चितवन समाचारदाता
चितवन, चैत ८ गते । पूर्वी चितवनको उत्तराखण्ड चक्रपथ अन्तर्गत भालुखोलामा पुल निर्माण सुरु भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ भरतपुरबाट कालिका नगरपालिका, खैरहनी नगरपालिका हुँदै पूर्वी चितवनको लोथरखोलासम्म पुग्ने वैकल्पिक सडक उत्तराखण्डमा पुल निर्माण सुरु भएको हो ।
राप्ती नगरपालिका–३ मा पर्ने यो सडकखण्डको भालुखोलामा पुल निर्माण नहुँदा बर्सातमा सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको थियो । पुल निर्माण भएपछि ग्रामीण यात्रा र पूर्वपश्चिम राजमार्गमा समस्या आएमा यसै बाटो भएर यात्रा गर्न सकिनेछ । बागमती प्रदेश सरकारको लगानीमा यो पुल निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र चौधरीले पुल निर्माणको प्रगति ४५ प्रतिशत सकिएको जानकारी दिनुभयो ।
राप्ती नगरपालिका प्रमुख शमशेर लामाले पुलको आवश्यकता बर्सौंदेखि भए पनि पालिकाको आफ्नै स्रोतले निर्माण गर्न नसकेको बताउनुभयो । प्रदेश सरकारमार्फत अहिले निर्माणले गति लिएपछि उत्तराखण्डका स्थानीयवासीले सहज यात्रा गर्न सक्ने बताउनुभयो । महाभारत पर्वतको फेदीदेखि पूर्वपश्चिम राजमार्गसम्म सडक सञ्जाल जोडिएपछि विकासको अनुभूति भएको बताउनुभयो । उत्तराखण्डकै सडक प्रयोग गरेर चितवन र मकवानपुरको सिमाना लोथर पुग्न सकिने छ । २०८२ जेठ ९ गते सम्झौता भएको पुल २०८३ जेठ २९ गते सम्पन्न गर्नुपर्ने छ । पुलको लागत एक करोड १७ लाख ५१ हजार ९०४ रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो । पुलको दुवैतर्फको पिल्लर खडा गरेर ढलानको कार्य सुरु हुन लागेको छ । दोहोरो सवारीसाधन सञ्चालन गर्न मिल्ने पुल निर्माणले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । प्रदेश पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका अन्य स्थानमा पनि ठुलासाना भौतिक निर्माणका कार्यव्रmम सञ्चालन भइराखेको जानकारी दिनुभयो । पाठक एन्ड सन्स कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरिराखेको छ ।
भरतपुरदेखि तीन पालिका जोडेर उत्तराखण्ड सडक चक्रपथको अवधारणाको विकास तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले गर्नुभएको थियो । चितवनको निर्वाचन क्षेत्र नं. १ का पूर्वसांसद पाण्डेले भरतपुरलाई पूर्वी चितवनको पहाडी र तराईका जनतालाई नजिकबाट जोड्नका लागि यो सडक आवश्यकता भएर निर्माणको आयोजना पारेको बताउनुभयो । सुरुमा बजेट परेर काम भए पनि पछि बजेट रोकिएपछि यस क्षेत्रमा पर्ने विभिन्न पुल तथा कलभर्टले निरन्तरता पाउन सकेको थिएन ।
कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले पूर्वी चितवनका चार वटै पालिका जोड्ने चक्रपथको बाँकी निर्माणलाई अगाडि बढाउन सातै पालिकाका प्रमुखसँग छलफलको बैठक तीन पटक राखिसकेको बताउनुभयो । अब बन्ने सरकारले यस सडकको बाँकी काम पूरा गर्न बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।