• २२ वैशाख २०८१, शनिबार

तनहुँका तीन क्याम्पसमा स्ववियु निर्वाचन सकियो, दुईमा स्थगित

blog

आँबुखैरेनी क्याम्पसमा स्ववियुमा निर्वाचित टिम । तस्विर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत ६ गते । तनहुँका तीन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ भने दुईमा स्थगित भएको छ । आइतबार सम्पन्न निर्वाचनबाट आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजारस्थित आँबुखैरेनी क्याम्पस, शुक्लागण्डकी नगरपालिकाको शहीदकृष्ण क्याम्पस र भिमाद नगरपालिको भिमादस्थित जनजुक्त क्याम्पसमा स्ववियुको निर्वाचन भएको हो  ।

यी क्याम्पसमा दुईमा नेविसङ्घको नेतृत्वको प्यानल विजयी भएको छ भने एकमा अखिल क्रान्तिक्रारी नेतृत्वको विजयी भएको हो । जनज्योति क्याम्पसमा नेविसङ्घको प्यानलै विजयी भएको छ । 

सभापति विनोद पराजुली प्यानलसहित निर्वाचित हुनुभएको हो । निर्वाचनमा १७८ मत प्राप्त गरी पराजुली सभापतिमा विजयी हुनुभएको छ । सभापतिका उम्मेदवार अनेरास्ववियुका निषा श्रेष्ठले ९७ मत प्राप्त गर्नुभयो । सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियार विजयी हुनुभएको छ । सदस्यहरुमा निशा भुजेल, सविता माल, सचिन श्रेष्ठ, इन्द्रावती सार्की र काशिका राना विजयी भएका छन् । यस्तै, शुक्लागण्डकी नगरपालिका–८ स्थित शहीदकृष्ण क्याम्पसमा नेपाल विद्यार्थी दमौली नेतृत्वको प्यानल विजयी भएको छ । 

निर्वाचनमा यस क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो । निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो । सभापतिमा विष्णुबहादुर अधिकारीले २७ मत र प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गर्नुभयो । 

सचिवमा नेविसङ्घकै शालिग्राम पोख्रेलले २७ मत र प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गर्नुभयो । सदस्यहरुमा विना विक ३०, थमनबहादुर भुजेल ३०, दीपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी हुनुभभयो । कोषाध्यक्षमा भने अखिल (क्रान्तिकारी) की सुष्मा माकिम यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । आँबुखैरेनी क्याम्पसमा सत्तारुढ गठबन्धन विजय भएको छ । 

अखिल (क्रान्तिकारी)को नेतृत्वको गठबन्धनले विजय हासिल गरेको हो । क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी)का निशान मगर एक सय १६ मत प्राप्त गरी विजयी हुनुभयो । प्रतिस्पर्धी अनेरास्ववियुका कृशल कँडेलले ७२ मत प्राप्त गर्नुभयो । 

सचिवमा नेविसङ्घका बोनिस अधिकारी ७२ मत प्राप्त गरी विजयी हुनुभयो । प्रतिस्पर्धी अनेरास्ववियुका सविता श्रेष्ठले ६१ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का श्वेता थापा एक सय ८ मत प्राप्त गरी विजयी हुनुभयो । प्रतिस्पर्धी अनेरास्ववियुका उज्ज्वल थापाले ६६ मत प्राप्त गर्नुभयो । सदस्यहरुमा अखिल (क्रान्तिकारी)का अस्मिता श्रेष्ठ एक सय २, अर्पण देवकोटा एक सय ७ र रविन कामी एक सय ९ मत प्राप्त गरी विजयी हुनुभयो । प्रतिस्पर्धी अनेरास्ववियुका इन्दु अधिकारीले ४९, सुरज श्रेष्ठले ५६ र अमृत कट्टेलले ४६ मत प्राप्त गर्नुभयो । दुई सय ६७ मतदाता रहेको निर्वाचनमा एक सय ९३ मत खसेको बताइएको छ । तनहुँका पाँचमध्ये दुई क्याम्पसमा भने निर्वाचन हुन सकेन । 

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस र शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको निर्वाचन स्थगित भएको हो । क्याम्पसद्धारा जारी विज्ञप्तिमा अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जनाइएको छ । अध्ययन र अध्यापन कार्य भने नियमित रुपमा सञ्चालन हुने क्याम्पसले जनाएका छन् ।