• १२ असार २०८१, बुधबार

कस्तो शिक्षा, कस्तो साहित्य ?

blog

यस्ता केही दृश्य कल्पना गरौँ जो हाम्रा दैनिक जीवनका घटना हुन् तर हामीले यिनहरूलाई ‘घटना’ बनाइरहेका हुँदैनौँ । 

एक विद्यार्थी कलेजमा ढिला आए । ढिला भएबापत उनलाई कारबाही गरियो तर भोलि पनि उसले यस्तै गरे । 

एक श्रद्धालु भक्तजनले पीपलको रुखलाई दाहिने पारेर परिक्रमा गर्छ तर उसको ढोकाको चौकोस बन्ने सालको रुखलाई बायाँ पारेको यादै गर्दैन । 

एक व्यक्तिले चोरी ग¥यो र चोरेको सबै पैसा अस्पतालको बिल रकम तिर्न नसकेका एक व्यक्तिलाई दियो र भन्यो– अब तपाईंले आफ्नो बच्चा अस्पताबाट लैजान सक्नुहुन्छ । बाबुछोरा बन्धक बस्नुपर्दैन तर मलाई जेल लगिँदै छ ।

माथिका सामाजिक तथ्यलाई ‘घटना’ नबनाएसम्म यिनका कारण, परिणाम र उपचार खोज्ने चेतना खुल्दैन । यी सबै सामाजिक घटना हुन् । सामाजिक घटनाका कारण र परिणाम हुन्छन् । जस्तो कि विद्यार्थी ढिला आउनुको कारण थियो– सडक पार गर्न नसकेकी एक वृद्धलाई उनले सडक पार गराइदिनु ।  

श्रद्धालु भक्तजनलाई सोधियो भने भनिने स्वाभाविक उत्तर हो– दाहिने हात पवित्र हुने भएकाले पीपललाई दाहिने पारेर परिक्रमा गरिएको हो । 

‘चोर’को उत्तरमा थप उत्तर दिइएला– चोर्नु अपराध हो, चाहे चोरीको स्रोतले कल्याणका कार्य गरिऊन् । राम्रो उद्देश्य प्राप्त गर्न साधन वा तरिक पनि राम्रो नै हुनुपर्छ । 

यी घटनालाई शिक्षा र साहित्यमा जोडौँ । कस्तो शिक्षा ? कसरी शिक्षा ? कस्तो साहित्य ? कसरी साहित्य सिर्जना ? तर हामीले के पढाइ रहेका छौँ ? कसरी साहित्य सिर्जना गरिरहेका छौँ । 

हामीले कर्तव्य स्वरका धेरै साहित्य पढ्यौँ जस्तो कि– 

नटिप्नू हेर कोपिला 

नचुँड्नू पाप लाग्दछ 

नच्यात्नू फूल नानी हो 

दया र धर्म भाग्दछ (महाकवि लक्ष्मीप्रसाद देवकोटा)

तर नानीहरूलाई मन्दिरमा चढाउन भन्दै फूल टिप्न सिकाइन्छ । असल नानीहरू तिनलाई भनिन्थ्यो÷भनिन्छ जसले साँझ बिहान बा, हजुरबालाई फूल, अक्षतासहितका पूजा सामग्री तयार गरिदिन्छन् । नानीहरूले महाकवि देवकोटाको यही गीत गाउँदै फूल टिपेर पूजा सामग्री तयार गर्छन् भने हामीले पढाउने शिक्षा र सिर्जत साहित्यबीचको विरोधाभाषा खोज्न सकिन्छ । खोज्नुपर्छ ।  

वृद्ध आमैलाई सडक कटाउने गर्दा मलाई विद्यालय आउन ढिला हुनेगर्छ, म सधैँ यस्तो ढिलाइ गर्नेछु भन्ने प्रतिरोध कहिले आउने एउटा विद्यार्थीमा ? माथिका सन्दर्भमा शिक्षा र कर्तव्यबीचको अन्तरविरोध खोज्न सकिन्छ । खोज्नुपर्छ । शिक्षा र साहित्यबीचको अन्तरसम्बन्ध खोज्न सकिन्छ ।  

