काठमाडौं, चैत १५ गते । सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यालोकितेश्वरको मूर्तिको रथजात्रा आजबाट सुरु भएको छ । करुणामय र आर्यालोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि मनाउने चलन छ ।
रथयात्रा अहिले घण्टा घरबाट आज असन चोक ल्याइँदैछ । आज सेतो मच्छिन्द्रनाथलाई विधिवत् रूपमा पुजारीहरूले निकालेपछि रथमा राखेर रथलाई जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइन्छ । त्यस्तै, भोलिपल्ट असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका र १७ गते हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइन्छ ।
यसैगरी, चैत १८ गते लगन आमा रुख परिक्रमा, चैत १९ गते लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्याइन्छ ।
सेतो मच्छिन्द्रनाथको मन्दिर १० औँ शताब्दीमा मल्लयुगमा निर्माण गरिएको विश्वास छ । यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ ।
सबैलाई करुणाका दृष्टिकोणले हेर्ने र बोधिसत्त्व प्राप्त भए पनि बोधिसत्त्व नलिनु भएको भगवानको रूपमा सेतो मच्छिन्द्रनाथलाई लिने गरिन्छ किनभने जगतप्राणी अर्थात् सम्पूर्ण संसार, जीवजन्तु, कीटाणु सबैको उद्धार र दीर्घजीवनका लागि करुणामय भगवानको उत्पत्ति भएको किम्बदन्ती छ । बोधिसत्त्व पा बोधिचित्त अर्थात् सबैको भलो गर्ने, आयु आरोग्य हुने हो ।
सानै उमेरमा सेतो मच्छिन्द्रनाथको पुजारीको जिम्मा लिइसक्नु भएका नीलकाजी शाक्यका अनुसार सेतो मच्छिन्द्रनाथको जात्रा अनेकतामा एकताको प्रतीक हो । यसलाई सभ्य र भव्य तरिकाले मनाउनु हाम्रो परम्परा हो । सेतो मच्छिन्द्रनाथलाई हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्ने चलन धेरै पुरानो भएको उहाँको भनाइ छ ।
यस्तै, जात्रामा विसङ्गति र विकृति फैलिएको कारण एक समयमा जात्रा नै नचल्ने अवस्थासम्म पुगेको पुजारी शाक्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको स्थापनासँगै यो जात्रालाई निरन्तरता दिएको पाइन्छ । सेतो मच्छिन्द्रनाथलाई विश्वका सम्पूर्ण प्राणीहरूको उद्धार गर्ने भगवानको रूपमा मान्ने कारणले यो जात्रा नेवार समुदायको मात्रै नभएर सम्पूर्ण नेपालीको रूपमा लिन सकिन्छ ।”
यसबाहेक, विश्वलाई अपनत्व महसुस गराउने प्रयत्नले सेतो मच्छिन्द्रनाथको जात्रा सञ्चालन गरिरहेको उहाँको भनाइ छ । नेपाली जनतामा धर्म र संस्कृतिलाई संवर्द्धन, प्रवर्द्धन र संरक्षण गर्नुपर्ने भावनाको विकास भएको कारण यो जात्रा अझै पहिलेभन्दा व्यवस्थित र हर्षो उल्लासका साथ मनाउने गरेको उहाँ बताउनुहुन्छ ।
यस्तै, रथको 'घमा' अर्थात् पाङ्ग्राको छुटै धार्मिक महत्त्व रहेकोसमेत शाक्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “'घमा' भनेको नागराजा हो । रथको चार वटा पाङ्ग्रालाई भैरव प्रतीकको रूपमा पनि पुज्ने चलन छ । रथको हरेक भागले विभिन्न भगवानको प्रतीकको सङ्केत गर्दछ ।"
यसबाहेक रथकाे घमा ४० वर्ष पुरानो भएको कारण यसको परिवर्तनका लागि आवश्यक काठको काम कारबाही बारे छलफलसमेत चलिरहेको शाक्यले जानकारी दिनुभयो ।
यसरी जात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई दुई पटक परिक्रमा गराएपछि जात्रा सकिन्छ । यसपछि भने विधिवत् रूपमा पुजारीहरूले रथबाट निकालेर सानो खटमा राखेर सिन्दुर जात्रा गरेर जनबहालमा पुन विराजमान गर्ने परम्परा छ ।