टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) चैत ८ गते । अहिले गुल्मीका जङगल र पाखा पखेराहरुमा गुराँस फुलेर राताम्य बनेको छ । देख्दा निकै आर्कषक हुने भएकाले गुराँस हेर्न जानेहरुको घुइँचो छ । तर गुराँको फुलनै चुँडेर रमाइलो गर्ने, डोसाएर फाटो खिच्ने, हाँगाहरु भाच्ने हुन थालेपछि स्थानीय सरकारले अपिल निकाल्न पर्ने अवस्था आएको छ ।
रेसुङ्गा नगरपालिकाले सार्वजनिक रुपमा धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेसुङ्गा क्षेत्रको प्राकृतिक सौन्दर्य जोगाउन सबैलाई आग्रह गरेको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकी अधिकृत बाबुराम पल्लीले पछिल्लो समय विभिन्न स्थानबाट भ्रमणका लागि आउने आगन्तुक तथा पर्यटकहरुले रेसुङ्गा क्षेत्रका लालीगुराँस लगायत अन्य वनस्पतिहरूमा क्षति पु¥याउने कार्य वृद्धि हुँदै गएकोे गुनासो आएको बताउनुभयो ।
यस्ता कामले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता घट्दै गएको र वातावरणीय सन्तुलनमा असर पर्ने भएकाले नगरपालिकाले यस्तो कार्य नगर्न सबै नागरिक तथा पर्यटकहरुलाई आग्रह गरेको प्रशासकीय अधिकृत पल्लीले बताउनुभयो । रेसुङ्गाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व जोगाउने दायित्व नागरिकको भएको नगरपालिकाले जनाएको छ ।
डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत दयाराम पौडेलले आगामी बर्ष गुराँस संरक्षणको कार्यक्रम पनि समावेश गरेर अगाडी जाने बताउनुभयो । मुख्यतया रेसुङ्गा, मदाने र थाप्ले सत्यवतिमा गुराँस प्रयाप्त मात्रमा पाइने भएकाले स्थानीलाई जोडेर संरक्षण तथा विस्तारको काम अगाडी बढाउने बताउनुभयो । उहाँले तीन वटा वन संरक्षित वन क्षेत्र भएकाले गुराँस वा अरु रुखहरुको क्षति गर्नु दण्डनीय हुने बताउनुभयो ।
गुराँस आफैमा सौन्दर्य हो । गुराँसका फूलहरुले सवैलाई लोभ्याउँछ । गुराँसको औषधिय मूल्य पनि छ । रातो रंङ्गको गुराँस पोषकतत्वले भरिपूर्ण हुने भएकाले गाउँघरतिर अझैपनि गुराँस राख्ने र औषधीको रुपमा प्रयोग गर्ने गरिएको मदाने गाउँपालिका–३ सिर्सेनीका सरोज केसीले बताउनुभयो । घाँटी दुखेको बेला वा घाँटीका केही अड्किएमा गुराँस खान दिइने केसीले बताउनुभयो ।