काठमाडौँ, चैत ८ गते ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम शर्माले आफ्नो कार्यकालको अन्त्यसँगै मन्त्रालयले छोटो अवधिमा नै महत्वपूर्ण सुधारका आधार निर्माण गरेको बताउनुभएको छ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै उहाँले पाँच महिनाको कार्यकालमा नीतिगत तथा प्रणालीगत सुधारका महत्वपूर्ण पहल अघि बढाइएको उल्लेख गर्नुभयो।
मन्त्री शर्माले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या दीर्घकालीन बेथितिको परिणाम भएको स्वीकार गर्दै ती समस्यालाई समाधान गर्ने दिशामा मन्त्रालयले ठोस कदम चालेको बताउनुभयो।
उहाँले भन्नुभयो,“जनताको सेवा गर्न बनेका प्रणालीले अपेक्षित परिणाम दिन नसक्दा असन्तोष बढ्छ, त्यसलाई अब दोहोरिन नदिन हामी सबै सचेत हुनुपर्छ ।”
उहाँले मन्त्रालयको मुख्य उद्देश्य जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको स्पष्ट पार्दै बिरामी, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर वर्गलाई केन्द्रमा राखेर काम गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा मन्त्री शर्माले आफ्नो प्राथमिकता मानसिक स्वास्थ्य, वैदेशिक रोजगारमा गएका कामदारको स्वास्थ्य तथा उच्च जोखिम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्यलाई राखेको जिकिर गर्नुभयो ।
खरिद प्रक्रिया, औषधी व्यवस्थापन तथा स्वास्थ्य बीमा सुधार निर्धारण गरी कार्यान्वयन अघि बढाइएको उल्लेख गर्नुभयो।स्वास्थ्य बीमा क्षेत्रमा देखिएका विकृतिलाई सुधार गर्ने प्रयासले आगामी दिनमा अर्बौँ रकम बचत हुने विश्वास व्यक्त गर्दै उहाँले बीमा प्रणालीलाई दिगो बनाउनेतर्फ काम गरिएको बताउनुभयो।
यद्यपि आवश्यक बजेट अभावका कारण चुनौती कायमै रहेको उहाँले स्वीकार गर्नुभयो।औषधी व्यवस्थापनतर्फ औषधि व्यवस्था विभागको स्तरवृद्धि, राष्ट्रिय औषधी प्रयोगशालाका लागि पूर्वाधार विकास तथा औषधी मामिला महाशाखा स्थापना जस्ता कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइएको थियो।
त्यस्तै खरिद प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन सुधार योजना कार्यान्वयनमा ल्याइएको पनि मन्त्री शर्माले बताउनुभयो।उहाँले छोटो अवधिमा देशका सातै प्रदेशका स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाको भ्रमण गरी प्रगति र चुनौतीको प्रत्यक्ष अवलोकन गरिएको जानकारी दिनुभयो।
मन्त्रालयभित्र भएका सकारात्मक कार्यसँगै केही कमजोरी पनि औँल्याउँदै उहाँले आन्तरिक एकता, पारदर्शिता र सहकार्यमा जोड दिनुभयो।
मन्त्री शर्माले कर्मचारीलाई समयमै निर्णय गर्ने, प्रक्रियालाई सरल बनाउने, परिणाममुखी कार्यशैली अपनाउने र जवाफदेहिता सुदृढ गर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “हरेक निर्णय र फाइलको पछाडि मानव जीवन जोडिएको हुन्छ भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन ।”