फलेवास समाचारदाता
पर्वत, चैत ८ गते । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकको स्तरोन्नति काम सुरु भएको छ । सङ्घीय सरकारको सहयोगमा फलेवास नगरपालिका–६, ढिकदेखि कुस्मा नगरपालिका अन्तर्गत अर्मादीसम्मको सडक स्तरोन्नतिको काम अघि बढाइएको हो । विगतमा विभिन्न कारणले रोकिँदै आएको उक्त सडक अहिले फेरि सञ्चालनमा पनि आएको छ ।
सडक स्तरोन्नति अन्तर्गत सडकको चौडाइ बढाउने, कालोपत्रे गर्ने, नाली निर्माण तथा जोखिमयुक्त स्थानमा संरक्षणका काम गरिने भएको बताइएको छ । यो सडकखण्ड सुधार भएपछि कालीगण्डकी लोकमार्गमार्फत उत्तर–दक्षिण आवागमन सहज हुने अपेक्षा गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले लामो समयदेखि रोकिएको योजनाको काम सुरु हुनु सकारात्मक भएको बताएका छन् । उनीहरूले समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् ।
कालीगण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका अनुसार गत कात्तिक २१ गते ठेकेदारसँग सम्झौता भई सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने जिम्मा नवकान्तिपुर मैनाचुली, नाना जेभीले पाएको छ । उक्त कम्पनीसँग ६५ करोड ६१ लाख ८३ हजार रुपियाँमा सम्झौता भएको थियो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको आयोजनाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सडक दोहोरो लेनको बनाइने छ । १४ किलोमिटर लामो उक्त खण्डमा सात मिटर चौडाइमा कालोपत्रे बनाइने छ भने दायाँबायाँ एक/एक मिटर छाडेर एक/एक मिटरको नाली निर्माण गरिने इन्जिनियर गौतमले जानकारी दिनुभयो । अहिले अर्मादीतर्फबाट धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
इन्जिनियर गौतमका अनुसार अहिले माटो काट्ने, नाली निर्माणलगायतका काम भइरहेका छन् । निर्धारित मितिमा काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न निर्देशन दिइएको गौतमले बताउनुभयो । लोकमार्गको पर्वत खण्ड अन्तर्गत सेतीवेणीबाट फलेवाससम्मको ३३ किमी सडक कालोपत्रे भइसकेको भए पनि फलेवास–अर्मादी खण्डको १४ किमी सडक ठेकेदारको ढिलासुस्ती र बजेटको स्रोत सुनिश्चित नहुँदा लामो समयदेखि अलपत्र बनेको थियो ।
यसअघि उक्त खण्डका लागि नौ करोड १७ लाख ४९ हजार रुपियाँ विनियोजन भएको थियो । उक्त बजेटले फलेवास नगरपालिका–६, ढिकबाट कुस्मा नगरपालिका–४, अर्मादीसम्मको १४ किमी ट्र्याक खुलेको थियो । त्यसबाहेक अन्य काम भने हुन सकेको थिएन । कालीगण्डकी कोरिडोरको पर्वत खण्डमा ६० किमीभन्दा बढी भाग पर्दछ । सो अन्तर्गत सेतीवेणीबाट फलेवाससम्मको भाग कालोपत्रे भइसकेको छ भने मालढुङ्गाबाट बेनीसम्मको १३ किमी खण्डको काम पनि सम्पन्न भएको छ ।
फलेवास–अर्मादी खण्ड अन्तर्गत १४ किमी सडक पूरा भएमा पर्वतखण्ड सम्पन्न हुने इन्जिनियर गौतमले बताउनुभयो । कालीगण्डकी लोकमार्ग नेपालको महत्वपूर्ण रणनीतिक सडक आयोजना अन्तर्गत पर्दछ । जसले हिमालदेखि तराईसम्मको यातायात सञ्जाललाई जोड्ने लक्ष्य राखेको छ । उक्त सडक सञ्चालनमा आएपछि पर्वतसहित आसपासका जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।