चोरी र कर्तव्यलाई साहित्यले कसरी व्याख्या गर्ने ? साहित्यले पनि कानुनले भनेझैँ ‘असल उद्देश्य प्राप्त गर्न असल तरिका वा साधन आवश्यक हुन्छ’ भनियो भने साहित्य लेख्न किन आवश्यक हुन्छ ? अदालतमा दैनिक रूपमा द्वन्द्व र मिलापत्रका ‘अदालती साहित्य’ लेखिएकै हुन्छन् । 

उत्तर ‘तर’मा खोज्नुपर्छ । 

हाम्रा पढाइ आज्ञाकारिता सिकाउने माध्यम बनेका छन् । शिक्षा वा दीक्षाकै प्रभावले स्थापित मानसिकताअनुसार पीपललाई दाहिने पारेर परिक्रमा गर्ने श्रद्धालु भक्तजनको आस्था र विश्वासमा श्रद्धा गर्नुपर्छ तर पवित्रताको सन्दर्भमा ‘तपाईंले दाहिने र देब्रे हातलाई पवित्र र अपवित्र भन्नुभयो भने पवित्रता खोज्न कहाँ जानुहुन्छ ? समानता खोज्न कहाँ जानु हुन्छ ?’ भनेर सोधियो भने उत्तरमा कस्तो अभिव्यक्ति आउला ? दाहिने र देबे्रबारे भक्तको अनुभूति कस्तो रहेको होला ? अनुभूतिलाई अभिव्यक्त गर्नु साहित्य हो भने चिन्तन र शक्तिको आडमा देब्रे पारिएका समुदाय, जात, क्षेत्रबारे साहित्यमा कसरी देख्ने र लेख्ने ? यस्तो विरोधाभाषी अवस्थामा नयाँ पुस्तालाई कस्तो शिक्षा दिने ? ‘के दाहिने हात अपवित्र हो ?’ हाम्रा विद्यार्थीले यस्ता प्रश्न कहिले सोध्लान् भन्ने मनमा जिज्ञासा पालिरहँदा त्योभन्दा जब्बर जिज्ञासा आउँछ मनमा कि शिक्षकहरूले विद्यार्थीलाई कस्तो उत्तर दिनेछन् ?  

व्यक्तित्व निर्माण, प्रतिभा विकास, सभ्य समाज स्थापना शिक्षाको उद्देश्य हो । साथै शिक्षाको राजनीतिक उद्देश्य समाज, सत्ता, शक्ति र सङ्क्षेपमा भन्नुपर्दा राज्यले निर्धारण गर्छ । यही सन्दर्भमा माक्र्स र हेगेलले शिक्षाको उद्देश्य लेखे । हिटलर र मुसोलिनीले पनि आफूअनुकूल हुनेगरी शिक्षाका उद्देश्य तयार गरे हुनन् । साम्यवादीले शिक्षाको उद्देश्यलाई वर्ग सङ्र्षको सेरोफेरोमा व्याख्या गरे । सीमित गरे । बुर्जुवा शिक्षाको नामकरण यिनै कारण भएको हुनसक्छ ।  

