गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ८ गते । शुक्रबार र शनिबार परेको वर्षा र हावाहुरीका कारण देशभरका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । उत्पादनको अन्तिम चरणमा रहेका करोडौँ इँटा काम नलाग्ने बनेका छन् । उद्योगमा क्षति पुगेपछि यतिबेला उद्योगी समस्यामा परेका छन् । इँटा उद्योगको बिमा गर्ने नीति नभएर क्षति भएको अवस्थामा पनि भुक्तानी पाउने कुनै आधार नरहेको उनीहरूको गुनासो छ ।
बेमौसमी वर्षाले लुम्बिनी र मधेश प्रदेशका इँटा उद्योगमा ठुलो आर्थिक क्षति पु¥याएको छ । रुपन्देही, बाँके, कपिलवस्तु र दाङ जिल्लामा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गलेर नष्ट हुँदा उद्योगीले करोडौँ रुपियाँ बराबरको घाटा बेहोर्नु परेको छ ।
रुपन्देहीमा रहेका ५२ वटा इँटा उद्योगमध्ये हाल ३५ वटा इँटा उद्योग सञ्चालनमा छन् । लुम्बिनी इँटा व्यवसायी सङ्घका अनुसार करिब दुई करोड गोटा काँचो इँटा वर्षाले नष्ट भएको छ । यसबाट करिब सात करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको सङ्घका सचिव विजय पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पकाउन तयारी अवस्थामा राखिएका इँटा वर्षाको पानीले गलेर नष्ट भएका हुन् । यहाँ काँचो इँटाको मूल्य करिब साढे तीन रुपियाँ प्रतिगोटा रहेको छ । सबै उद्योगबाट क्षतिको पूर्ण विवरण आउन बाँकी भएकाले क्षति अझै बढ्न सक्ने सम्भावना रहेको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार बाँकेमा ७० वटा इँटा उद्योग छन् । पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीका अनुसार दुई दिनको वर्षाले तीन करोड ५० लाख काँचो इँटा नष्ट भएका छन् । यसको आर्थिक नोक्सान करिब आठ करोड ७५ लाख रुपियाँ अनुमान गरिएको छ । प्रतिगोटा इँटाको मूल्य यहाँ साढे दुई रुपियाँ रहेको छ । इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाका कारण उद्योगीलाई ठुलो घाटा हुने गरेको बताउनुभयो । साथै सरकारले इँटाको बिमा सुविधा नदिएको र क्षतिपूर्ति नदिएको हुँदा व्यवसायी थप दबाबमा परिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै कपिलवस्तुमा करिब ९० वटा इँटा उद्योग सञ्चालनमा छन् । हावाहुरीसहितको वर्षाले पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटा ठुलो परिमाणमा नष्ट भएका छन् । कपिलवस्तु इँटा व्यवसायी सङ्घका अध्यक्ष अल्ताफ खाँका अनुसार करिब सबा एक करोडभन्दा बढी काँचो इँटा नष्ट भएको छ, जसको मूल्य पाँच करोड रुपियाँभन्दा बढी हुन आउँछ । उद्योगीले भने क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन बाँकी रहेको बताएका छन् ।
दाङमा करिब दुई दर्जन इँटा उद्योग सञ्चालनमा छन् । दाङ–देउखुरी इँटा व्यवसायी सङ्घका सचिव प्रकाश खड्काका अनुसार दुई दिनको वर्षाले ६६ लाखभन्दा बढी काँचो इँटा नष्ट हुँदा करिब दुई करोड १० लाख रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ । प्रत्येक इँटा उद्योगले दैनिक ५०–८० हजार काँचो इँटा उत्पादन गर्दै आएको भए पनि वर्षाका कारण सुक्दै गरेका तथा पकाउन तयारी अवस्थामा राखिएका इँटा गलेर नष्ट भएका हुन् ।
