• ८ चैत २०८२, आइतबार

कोशीमा गहुँ खेती खुम्चिँदै

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, चैत ८ गते  । प्रमुख खाद्य बाली मानिने गहुँ खेतीको उत्पादन कोशी प्रदेशमा खुम्चिँदै गएको छ । तराईमा मकै र चैते धान तथा पहाडमा किवी, तरकारी र सुन्तलाजन्य बालीले गहुँबालीलाई प्रतिस्थापन गर्दा कोशी प्रदेशमा गहुँ खेती खुम्चिँदै गएको हो । 

कोशी प्रदेशको कृषि विकास निर्देशनालय विराटनगरका अनुसार पछिल्लो तीन वर्षयता गहुँ खेती हुँदै आएको पाँच हजार ५६६ हेक्टर क्षेत्रफलमा नयाँ बाली लगाउन थालिएको छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा कोशीमा ५७ हजार २०१ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । प्रतिहेक्टर २.५८ प्रतिशत मेट्रिक टन उत्पादन हुँदा कोशीमा एक लाख ४७ हजार ३३१ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । त्यस्तै आव २०८०/८१ मा पाँच हजार २१ हेक्टर जग्गामा मात्र गहुँ खेती भएको तथ्याङ्क छ । निर्देशनालयका अनुसार उत्पादकत्व बढे पनि कुल उत्पादन एक लाख ३७ हजार ८१६ मेट्रिक टन मात्र भयो । गत आवमा गहुँ खेती हुने क्षेत्रफल अझै घट्यो । कुल ५१ हजार ६३५ हेक्टरमा गहुँ खेती हुँदा एक लाख ३७ हजार ७३० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । 

हरेक वर्ष उत्पादकत्व बढे पनि किसान गहुँ खेतीमा आकर्षित हुन सकेका छैनन् । कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार गहुँको उत्पादकत्व बढे पनि किसानमा आकर्षण देखिँदैन । “पहाडमा गहुँ खेतीभन्दा नगदेबालीमा धेरै आर्थिक लाभ हुन थालेकाले किसानले गहुँ लगाउन छोडेका छन् । त्यस्तै तराईमा चैते धान र मकै खेतीबाट बढी लाभ हुन थालेकाले किसानले गहुँ लगाउन छोडेका हुन् ।”

कोशी प्रदेशका १४ जिल्लामध्ये मोरङमा मात्र गहुँ खेती हुने क्षेत्रफल विस्तार हुँदै गएको छ तर मोरङमा भएको विस्तार पनि सन्तोषजनक छैन । मोरङमा आव २०७९/८० मा ११ हजार ७५५ हेक्टरमा गहुँ खेती भएको थियो । तीन वर्षपछि गत आवमा ११ हजार ९८० हेक्टरमा गहुँ खेती भयो । 

बाँकी १३ जिल्लामा गहुँ खेती हरेक वर्ष घट्दै गएको छ । हिमाली जिल्ला ताप्लेजङ, सङ्खुवासभा र सोलुखुम्बु मात्र होइन । पहाडी जिल्ला पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गामा पनि गहुँ खेती हुने क्षेत्र खुम्चिँदै गएको छ । भित्री मधेशको उदयपुरमा तीन वर्षयता खेतीको अवस्था स्थिर छ भने झापामा तीन वर्षयता लगातार क्षेत्रफल घट्दो छ । सुनसरीमा गत आवमा मात्र गहुँ खेती हुने २४५ हेक्टर क्षेत्रफल घटेको छ । आव २०८०/८१ मा १२ हजार २४८ हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएकोमा गत आवमा १२ हजार तीन हेक्टरमा मात्र गहुँ खेती भएको थियो । पछिल्लो तीन वर्षमा झापामा सबैभन्दा बढी दुई तीन सय हेक्टर क्षेत्रफल गहुँ खेती हुने क्षेत्र घटेको छ । 

निर्देशनालयका प्रमुख डाँगीका अनुसार पहाडी जिल्लामा किवी खेतीतर्फ आकर्षण बढेको छ । कोशीमा आव २०८०/८१ मा एक हजार ५४६ हेक्टरमा किवी खेती भएको थियो । गत वर्ष थप ६९ हेक्टर जमिनमा किवी खेती हुन थालेको छ । खास गरी विगतमा गहुँ खेती हुने इलाम, ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा किवी खेती विस्तार भएको छ । 

आव २०७९/८० मा १५ हजार ९६६ हेक्टर क्षेत्रफलमा सन्तुलाजन्य फलफूल (सुन्तला, ज्यामिर, कागती, निबुवा, जुनार) खेती भएकोमा गत आव २०८१/८२ मा २१ हजार ४०७ हेक्टरमा खेती हुन थालेको छ ।