हाम्रो शिक्षा वादमा आधारित भयो । सामाजिक सिद्धान्त बनाउन र पढाउन सकिएको छैन । वादलाई परीक्षण गर्न सकिँदैन । सिद्धान्तको परीक्षण हुन्छ । परीक्षणबाट पूर्वस्थापित सिद्धान्त मान्य हुनसक्छन्, संशोधन र परिमार्जन हुनसक्छन् वा अस्वीकृत हुनसक्छन् । तर वादजस्तो परिकल्पना, मिथ वा विश्वास मात्र होइन सिद्धान्त । विभिन्न सामाजिक तथ्यलाई सामान्यीकरण गरेर सिद्धान्त निर्माण गरिने भएकाले सिद्धान्त तथ्य वा घटनामा आधारित हुन्छ । कुनै गाउँका प्रत्येक घरमा बालमृत्यु भएको छ भने यस्ता घटनालाई भाग्य वा अभागभन्दा पनि सामाजिक घटना हो भन्नुपर्छ । सामाजिक घटनाका कारण हुन्छन् । जस्तो आमाको स्वास्थ्यमा ध्यान दिन सकिएन, नियमित स्वास्थ्य परीक्षण भएन, राम्रो बर्थिङ सेन्टर भएन, कुपोषण आदिले अधिकांश घरमा बालमृत्यु भएको होला । यस्ता तथ्यमा आधारित भएर घटनालाई सामान्यीकरण गरेर भन्न सकिन्छ, ‘कमजोर स्वास्थ्य संयन्त्रले बालमृत्यु दर बढेको हो ।’ यही निष्कर्ष सिद्धान्त बन्न सक्छ । तर हामीले यस्ता घटनालाई सिद्धान्तको कसी र सामाजिक प्रयोगशालाबाट परीक्षण गरेर निष्कर्ष दिने टन्टा गर्नुभन्दा एकैचोटि ‘भाग्यवाद’को भाष्यबाट व्यक्त गर्ने शिक्षामा जोड दियौँ । यस्तो शिक्षाको प्रभाव नेपाली सहित्यमा पनि प्रचुर मात्रामा देखिन्छ । भाग्य वा अभाग्यवादका आधारमा पढ्ने, पढाउने शिक्षाले हाम्रो साहित्यलाई पनि प्रभावित नगरेका भए डा. डोरबहादुर विष्टको फेटालिजम् र एन्ड डेभलपमेन्ट सान्दर्भिक हुने थिएन । न त भूपि शेरचनले लेख्नुपथ्र्यो–

भारी ट्रकमुनि थिचिएर

म¥यो एउटा कलिलो ठिटो

हत्केला खोलेर, 

उसको आयुरेखा लामो थियो, 

लामो थियो   

लामो थियो    

मेरा विगतका असफल सपनाजस्तै,  

साहित्यले समाजको अवस्था व्यक्त गर्छ र अब स्थापित हुनुपर्ने समाजको आकृतिका खातिर आग्रह गर्छ । त्यसो हो भने स्थापित वादहरूविरुद्ध सिद्धान्त, तर्क, पुस्ट्याइँसहितको वैकल्पिक चिन्तनयुक्त शिक्षा साहित्यको ‘व्याकअप’ हुनसक्छ । तर नेपालमा हामी के गरिरहेका छौँ ? कुनै दिन हामीले कोलम्बसले अमेरिका पत्ता लगाएर भनेर पढ्यौँ, आजतक मानव उद्विकासका लागि डार्बिनका सिद्धान्तलाई अकाट्य गायत्री बनाएर घोक्यौँ । घोकायौँ तर जसले यस्ता निष्कर्ष दिएका थिए, कालन्तरमा उनीहरूले त्यस्ता निष्कर्षलाई बहुविषयक विधाको कसीबाट परीक्षण गरे र भने– मानव उद्विकासमा डर्बिन सत्य होइनन् तर हामी अहिले पनि मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बलराम (बुद्ध) र कल्कीका १० अवतारलाई उदाहरण बनाएर मानव उद्विकासका सूत्र घोक्दैछौँ । घोकाउँदैछौँ ।  यस्तो शिक्षाको प्रभाव साहित्यमा नपर्ने कुरै भएन । साहित्यको उत्तरआधुनिक भाष्य गर्नुअघि नेपाली साहित्यमा भएका आन्दोलन, प्रयोग, विषय चयन, पात्र प्रस्तुतिलाई सामाजिक विज्ञानसम्मत बनाउने पहल गर्नुपर्छ– कस्तो शिक्षा कस्तो सहित्य ?