• १२ मंसिर २०८१, बुधबार

दार्चुलामा पहिलो पटक महिला सीडीओ

blog

सुदूरपश्चिमको पहिलो महिला सीडिओ किरण जोशी । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, चैत १० गते । गृह मन्त्रालयले दार्चुलाको नयाँ सिडिओमा किरण जोशीलाई पठाएको छ । जोशी सुदूरपश्चिमकै पहिलो महिला सिडिओ बन्न सफल हुनुभएको छ । गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुला सरुवा गरेर पठाएको हो । 

आफू जन्मेकै प्रदेशमा बसेर देश र जनताको सेवा गर्ने अवसर पाएकोमा उहाँले खुसी लागेको बताउनुभयो । जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्नुभएको पहिलो महिला हुनुहुन्छ । बैतडीमा जन्मनुभएका जोशी यसअघि डोटीको सहायक सिडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।  

जोशी जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ । उहाँले लोकसेवासम्बन्धी पुस्तकसमेत लेख्नुभएको छ । हालसम्म खरिदार, उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको उहाँले बताउनुभयो । निजामती सेवामै रहनुभएका उहाँले श्रीमान् सिद्धाराज जोशीसँगको सहकार्यमा पुस्तक लेख्नुभएको हो । सिद्धाराज जोशी यसअघि बैतडी, दार्चुलाको सिडिओ भइसक्नुभएको छ ।