राममणि दाहाल
मकवानपुर, चैत ८ गते । विपद् व्यवस्थापन र वन डढेलो नियन्त्रणमा तीनै तहका सरकारबिच समन्वय र सहकार्यमा जोड दिइएको छ ।
सुक्खा मौसमसँगै हरेक वर्ष नेपालमा वन डढेलोबाट हुने विपद्का घटना वर्षेनि वृद्धि भइरहेको भन्दै विपद् प्रतिकार्य, विपद् पूर्वको पूर्व तयारी, उद्धार र राहतमा हेटौँडामा आइतबार आयोजित कार्यक्रममा स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिइएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता समिति महासंघ मकवानपुर नेपालको सहकार्यमा भएको विपद् व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा जलवायु परिवर्तनका कारण खडेरी, बाढी र पहिरोको जोखिम नेपालमा बढ्दै गएको भन्दै कार्यक्रमका वक्ताहरुले विपद्को समयमा समस्या समाधान गर्न एकद्वार नीतिको कार्यान्वयन आवश्यक भएको बताएका थिए ।
कार्यक्रमका वक्ताहरुले प्राकृतिक कारणलेभन्दा मानव सिर्जित आगलागीका कारण वन क्षेत्रमा डढेलोको जोखिम बढी रहेको भन्दै वन डढेलोका कारण श्वासप्रश्वास, आँखालगायतका स्वास्थ्य समस्यासँगै पानीको मुहान सुक्नेलगायतका समस्या आउने भएकोले सचेतना वृद्धिका लागि सुझाएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री कुमारी मोक्तानले वन संरक्षण र उपयोगका लागि बागमती प्रदेश सरकारले कानुनसँगै आवश्यक नीति निर्माण गरेको भन्दै सामुदायिक वनको संरक्षणमा उपभोक्ताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललितबहादुर घलानले वन डढेलो नियन्त्रण र यसबाट हुने क्षति न्यूनीकरणमा समुदायस्तरको चासो हुनुपर्ने भन्दै विपद् व्यवस्थापनका पूर्व तयारी प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विपद्सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै प्रजिअको अध्यक्षतामा जिल्लामा विपद् व्यवस्थापन समितिको व्यवस्था भएपनि लक्ष्य र उद्देश्य अनुसार कार्यसम्पादन गर्न नसकेको बताउनुभयो । नेपाल भूपरिवष्ठित र हिमालय क्षेत्र भएकोले विपद् जोखिम बढी रहेको छ, उहाँले भन्नुभयो, वन क्षेत्रको राष्ट्रिय उत्पादनमा योगदान कम रहेकोले वन क्षेत्रको संरक्षणसँगै यसको योगदान वृद्धि आवश्यक छ ।
डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसद चन्द्रवंशीले डढेलो नियन्त्रण र तयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै गत वर्ष मकवानपुरमा सबैभन्दा बढी मकवानपुरगढी गाउँपालिकामा र त्यसपछि बागमती गाउँपालिकामा वन डढेलोका घटना भएको जानकारी दिनुभयो ।
उहाँले घाँस उम्रने, रिसवी, सिकार खेल्न, काठदाउरा निकाल्न, वन्यजन्तु भगाउन, खेतबारी मलिलो बनाउन भन्दै वनमा डढेलो लगाउने प्रवृत्ति रहेकको भन्दै जनशक्ति र स्रोतसाधनको अभाव, भौगोलिक विकटता, बजारक्षेत्रमा उपभोक्ताको कम सहभागिता, आगलागी गर्ने व्यक्तिलाई पक्राउ गर्न समस्यालगायतका कारण वन डढेलो नियन्त्रणका चुनौतीका रुपमा रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति, मकवानपुरका जिल्ला समन्वय अधिकारी विष्णु पौडेलले नेपालमा विपद्को अवस्था, तयारीलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिति, मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेल, सामुदायिक वन उपभोक्ता समिति महासंघ मकवानपुर नेपालका अध्यक्ष साधुराम चौलागाईलगायतले वन डढेलो नियन्त्रणमा स्थानीय तहको कार्यक्रमसँगै प्रभावकारी भूमिका हुनुपर्ने बताउनुभयो ।