वर्षाका कारण जिल्लामा भएको क्षतिको पूर्ण विवरण सङ्कलन हुन नसकेको भन्दै घोराही उपमहानगरपालिका–८, दुन्द्रामा रहेको ओम फिक्स चिम्नी इँटा उद्योगका सञ्चालकसमेत रहनुभएका खड्काले भन्नुभयो, “इँटा भएको क्षतिको यकिन विवरण सङ्कलन हुने क्रम जारी रहेको छ । दुई दिन परेको वर्षाले ठुलो क्षति हुन पुगेको छ ।”
उहाँका अनुसार काँचो इँटा तयार गर्दा करिब प्रतिइँटा तीन रुपियाँ लागत लाग्ने गर्छ । अन्य व्यवसाय जस्तो इँटा उद्योगमा बिमा सुविधा नहुँदा प्रत्येक वर्ष वर्षाका कारण व्यवसायीले ठुलो क्षति बेहोर्नुपर्ने र त्यसको असर उपभोक्तासम्म पर्ने गरेको व्यवसायी बताउँछन् । मधेश प्रदेशमा आठ वटै जिल्लामा बेमौसमी वर्षा र हिउँदे झरीले काँचो इँटा नष्ट गरेपछि इँटा उद्योगी मर्कामा परेका छन् ।
बैमौसमी वर्षाले काँचो इँटा गलेर छति पु¥याएपछि करौँडोको क्षति भएको नेपाल इँटा उद्योग महासङ्घ मधेश प्रदेश समितिका अध्यक्ष विक्रम साहले जानकारी दिनुभयो । उहाँले मधेश प्रदेशमा दर्ता रहेका सात सय इँटा उद्योगमध्ये ३५० इँटा उद्योग सञ्चालनमा रहेको र प्रत्येक उद्योगमा कम्तीमा पाँच लाखभन्दा बढीको क्षति भएको बताउनुभयो । असोजदेखि नै इँटा तयार भए पनि नेपाल सरकारले यस पटक माघ एक गतेदेखि ‘फायरिङ’ गर्न दिएको निर्देशनबमोजिम काम सुरु भएको र अहिले उच्च समय भएका कारण क्षतिले उत्पादनको २५ प्रतिशत ह्रास आउने उहाँको अनुमान छ । जनकपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष विनय यादवले धनुषामा मात्रै बेमौसमी वर्षा र हिउँदे झरीले एक करोडभन्दा बढीको क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार धनुषामा ४५ वटा यस्ता उद्योग दर्ता छन् । महोत्तरीमा सञ्चालित ३० वटा इँटा उद्योगमा करिब तीन करोडभन्दा बढी मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको महोत्तरी इँटा व्यावसायी सङ्घका अध्यक्ष सञ्जयकुमार चौधरीले बताउनुभयो ।
सर्लाहीमा करिब ६० वटा उद्योगले तयार पारेको काँचो इँटामा पनि वर्षाले क्षति प¥याएको छ । वर्षाले नष्ट पारेको इँटाको क्षति सङ्कलन भइरहेको सर्लाही इँटा उद्योग सङ्घले जनाएको छ । सर्लाही इँटा उद्योग सङ्घका अध्यक्ष एवं सुर्या इँटा उद्योग कविलासीका सञ्चालक जगर्नाथ रायले आफ्नो भट्टामा पोल्नका लागि तयार पारिएको करिब १५ लाख थान काँचो इँटा पानीले गलाएर काम नलाग्ने बनाएको बताउनुभयो ।
सर्लाहीमा पनि सञ्चालनमा रहेका ४५ वटा इँटा उद्योगमा यस्तै क्षति पुगेको छ । इँटा व्यवसायी सङ्घ रौतहटका अनुसार जिल्लामा करिब ५० इँटा उद्योग सञ्चालनमा रहेकोमा ४६ उद्योगमा तयारी अवस्थामा रहेको काँचो इँटा वर्षाले क्षति पु¥याएको छ । सङ्घका अध्यक्ष रामविनोद साह कलवारले शुक्रबार साँझ र शनिबारको वर्षाका कारण रौतहटमा मात्र करिब एक करोड रुपियाँ बराबरको नोक्सानी भएको जानकारी दिनुभयो ।
(लुम्बिनी प्रदेशका लागि छवि पाण्डे–बुटवल, सिराज खान–बाँके, नारद कोहार–तौलिहवा र लीलाधर वली–घोराही तथा मधेश प्रदेशका लागि महेशकुमार दास–जलेश्वर, जनार्जन खत्री–सर्लाही, विनय कर्ण–कल्याणपुर समाचारदाता, प्रवीणकुमार शर्मा–चन्द्रपुरको सहयोगमा)