खेमराज सापकोटा
रानी, चैत ८ गते । गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले छापा पत्रकारिताको विश्वसनीयताकै कारण यो माध्यम टिकिरहेको बताउनुभएको छ । आइतबार इटहरीमा आयोजित ‘कोशी मिडिया समिट’मा बोल्दै उहाँले पछिल्लो समय छापा माध्यमबाट डिजिटलतर्फ सर्ने प्रवृत्ति बढ्दै जाँदा छापा पत्रकारिता चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “छापा माध्यमलाई छाडेर डिजिटललाई मात्रै प्राथमिकता दिने प्रवृत्ति बढेको छ, जसले छापा पत्रकारितामा सङ्कट उत्पन्न गरेको छ । तर विश्वसनीयताकै कारण यो माध्यम अझै मजबुत रूपमा उभिएको छ ।”
प्रदेशखबर डटकमको आयोजनामा तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश र नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा सम्पन्न ‘कोशी मिडिया समिट’ १४ बुँदे ‘कोशी घोषणा पत्र’ जारी गर्दै सम्पन्न भयो । समिटमा पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे अन्तरक्रिया गरिएको थियो ।
सोही छलफलबाट प्राप्त निष्कर्षलाई समेट्दै १४ बुँदे घोषणा पत्र जारी गरिएको आयोजक प्रदेशखबर अनलाइनका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मिडिया क्षेत्रसँग सम्बन्धित समग्र विषयमा व्यापक छलफल गरी त्यसको निचोडलाई बुँदागत रूपमा घोषणा पत्रमा समेटिएको हो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले सहभागीहरूको जिज्ञासामा जवाफ दिनुभएको थियो । त्यस्तै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र अध्यक्ष भण्डारीले आ–आफ्ना संस्थाका गतिविधि तथा पत्रकारितासँग सम्बन्धित विषयमा जानकारी गराउनुभयो ।
कोशी एक्सिलेन्स अवार्डमा भण्डारीलाई पत्रकारिता विधामा अवार्ड प्रदान
यसैबिच अध्यक्ष भण्डारीलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत पत्रकारिता विधामा अवार्ड प्रदान गरिएको छ । नयन मिडिया फाउण्डेशनद्वारा शनिबार इटहरीमा आयोजित समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र फाउण्डेशनका अध्यक्ष पवन अधिकारीले उहाँलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।
नेपाली पत्रकारितामा लामो अनुभव बटुल्नुभएका भण्डारीले कान्तिपुर दैनिकमा समाचार डेस्क नेतृत्वदेखि क्रियटिभ सम्पादकसम्मको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि कतार संस्करणको नेतृत्व गर्दै अन्नपूर्ण मिडिया नेटवर्कमा सम्पादक हुँदै प्रधान सम्पादकका रूपमा सात वर्ष काम गर्नुभएको थियो ।
‘अन्नपूर्ण पोस्ट’मार्फत कभर स्टोरीको अभ्यासलाई स्थापित गर्दै उहाँले खोजमूलक तथा गहिरो पत्रकारितालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । ‘भ्वाइस अफ दि भ्वाइसलेस’ स्तम्भमार्फत समाजका आवाजविहीन वर्गको प्रतिनिधित्व गर्दै पत्रकारितालाई जनताको आवाज बनाउने अभियान पनि उहाँले अघि बढाउनुभएको छ ।
भोजपुरमा २०३१ साल माघ २ गते जन्मिनुभएका भण्डारी समकालीन पत्रकारिता, साहित्य तथा बौद्धिक क्षेत्रमा परिचित नाम हुनुहुन्छ ।
१६ विधामा अवार्ड, ९ व्यक्तित्व सम्मानित
‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत विभिन्न १६ विधामा अवार्ड प्रदान गरिएको छ भने ९ जना विशिष्ट व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरिएको छ ।
अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा कृषि विधातर्फ डिल्लीराज उप्रेती, शिक्षा विधातर्फ उमेश श्रेष्ठ, स्वास्थ्यतर्फ डा. वीरेन्द्र विष्ट, सामाजिकतर्फ दिनबन्धु गोयल, साहित्यतर्फ अनिल पौडेल, खेलकुदतर्फ अञ्जिला तुम्बापो सुब्बा, सूचना प्रविधितर्फ सरोज राउत, अटोमोबाइलतर्फ विष्णुकुमार अग्रवाल, संगीततर्फ प्रमोद खरेल, बैंकिङतर्फ सन्तोष कोइराला, इन्स्योरेन्सतर्फ सन्तोष प्रसाई, पुँजी बजारतर्फ चूडामणि चापागाईं, कर्पोरेटतर्फ मोती दुगड, उद्यमशीलतर्फ रक्तिम जोशी प्याकुरेल तथा स्टार्टअपतर्फ नरकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरिएको छ ।
यसैगरी जनता बहुमुखी क्याम्पससहित डा. कृष्णप्रसाद तिम्सिना, राजन श्रेष्ठ, डा. कृष्ण दुलाल, राजकुमार कार्की, रमण नेपाल, डा. सरदा खड्का, तुलसीप्रसाद घिमिरे र टेकनाथ सिटौला विशेष सम्मानबाट सम्मानित हुनुभएको छ ।