• ८ चैत २०८२, आइतबार

निःशुल्क स्वास्थ्य शिविरमा विपन्न समुदाय लाभान्वित

blog

लायन्स क्लव अफ फूलवारीद्वारा आयोजित शिविरमा निःशुल्क स्वास्थ्य जाँच गराउँदै बिरामीहरू । तस्बिर जीवछ यादव

जीवछ यादव
लहान, चैत ८ गते ।
लायन्स क्लव अफ फूलवारी लहानले नवराजपुर गाउँपालिका–१, करमनियाँमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट विपन्न समुदायले प्रत्यक्ष लाभ पाएका छन्।

६५ वर्षीया शान्ति देवी पासवानले भन्नुभयो, “गाउँमै आएर गरिएको जाँच र उपलब्ध गराइएको औषधीले ठुलो राहत प्राप्त भएको छ। लहान गएर जाँच गराउन समय मिल्दैनथ्यो। गाउँमै आएको शिविरमा उपचार पाएर खुसी छु। यस्तो शिविर नियमित भए विपन्न दलित समुदायलाई निकै राहत पुग्नेछ।”

क्लवका अध्यक्ष काशिन्द्र प्रसाद यादवका अनुसार शिविरमा २९७ जना विपन्न दलित समुदायका स्थानीयहरुको स्वास्थ्य जाँच गरिएको थियो। आवश्यक औषधी उपलब्ध गराइएको साथै थप जाँचको सल्लाह दिइएको थियो।

शिविरमा मधुमेह, रक्तचाप, महिला रोग, दन्त रोगसहित सामान्य स्वास्थ्य समस्याको जाँच गरिएको थियो। जाँच गर्ने चिकित्सकहरूमा वरिष्ठ फिजिसियन रितेश गिरी, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ गीता यादव, जेनरल फिजिसियन सुशान्त कुमार र डेन्टल सर्जन विनिता गुप्त रहनुभएको थियो।

शिविर बिहान ८ देखि बेलुका ५ बजेसम्म फेकनी आधारभूत विद्यालयमा सञ्चालन भएको थियो। वरिष्ठ फिजिसियन गिरीका अनुसार, रक्तचाप, मधुमेह र दन्त रोगका बिरामीमध्ये तत्काल उपचार आवश्यक देखिएका व्यक्तिहरूलाई औषधी उपलब्ध गराई थप जाँचका लागि सल्लाह दिइएको थियो।

नवराजपुर गाउँपालिका–१ का वडाध्यक्ष नविन यादवले भन्नुभयो, “ग्रामीण भेगमा लायन्स क्लव अफ फूलवारी लहानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरले विपन्न दलित समुदायमा स्वास्थ्य सेवा पहुँच पुर्याएको छ। यसकारण वडाले नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाउनेछ।”