• १२ वैशाख २०८१, बुधबार

सगरमाथा आरोहणको बाटो तयार हुन अझै एक महिना लाग्ने

blog

काठमाडौँ, चैत १७ गते । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो (रुट) तयार हुन अझै एक महिना लाग्ने भएको छ । पर्यटन विभागका अनुसार फागुन अन्तिम सातादेखि सुरु भएको सगरमाथा आरोहणको बाटो पहिल्याउने काम वैशाख १५ गते (मे फस्र्ट) सम्ममा पूरा हुनेछ । अहिले अनुभवी आइसफल डाक्टर (हिउँमा बाटो बनाउने व्यक्ति)को १० सदस्यीय टोलीले बाटो खुला गर्ने प्रयास गरिरहेका छन् । 

बुधबार क्याम्प–१ माथि गएको हिमपहिरोमा परी दुई जना आइसफल डाक्टर घाइते भएपछि क्याम्प–२ सम्मको बाटो बन्न मात्रै अझै पाँच दिनजति लाग्ने विमागले जनाएको छ ।

विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार क्याम्प–२ सम्म बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गरिररहेको छ भने त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घले जिम्मा लिएको छ । उहाँले भन्नुभयो, “आरोहणका लागि खोलिने बाटोमा खाल्टाखुल्टी पर्ने र हिउँ थुप्रिएर अवरुद्ध हुने भएकाले हरेक वर्ष नयाँ बाटो तयार गर्नुपर्ने हुन्छ । चुचुरोसम्मै बाटो बनाउन अझै एक महिना लाग्न सक्छ ।”

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म चार समूहका ३१ जनाले आरोहण अनुमति लिइसकेका छन् । अनुमति लिनेमा सात जना महिला छन् । 

हालसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको जानकारी दिँदै कोइरालाले अन्नपूर्ण र सगरमाथाबाहेक मनासलुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाका लागि छ, वरुणत्से र थोरोङ पिकका लागि पाँच/पाँच जनाले आरोहण अनुमति लिएको बताउनुभयो । त्यस्तै नुप्त्सेका लागि तीन, सुर्मासरोवरका लागि दुई जनाले अनुमति लिएका छन् ।

सगरमाथामा आरोहणका लागि दिएको अनुमतिमध्ये नेपालबाट एक समूहका १० जनाले अनुमति लिएका हुन् । त्यस्तै अमेरिकाका आठ, चीनका पाँच, अस्ट्रेलियाका दुई/दुई र जर्मनी, हङ्गेरी, सिङ्गापुर र दक्षिण अफ्रिकाका एक/एक जनाले आरोहण अनुमति लिएका छन् ।   

यो सिजनमा सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति पाएका छन् । जसमा सबभन्दा धेरै नेपाली (३४ जना) छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना, दक्षिण कोरियाबाट नौ, भारत, चीन, क्यानडाबाट आठ/आठ जनाले अनुमति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । हालसम्म हिमाल आरोहणबाट सरकारले चार करोड ९५ लाख पाँच हजार ३७० रुपियाँ रोयल्टी सङ्कलन गरेको छ ।