• ४ भदौ २०८२, बुधबार

एमाले विधान महाधिवेशनको तयारी तीब्र

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ३ गते । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन अब १७ दिन बाँकी छ । महाधिवेशन नजिकिँदै गर्दा त्यसको तयारी पनि तीब्ररूपमा अगाडि बढिरहेको एमालेका नेताहरुको भनाइ छ । 

महाधिवेशन सुव्यवस्थित र भव्यरूपमा सम्पन्न गर्नका लागि केन्द्रीय कार्यालयले गर्नुपर्ने तयारीदेखि प्रदेश, जिल्ला लगायतका कमिटीहरूमा महाधिवेशन सन्दर्भका तयारी बैठक, विधान संशोधनमाथि छलफल र सुझाव सङ्कलनका काम धमाधम भइरहेका छन् । 

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २०–२२ सम्म हुने विधान महाधिवेशनको तयारीको क्रममा आज महाधिवेशन सन्दर्भका विभिन्न जिम्मेवारीमा रहनुभएका नेताहरूले महाधिवेशन स्थल सनराईज हलको निरीक्षण गरी व्यवस्थापनको कामलाई चुस्त र व्यवस्थित बनाउन आवश्यक सबै पक्षका बारेमा अध्ययन र विमर्श गर्नुभयो ।  

पार्टीका उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको नेतृत्वको निरीक्षण टोलीमा स्थायी कमिटी सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, राजेन्द्र गौतम, पोलिटव्यूरो सदस्य विनोद श्रेष्ठ, सुशीला नेपाल, केन्द्रीय सदस्य निरज आचार्य, रुपनारायण श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, बाग्मती प्रदेश कमिटी सचिव नवराज सिलवाल, ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा लगायत नेता कार्यकर्ताहरू सहभागी हुनुहुुन्थ्यो । 

उहाँहरूले पार्टीको विधान महाधिवेशन सुव्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि मुख्य सभाहल, बैठक कक्षहरू, सचिवालय सञ्चालन कक्ष, फर्निचर व्यवस्था, सञ्चार सुविधाको व्यवस्था, मिडिया सेन्टर र मेडिकल टिमको व्यवस्थापन, खानेपानी व्यवस्था, गाडी पार्किङ स्थल लगायतको निरीक्षण गर्नुभयो । 

दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।