• ८ चैत २०८२, आइतबार

‘अध्ययनबाट प्राप्त ज्ञान देश निर्माणमा लगाउँछु’

blog

डा. कृष्णहरि बुढाथोकी

शालिग्राम नेपाल
चितवन, चैत ८ गते ।
समकालीन राजनीतिमा उच्च शैक्षिक योग्यता भएका विरलै व्यक्तिमध्ये डा. कृष्णहरि बुढाथोकी एक हुनुहुन्छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापबाट उहाँले संसदीय यात्रा तय गर्नुभएको हो ।

रामेछापको मन्थली नगरपालिका–१२, गेलुमा विसं २०३८ भदौ १० गते जन्मिनुभएका उहाँले अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) तथा अङ्ग्रेजी विषयमा एमफिल गर्नुभएको छ । साथै अर्थशास्त्र, अङ्ग्रेजी, व्यवस्थापन, समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासन गरी छ वटा विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ ।

डा. बुढाथोकी भन्नुहुन्छ, “गत भदौमा भएको नवपुस्ताको आन्दोलनपछि सामाजिक क्षेत्रमा आफैं नेतृत्व गर्दै केही गर्ने सोच आयो । त्यसपछि बैंकको जागिर छाडेर सामाजिक कार्यमा लागेँ ।” उहाँसँग बैंक तथा वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ । नेपाल बैंक लिमिटेडमा मात्र १० वर्ष काम गरी व्यवस्थापक तहसम्म पुग्नुभएको थियो ।

“रोजगारी सुरक्षित भए पनि सामाजिक काम गर्ने चाहनाले सरकारी जागिर छाडेर राजनीति र सामाजिक क्षेत्रमा लागेँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार आफूले हासिल गरेको ज्ञान सीमित घेराभित्र राख्न नचाहेकोले फराकिलो क्षेत्रका रूपमा राजनीति रोज्नुभएको हो । “मेरो अध्ययन र त्यसबाट प्राप्त ज्ञान देश निर्माणमा उपयोग गर्ने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो ।

डा. बुढाथोकीले सबैभन्दा पहिले सकारात्मक सोचको विकास आवश्यक रहेको बताउनुहुन्छ । “नेपालमा केही हुँदैन भन्ने सोच तोड्नुपर्छ । यहाँ सक्षम जनशक्ति छ, जसले देश विकास गर्न सक्छ,” उहाँले भन्नुभयो ।

उहाँ सामाजिक जागरणका विभिन्न अभियानमा सक्रिय रहँदै मानवीय सेवा र सद्भावलाई जीवनको मूल मन्त्र मान्दै आउनुभएको छ । “जीवन मूल्यवान छ, मृत्यु निश्चित छ, तर मानवतामूलक सेवा अमर हुन्छ,” भन्ने नारासहित उहाँले अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

पछिल्लो एक दशकदेखि उहाँ “रामेछाप विकास बहस” कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । समृद्ध रामेछाप निर्माणका लागि उद्यमशीलता विकास, उत्पादन वृद्धि, बजारीकरण तथा सीपमूलक शिक्षामा जोड दिँदै विभिन्न प्रशिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

साथै ‘सद्भाव फाउन्डेशन नेपाल’मार्फत सहकार्य, सद्भाव र मानवताको सन्देश फैलाउने अभियानसमेत अघि बढाइएको छ ।

डा. बुढाथोकीले नेपालको विकास, रामेछापको विकास मोडेल तथा आर्थिक समृद्धिका विषयमा आधा दर्जन पुस्तक प्रकाशित गर्नुभएको छ । उहाँका “समृद्ध नेपालको घोषणापत्र” र “समृद्ध रामेछापको मार्गचित्र” उल्लेखनीय कृतिहरू हुन् ।

उहाँले रामेछापको समग्र विकास, सुशासन, सामाजिक न्याय, उद्यमशीलता प्रवर्द्धन, उत्पादनमुखी अर्थतन्त्र निर्माण तथा युवामुखी अवसर सिर्जनालाई प्राथमिकतामा राख्नुभएको छ । कृषि, पर्यटन र जलस्रोतका माध्यमबाट रामेछापलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।

“पूर्वाधार विकास, सडक, विद्युत्, सिँचाइ, डिजिटल सेवा, स्वास्थ्य र शिक्षामा गुणस्तरीय पहुँच विस्तारमा मेरो विशेष पहल रहनेछ,” उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीका लागि युवा पलायन रोक्न “विदेश होइन, गाउँमै अवसर” सिर्जना गर्ने नीति लागू गर्ने उहाँको योजना छ ।

सुशासन र जनसेवा सुधार आफ्नो अर्को प्राथमिकता रहेको उहाँ बताउनुहुन्छ । ढिलासुस्ती, भ्रष्टाचार र पहुँचको राजनीतिविरुद्ध पारदर्शी र उत्तरदायी सेवा प्रवाहमा जोड दिने उहाँको भनाइ छ । महिला, दलित, जनजाति, पिछडिएका वर्ग तथा दुर्गम क्षेत्रलाई विकासको मूलधारमा ल्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

गत निर्वाचनमा डा. बुढाथोकी २४ हजार ८०८ मतसहित निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत प्राप्त गर्नुभएको थियो । बुढाथोकीले ७ हजार १९९ मतान्तरले विजयी हासिल गर्नुभएको हो ।

यसअघि एमाले र नेपाली कांग्रेसबीच पालैपालो विजयी हुँदै आएको परम्परालाई तोड्दै उहाँले नयाँ शक्तिको रूपमा उदय भएको संकेत दिनुभएको छ ।