• ११ फागुन २०८०, शुक्रबार

मुसहर समुदायका बालबालिका विद्यालय बाहिर

blog

जनार्जन खत्री

सर्लाही, चैत ८ गते । तराईको अति पिछडिएको दलित समुदायमा पर्ने मुसहर समुदायका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन्। 

गरिबीका कारण अभिभावक इँटा उद्योगमा मजदुरी गर्न जाँदा यहाँका मुसहर बालबालिका पढाइबाट बञ्चित हुनु परेको हो। अभिभावकसँग गाउँमै बसेका बालबालिका पनि अशिक्षाका कारण विद्यालयको पहुँचभन्दा बाहिर छन्। तराईका प्रत्येक मुसहर बस्तीमा पुग्दा मुसहर बालबालिका गाउँमै खेलेर बसेको भेटिन्छन्। बसबरिया गाउँपालिका–३, भवानीपुर गाउँकी मन्मादेवि माझीले गाउँका धेरै बालबालिका विद्यालय नजाने गरेको बताउनुभयो। आमा, बुवा परिवारको पेट पाल्न विभिन्न ठाउँमा मजदुरी गर्न र इँटा भट्टामा काम गर्न जाँदा मुसहर बालबालिकाले पढ्न नपाएको माझीले बताउनुभयो। मन्मादेवीले भन्नुभयो, “हाम्रो यहाँ बस्तीमै टाँसिएको माध्यमिक विद्यालय छ तर बस्तीका दुई–चार जना बालबालिका मात्रै पढ्न जान्छन्। गरिबीले पेट पाल्नै धौधौ छ, बुवा, आमा भट्टामा काम गर्न जान्छन्। अनि उनीहरूसँगै छोराछोरी पनि जाने भएकाले पढ्नै पाउँदैनन्।”

मुसहर समुदायका मानिस छ महिना मात्रै घरगाउँमा बस्छन्। हिउँदका छ महिना अधिकांश मुसहर इँटा भट्टामा काम गर्न जान्छन्। बालबालिकालाई घरमा छाड्दा पालनपोषण नहुने भएकाले आमा, बुवाले आफ्ना छोराछोरीसँगै लिएर जाने गरेका छन्। हरिपुर नगरपालिका–९, पिडारीकी पल्टनियाँदेवी माझीले भन्नुभयो, “अहिले हाम्रोतिरका धेरै माझी, मुसहर इँटा उद्योगमा काम गर्न गएका छन्। वर्षा लागेपछि मात्रै फर्किन्छन्। उनीहरूका छोराछोरी पनि सँगै गएकाले विद्यालय जानबाट बञ्चित हुनु परेको छ।” 

सर्लाहीका २० वटै पालिकामा मुसहर समुदायको बसोबास छ। मुसहर समुदायको प्रायः एकै ठाउँमा झुरुप्प परेको बस्ती हुन्छ। राष्ट्रिय मुसहर सङ्घ सर्लाहीका अध्यक्ष ऋतुराज ऋषिले गरिबीकै कारण मुसहर बालबालिका शिक्षाबाट बञ्चित भई उनीहरूको भविष्य अन्धकार बन्न पुगेको बताउनुहुन्छ। ऋषिले भन्नुभयो, “अभिभावकले गरिबीको बाध्यताले छोराछोरी पढाउन पाएका छैनन्।” 

कतिपय अभिभावकमा बालबालिकालाई पढाउनुपर्छ भन्ने चेतना आउन थाले पनि गरिबीका कारण विद्यालय पठाउन नसकेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “पेट पाल्नै गाह्रो छ, किताब, कापी र विद्यालय पोसाक किनेर सबै मुसहरले छोराछोरीलाई विद्यालय पठाउन सक्दैनन्। स्थानीय सरकारले मुसहरलाई गाउँमै रोजगारी दिने र उनीहरूका बालबालिकालाई निःशुल्क पढाइदिने हो भने सबै मुसहर बालबच्चा विद्यालयको पहुँचमा आउन सक्छन्।”

बरहथवा नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय हजरियाका प्रधानाध्यापक भरत महतोले मुसहर बालबालिकालाई विद्यालयमा ल्याउन छात्रावृत्ति दिने, बेलाबेलामा घरमै गएर अभिभावकलाई सम्झाउने गरेको भए पनि उनीहरू विद्यालय नै नआउने गरेको बताउनुभयो। प्रधानाध्यापक महतोले भन्नुभयो, “मुसहर बालबालिकालाई छात्रावृत्ति दिन्छौँ, सरसहयोग जुटाएर लुगा र जुत्ता पनि दिन्छौँ तर उनीहरूलाई विद्यालय ल्याउनै गाह्रो छ, ल्याएपछि पनि टिकाउन उत्तिनै गाह्रो छ। आमा, बुवा इँटा भट्टामा जाँदा बालबालिका पनि सँगै जान्छन्। हामीले रोक्न सक्दैनौँ।”यहाँका विद्यालयका अनुसार भर्ना हुन आउने मुहसर बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन्। कतिपय मुसहर बालबालिका दिवा खाजा खाएपछि घर फर्किएर जाने गरेको समेत पाइएको छ।