शिवकुमार रिजाल
मनहरी, भदौ ३ गते। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ स्थित हाङलाङ भन्ने गाउँमा किरिया भइरहेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
केही दिनअघि मृत्यु भएका मानबहादुर घलानको तामाङ संस्कार अनुसारको अन्तिम किरिया (घेवा) भइरहेको ठाउँमा अकस्मात चट्याङ परेको हो। चट्याङलगत्तै ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै ज्यान गएको मनहरी गाउँपालिका ६ का वडाध्यक्ष युवराज थपलियाले जानकारी दिनुभयो।
घटनामा परी घाइते भएका ११ जनालाई उपचारका लागि साँझसम्ममा मनहरी अस्पताल ल्याइएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो। घटनास्थलमै रहेको मृतकको शव पोष्टमार्टमका लागि हेटौँडा लैजाने तयारी छ।