गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ८ गते । काठमाडौँ महानगरपालिका अन्तर्गत सहरी स्वास्थ्य प्रवर्र्धन केन्द्रको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले हानिकारक अस्पतालजन्य फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न दुई करोड रुपियाँ अनुदान प्रदान गरेपछि महानगरको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको फोहोर व्यवस्थापन हुने छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले महानगरपालिकामा रहेका सहरी स्वास्थ्य प्रवर्धन केन्द्र र अस्पतालबिच भएको सहमति अनुसार अस्पतालमा अत्याधुनिक प्लान्ट स्थापना गरेर फोहोर व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।
उहाँले काठमाडौँ महानगरपालिकाको मात्र नभई प्रसूति गृह अस्पतालको समेत फोहोर व्यवस्थापन हुने जानकारी दिनुभयो । अहिले हामीसँग भएको फोहोर व्यवस्थापन गर्ने प्लान्ट पुरानो भएको थियो, निर्देशक डा. अधिकारीले भन्नुभयो, “काठमाडौँ महानगरपालिकाले सहयोग गरेपछि अत्याधुनिक प्लान्टमार्फत फोहोर व्यवस्थापन गर्ने छौँ ।”
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहबरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी. र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीबिच अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अस्पतालबाट उत्पादित हानिकारक फोहोरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्धन केन्द्रबाट उत्पादित हानिकारक फोहोरको पनि यही प्लान्टबाट व्यवस्थापन हुने छ ।
अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहोर व्यवस्थापन स्थलमा ट्रस निर्माणका लागि खर्च गर्न पाउने छ । सम्झौता चालु आवको असार १५ गतेसम्म मान्य हुने छ । सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँमा हानिकारक फोहोर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।