• १० पुस २०८१, बुधबार

खुट्टा गुमाएका पौरखी नथुनी

blog

जीवछ यादव 

लहान, चैत ४ गते । दुई वर्षअगाडि ट्याक्टर दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका लहान नगरपालिका–१ का ६८ वर्षीय नथुनी दासले हाते कल गाड्ने पेसा छाड्नुभएको छैन। अहिले पनि उहाँले महिनाको २० हजार रुपियाँ कमाइ गरिरहनुभएको छ। अक्षरसमेत नचिनेका दासले पाँच दशकदेखि हाते कल धसाएर (गाडेर) दुई छोरा र तीन छोरीलाई पढाएर लालनपालन गरिरहनुभएको छ। तीन वर्षअगाडि गोलबजारमा ट्याक्टरको ठक्करबाट टुक्रिएको दाहिने खुट्टा काठमाडौँस्थित वीर अस्पतालमा काटिएको थियो। 

अब केही गर्न सकिँदैन भन्ने लागेको सुनाउँदै अपाङ्ग सङ्घ लहानले ह्विल चेयर उपलब्ध गराएपछि कल धसाउने काम फेरि सुरु गर्नुभयो। पुरानै शैलीमा काम चलिरहेको र महिनाको २० हजार रुपियाँ कमाइ भइरहेको उहाँले बताउनुभयो। 

अनुभव सुनाउँदै दासले भन्नुभयो, “अपाङ्ग भएपछि मनोबल गिराउने कामले बाँच्न कठिनाइ हुँदोरहेछ। कल धसाउने काममा मेरो शिष्यहरूले छोराछोरी जत्तिकै माया गरेर ह्विल चेयरमा पु-याउँछन्। कल गाडेबापत् मलाई पनि मजदुरी दिइएको छ। खुट्टा गुमाए पनि अनुभवले कमाइ भइरहेको छ।”

उहाँले अपाङ्ग र साङ्ग दुवै जीवन आफूले भोगेकोले अक्कलले बाँच्न सकिरहेको तर्क गर्नुभयो। सिन्धुली, उदयपुर, सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लासम्म हाते कल धसाउन भ्याइनभ्याइ हुने विगतका दिनको सम्झना उहाँले सुनाउनुभयो। उहाँ भन्नुहुन्छ, “पहिले गाउँमा दुई/तीनवटा कल मात्रै हुँदा सिङ्गै गाउँले पानी खान्थ्यो तर अचेल प्रत्येक घरमा खानेपानीका लागि कल धसाउने लहर चलेको छ। वर्षमा दुई हजारभन्दा बढी कल धसाएर वर्षको तीन लाखभन्दा बढी कमाइ गर्थे। अहिले ट्याक्टरले कल धसाउने प्रविधि आएपछि कमाइ केही कम भए पनि यस पेसाले खुट्टा गुमे पनि बाँच्ने आधार गुमेन।” नथुनी लहानका लागि मात्रै होइन, यस भेगका प्रेरकसमेत भएको दलित अभियानकर्मी नेनीलाल रामको भनाइ छ। उहाँले भन्नुभयो, “सदाय र राम समुदायका युवा मदिरा सेवन गरेको कारण ४० नकट्दै मृत्युको मुखमा परिरहेका छन्। नथुनीले एउटा खुट्टा गुमाएर पनि रोजगारी गुमाउनु भएको छैन।”

चार जनालाई कल धसाउने सीप सिकाएर आत्मनिर्भर हुन सिकाएका गुरु नथुनीलाई जीवनपर्यन्त सहयोग र साथ दिइरहने राजेश चौधरी बताउनुहुन्छ। उहाँ थप्नुहुन्छ, “गुरूको बोली काम गर्ने शैलीले हामीले स्वदेशमै रोजगारी पाएका छौँ। पिता तुल्य दास हाम्रो लागि एक असल अभिभावक भएकोले काम गर्न नसक्ने अवस्थामा पनि शिष्यका रूपमा सेवा गर्ने हाम्रो वचनले उहाँ अत्यधिक उत्साहित हुनुहुन्छ।”