• ४ भदौ २०८२, बुधबार

गण्डकी प्रदेशमा ९३ प्रतिशत रोपाइँ

blog

बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका किसान धान रोप्दै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ ४ गते ।
गण्डकी प्रदेशमा ९३ प्रतिशत खेतमा धान रोपाइँ गरिएको छ । यसवर्ष ८७ हजार ८ सय ९ हेक्टर अर्थात् ९३.२३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

प्रदेशका नौ जिल्लामा ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने कृषि मन्त्रालयको अनुमान थियो । सुविधाको नाममा बढ्दै गइरहेको बसाइँ सराइ, वन्यजन्तुको प्रकोपले बालीमा हुने क्षति र प्रतिकूल मौसमका कारण धानखेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको रेग्मीको अनुमान छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको थियो । चालु आर्थिक वर्षमा भने केही क्षेत्रफलमा रोपाइँ घट्ने अनुमान गरिएको थियो । गण्डकीमा ११ जिल्ला रहेको भए पनि हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा भने धान खेती हुँदैन ।

गण्डकीमा सबैभन्दा बढी रोपाइँ कास्कीमा ९९.५७ प्रतिशत र कम नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा ८२.७० प्रतिशत रोपाइँ भएको छ । यस्तै गोरखामा ८५.०१, लमजुङमा ९६.७८, तनहुँमा ९५.९७, पर्वतमा ९४, स्याङ्जामा ९९.३१, म्याग्दीमा ९५.२४ र बागलुङमा ९६.८१ प्रतिशत रोपाइँ भएको छ ।

कास्कीमा १६ हजार २२० हेक्टरमध्ये १६ हजार १५०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ हजार ७२० हेक्टरमध्ये १५ हजार ४८१, गोरखामा १० हजार १४० हेक्टरमध्ये ८ हजार ६२०, लमजुङमा ९ हजार २९९ हेक्टरमध्ये ९ हजार, तनहुँमा ८ हजार ७२० हेक्टरमध्ये ८ हजार ३६९, पर्वतमा ७ हजार १८० हेक्टरमध्ये ६ हजार ७४९, स्याङ्जामा १४ हजार ३९० हेक्टरमध्ये १४ हजार २९०, म्याग्दीमा ३ हजार ८०६ हेक्टरमध्ये ३ हजार ६२५ हेक्टर र बागलुङमा ५ हजार ७० हेक्टरमध्ये ५ हजार ५२५ हेक्टरमा रोपाइँ भएको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा एक हजार ७ सय १६ हेक्टर कम क्षेत्रफलमा धान लगाइएको थियो । गत वर्ष ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउँदा यसवर्ष भने ३ हजार ५८७ हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको थियो । २०८० सालको तुलनामा ०८१ सालमा करिब १.८ प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको हो । यो वर्ष भदौसम्म रोपाइँ हुँदा गत वर्षको तुलनामा ८.५८ प्रतिशतले रोपाइँ कम भएको हो ।