिक आवरणमा आफ्नो अभियानलाई निरन्तरता दिइरहेको पाइन्छ । “खोला किनार खाली थियो, त्यहीँ बस्यौँ, अरू कहाँ बस्नु त ?” भन्ने गैरजिम्मेवार जवाफ दिने अभियन्ता लामा र उहाँजस्तै अभियन्ताहरूले सुकुम्बासी व्यवस्थापनलाई चुनौती दिइरहनुभएको छ ।
काठमाडौँ कस्तो बन्नुपर्ने थियो ? अहिले कस्तो छ ? अब कस्तो बन्नुपर्छ ? यी प्रश्नको सरल जवाफ आउँदैन । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले निर्वाचित भएलगत्तै काठमाडौँलाई नमुना सहर बनाउने उद्घोष गर्नु त भयो तर काम अगाडि बढेको छैन । प्रमुख शाहसँग न त योजना नै छ, न दस वर्षपछि काठमाडौँ कस्तो हुने भन्ने दृष्टिकोण नै छ । सहरको सौन्दर्यका लागि सुकुम्बासी बस्तीले दिएको अवरोध छिचोल्ने दीर्घकालीन योजना पनि महानगरले अगाडि सारेको छैन । काठमाडौँ अबको पाँच वर्षपछि कस्तो हुन्छ भनेर कसैलाई सोध्यो भने “अहिले जस्तो छ, त्योभन्दा खराब हुन्छ” भन्ने उत्तर आउँछ । स्थानीयवासीमा चरम् निराशा छ, आक्रोश छ । सबैभन्दा पीडा त आफैँले ‘ठूलो आशा र विश्वास’ गरेर जिताएका ‘मेयर साब’को कार्यशैलीबाट छ ।
कम्तीमा एउटा युवाले हामीलाई व्यवस्थापन गर्छन्, सुकुम्बासीका समस्या सुनेर स्थानान्तरण गरेर काठमाडौँलाई सुन्दर र मौलिक सहरका रूपमा स्थापित गर्छन् भन्ने विश्वास लिएका सुुकम्बासी अहिले आफ्नै ‘मेयर साब’लाई गाली गर्दैछन् । यस्तो अवस्था कसरी आयो ? महानगरले मनन गर्नुपर्छ । हुन त महानगरका प्रवक्ता नवीन मानन्धर सुकुम्बासी बस्ती व्यवस्थापन गर्नेभन्दा पनि हटाउने भनेर सजिलो उत्तर दिनुहुन्छ । महानगरले भनेजस्तो सुकुम्बासी हटाउन सजिलो छैन । यसका लागि राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा स्थानान्तरण गरेर मात्रै महानगर अगाडि बढ्नुपर्छ । साथै सुकुम्बासीसँग राजनीतिक आवरणमा प्रत्यक्ष–परोक्ष रूपमा जोडिएका सरोकारवालासँग पनि निष्कर्ष आउने गरी संवाद गरेर बागमती नदी किनारका सुकुम्बासीलाई हटाउनु नै दीर्घकालीन समाधान हो ।
‘अयोग्य’ भूमि आयोग
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाका अनुसार हाल सात लाख ९७ हजार ७४१ सुकुम्बासीको लगत प्रविष्ट गरिएको छ । धमाधम काम गर्नुपर्ने बेलामा देशभरि एक हजार ५१७ सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नु उहाँ आफ्नो कार्यकालको उपलब्धि मान्नुहुन्छ । उहाँले भन्नुभयो, “भदौ ३१ सम्म काम गरेकै हो । त्यसपछि निर्वाचन आयोगले काम नगर्नू भनेर पत्र पठायो । निर्वाचनपछि राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभयो, मन्त्री भएपछि उहाँले काम नगर्नू भन्नुभयो ।” त्यसो त २०४६ को परिवर्तनपछि आयोगमा जति अध्यक्ष आउनुभयो, सबै राजनीतिक दाउपेचभन्दा माथि उठ्नसक्नु भएन ।
२०४७ मा द्रोणप्रसाद आचार्य र अच्युतराज रेग्मी, २०४८ मा बलबहादुर राई, २०४९ मा शैलजा आचार्य, २०५१ मा ऋषिराज लुम्साली, २०५२ मा बुद्धिमान तामाङ, २०५४ मा चन्दा शाह, २०५४ मा बुद्धिमान तामाङ, २०५५ मा तरणीदत्त चटौत, २०५६ मा गङ्गाधर लम्साल, २०५७ मा सिद्धिराज ओझा, २०५८ मा मोहम्मद अफ्ताव आलम, २०६६ मा गोपालमणि गौतम, २०६८ मा भक्तिप्रसाद लामिछाने, २०७१ मा शारदाप्रसाद सुवेदी, २०७३ मा विक्रम पाण्डे, २०७६ मा देवीप्रसाद ज्ञवालीले आयोगको नेतृत्व सम्हाल्नुभयो । वर्तमान अध्यक्ष निरौला २०७८ मा नियुक्त हुनुभएको हो । उहाँ भन्नुहुन्छ, “हाम्रो प्रयासमा केही कमीकमजोरी पक्कै रह्यो । काम गर्ने क्रममा धेरै अवरोध पनि आए तर हामीले देशभरिको सुकुम्बासी समस्या समाधान गर्ने, काठमाडौँका सबै नदीखोला किनारका सुकुम्बासीलाई व्यवस्थापन गर्नेसहितका काममा प्रतिबद्ध भएर लागेका छौँ ।”
राजधानीजस्तै काठमाडौँ कहिले ?
