लक्ष्मी तिमिल्सेना
जमुनाह, चैत ८ गते । मध्यपूर्व एसियामा उत्पन्न तनाव चर्किँदै गएपछि बाँकेमा कच्चापदार्थ अभाव भएको छ । जसकारण उत्पादन घट्दै गएको छ भने केही उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् । कच्चा सामाग्रीको आयात घटेपछि व्यवसायीहरु मर्कामा परेका छन् ।
मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण कच्चा सामग्रीको आयात ठप्प भएपछि यहाँको उद्योग क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका एशोसियट सदस्य तथा स्टार पोलिपाईपका प्रवन्ध निर्देशक कमल कार्कीले जानकारी दिनुभयो ।
उहाँले खासगरी कच्चा पदार्थको अभावका कारण उत्पादनमा ठूलो असर परेको सुनाउनुभयो । "कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन नै घटिरहेको छ," उहाँले भन्नुभयो, "युद्ध हुँदैछ भनेर विकसित देशहरूमा पहिले नै थाहा हुँदो रहेछ । अब युद्ध हुँदैछ । अब चाहिँ मालहरू चाहिँ रोक्नुपर्छ, पठाउनुहँदैन भनेर रोकिहाल्यो । माल रोकेको डेढ महिना भइसक्यो ।"
कच्चा सामग्रीको आयात रोकिएसँगै उत्पादन पनि घटेको उहाँले बताउनुभयो । उत्पादन घटेसंगै उद्योग सञ्चालनमा समेत समस्या देखिएको छ । उद्यमी कार्कीका अनुसार न कर्मचारी हटाउन सकिने अवस्था छ न त कर्मचारी पाल्नसक्ने अवस्था नै छ ।
पेट्रो–केमिकलसँग सम्बन्धित कच्चापदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गर्छ । तर अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योगहरू सङ्कटमा परेको नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ओलीले भन्नुभयो, "पेट्रो–केमिकलसँग सम्बन्धित कच्चापदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादन मात्र होइन, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ । यदि अन्तर्राष्ट्रिय परिस्थिति यस्तै रहिरह्यो भने यसको असर अझ गहिरिँदै जाने उद्योगीहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।"
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्का भने कच्चा सामग्रीको आपूर्तिको अवस्था सामान्य रहेको बताउनुहुन्छ । तेल र ग्याँस जस्ता कुराहरुको समेत नियमित रुपमा आयात भइरहेको बताउँदै सूचना अधिकारी खड्काले अन्य औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा सामाग्रीको आपुर्ति पनि सहज र निरन्तर भइरहेको बताउनुभयो ।
बाँके देशकै मुख्य औद्योगिक क्षेत्र मध्येको एक हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । दुई वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् ।