• ७ चैत २०८२, शनिबार

‘सहिदको सपनालाई मार्गदर्शन मानेर काम गर्छु’

blog

अमरराज नहर्की

तनहुँ, चैत ७ गते । गोरखाको सामान्य परिवारमा जन्मिएका डा. स्वर्णिम वाग्ले अहिले नेपाली राजनीतिको चर्चित र प्रभावशाली अनुहारका रूपमा स्थापित हुनुभएको छ । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका वाग्ले तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

गोरखाको बुङ्कोट, चापाकोटमा जन्मिएका वाग्ले बाल्यकालदेखि नै अध्ययनप्रति गहिरो रुचि राख्ने विद्यार्थीका रूपमा परिचित हुनुहुन्थ्यो । नेपालमा प्रारम्भिक शिक्षा पूरा गरेपछि उहाँ उच्च शिक्षाका लागि बिदेसिनुभयो । उहाँले विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीसहित बेलायत, अस्ट्रेलिया र अमेरिकाका प्रतिष्ठित शिक्षण संस्थाबाट अर्थशास्त्र र सार्वजनिक नीतिमा उच्च शिक्षा तथा विद्यावारिधि हासिल गर्नुभयो । 

अध्ययनका क्रममा उहाँले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा गहिरो अनुसन्धान गर्नुभएको थियो । यही शैक्षिक पृष्ठभूमिले उहाँलाई अन्तर्राष्ट्रियस्तरका नीतिगत बहस र निर्णय प्रक्रियामा सहभागी गरायो । उहाँसँग विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) जस्ता अन्तर्राष्ट्रिय संस्थामा रहेर विभिन्न देशको आर्थिक नीति, विकास र गरिबी न्यूनीकरणका क्षेत्रमा योगदान पु¥याएको अनुभव छ ।

स्वदेश फर्किएपछि उहाँले राष्ट्रिय योजना आयोगमा दुई पटक सदस्य र एक पटक उपाध्यक्षको जिम्मेवारी समाल्नुभयो । यस अवधिमा नेपालको विकास नीति, योजना निर्माण र आर्थिक सुधारका क्षेत्रमा उहाँको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । लामो समय नीतिगत तहमा काम गरेपछि केवल नीतिनिर्माण पर्याप्त नहुने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक नेतृत्व आवश्यक पर्ने निष्कर्षमा पुग्दै सक्रिय राजनीतिमा प्रवेश गरेको वाग्लेले बताउनुभयो । सुरुमा नेपाली कांग्रेससँग आबद्ध वाग्ले पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत नयाँ राजनीतिक यात्रामा लाग्नुभयो । उहाँ हाल रास्वपाका उपसभापति हुनुहुन्छ । २०८० सालमा तनहुँ–१ मा भएको उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गरेका वाग्लेले यस पटकको निर्वाचनमा पनि उल्लेखनीय मतान्तरसहित विजय हासिल गर्नुभएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा उहाँले ३८ हजार ४० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पराजित गर्नुभएको हो । भट्टराईले १६ हजार २३१ मत पाउनुभएको थियो । कांग्रेसको गढ मानिने तनहुँ–१ राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आउनुभएको क्षेत्र पनि हो । 

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै डा. वाग्लेले प्राप्त जनमत सहिदको बलिदान र जनताको भरोसाको परिणाम भएको बताउनुभयो । भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलनका सहिदहरूको स्मरण गर्दै उहाँले सुशासन, विकास र आत्मसम्मानपूर्ण राष्ट्र निर्माणको सपनालाई मार्गदर्शन मानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा प्राप्त जनमतलाई ठुलो जिम्मेवारीका रूपमा लिएको छु । असल शासन स्थापना र विकासको अभियानमा प्राथमिकतासाथ अघि बढ्छु ।”

विकास, सुशासन, स्वरोजगार र आर्थिक सुधारका मुद्दा लिएर मतदातामाझ पुग्नुभएका वाग्लेको प्रस्तुतिलाई जनताले सकारात्मक रूपमा स्वीकार गरेका छन् ।