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकलाई आफ्नो तर्क र प्रश्न राख्ने अधिकार हुन्छ । त्यसैले प्रश्न उठिरहेका छन् । सत्ता सञ्चालनको जिम्मेवारी लिएपछि जुनसुकै पदमा रहे पनि त्यसको जवाफ दिनैपर्ने हुन्छ । गणतन्त्रका लागि जनयुद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ । युवाको प्रतिनिधित्व गर्ने महानगर प्रमुख बालेन शाह हुनुहुन्छ । अब उहाँहरूले एउटा गम्भीर प्रश्नमाथि विवेचना गर्नेपर्ने समय आएको छ । काठमाडौँलाई राजधानीजस्तो कहिले बनाउने ? सौन्दर्य, मौलिक विशेषतासहितको सहर कहिले हुन्छ काठमाडौँ ? प्रश्न अर्को पनि छ, बागमती किनार मिचेर सुकुम्बासी बस्ती राखेर काठमाडौँ व्यवस्थित र सुन्दर
हुन्छ ? यी तमाम प्रश्नको जवाफ खोज्ने, योजना बनाउने र कार्यान्वयन गर्नेतर्फ सङ्घ, प्रदेश र स्थानीय सरकार लाग्नुपर्छ । त्यसो गर्न सके मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लिएर होटलसम्म पुग्दै गरेको पर्यटकले नयाँपन महसुस गर्न सक्छन् । काठमाडौँवासीले प्रदूषणरहित सास फेर्न सक्छन् । ‘चन्द्रमामा रश्मीको दाग’ भनेझैँ सहरको बीच नदी किनारमा सुकुम्बासी राखेर विकासको कुरा गर्नु फगत भाषणबाजी मात्रै हुनेछ ।
हुन त घरजग्गाविहीन नागरिक विश्वका सबै देशमा होलान् तर मुख्यतः राजधानीकै नदीखोला मिचेर बस्ती विकास भएको छ, त्यसको दीर्घकालीन समस्या ज्यादै भयावह हुनसक्छ । त्यसकारण सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्छ । बस्तीका कारण रोकिएको सडक निर्माण, नदीको किनार विस्तारसहित सबै विकास निर्माणको काम अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मुख्य ध्येय हो । सुकुम्बासीका नाममा राजनीति गर्ने र आफ्ना कार्यकर्तालाई जग्गाको धनीपुर्जा दिलाउन तल्लीनहरूको छानबिन गरी स्थायी समाधान खोज्नेतर्फ सरकारको पहलकदमी हुनैपर्छ ।
सुकुम्बासी बस्ती हटाउनैपर्छ
उद्धवप्रसाद तिमल्सेना
कार्यकारी अध्यक्ष,
अधिकारसम्पन्न बागमती सभ्यता विकास समिति
धार्मिक पर्यटनको भरपूर सम्भावनायुक्त बागमती नदीको ऐतिहासिक पक्षलाई हामीले हृदयङ्गम गर्नैपर्छ । काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर अगाडि बढ्दै छौँ । बागमती किनार खाली गराउन भइरहेको २०औँ वर्षदेखिको प्रयास निष्कर्षमा पु¥याउनुपर्छ, त्यसतर्फ हामी केन्द्रित छौँ । मन्त्रीहरू आउँदै हुनुहुन्छ, मन्त्रीहरूसँग समन्वय गरेर काम अगाडि बढाउने छौँ । ऐतिहासिक चिनारी बोकेको सहरको मध्यभागबाट बग्ने नदीको किनारमा अवैध ढङ्गले कसैले बस्न मिल्दैन । विकास निर्माणको व्यवधान हटाउन हामी लागेका छौँ । सुकुम्बासी बस्ती हटाउनैपर्छ । अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिले पूर्वाधार निर्माण गर्न पाउनुपर्छ । हाम्रो कुरा प्रस्ट छ । बागमती नदीमाथि कुनै किसिमको अतिक्रमण हामीलाई स्वीकार्य छैन ।
अतिक्रमित क्षेत्र खाली गर्नुपर्छ
नवीन मानन्धर
प्रवक्ता, काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकालाई सुन्दर र मौलिक सहरको रूपमा विकास गर्नुपर्ने व्यवस्थापकीय जिम्मेवारीप्रति हामी प्रतिबद्ध छौँ । काठमाडौँ महानगरपालिकाभित्र रहेका नदीखोला र सम्पदाको संरक्षण र संवद्र्धन गर्नु हाम्रो दायित्व हो । कहिल्यै आफ्नो जिम्मेवारीबाट भाग्न पनि मिल्दैन । फेरि सांस्कृतिक सहर हो काठमाडौँ । जीवन्त ऐतिहासिक सभ्यता रहेको, देवीदेउतासँग जोडिएको सहर भएकाले पनि हाम्रो संस्कृति र परम्पराको जगेर्ना गर्नु अझ महìवपूर्ण छ । नदीनाला हाम्रो जीवनसँग जोडिएका छन् । त्यसैले पुरानै शैलीमा यसको संरक्षण गर्नुपर्छ । नदीनाला मासिएका छन्, तिनलाई पुनः पुरानै अवस्थामा लानुपर्छ । सभ्यता र मौलिक धरोहर बचाउनुपर्छ । संरचनागत रूपमै सहरलाई मौलिक शैलीमा लानुपर्छ । अतिक्रमण भएका क्षेत्र खाली गर्नुपर्छ । यसमा महानगर प्रक्रिया पूरा गरेर अगाडि बढ्छ ।