टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), कात्तिक १२ गते। रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा लगानीका सम्भाव्य क्षेत्र पहिचान गर्नेसम्बन्धी विभिन्न विधाका विशिस्ट व्यक्तित्वहरूसँग अन्तर्क्रिया जारी राखेको छ । गुल्मी उद्योग सङ्घका महासचिव सुदर्शन खनालले लगानीका सम्भाबव्य क्षेत्र पहिचान, लगानी र चुनौतीका विषयमा छलफल जारी रहेको छ ।
नगरले मान्छेलेलाई केन्द्रमा राखेर गरेको सडक विस्तार, रेसुङ्गा बहुमुखी क्याम्पसको सहयोग, गुल्मी अस्पतालमा जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तारमा सहयोग, ‘जाउँ हिँड रेसुङ्गा’ अभियान अन्तर्गत निकै उदाहरणीय काम गरेको खनालले बताउनुभयो । उहाँले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण तयार गर्न आग्रह गरिएको बताउनुभयो ।
आज लगानीको आवश्यकता पर्यटन क्षेत्र भएको खनालले बताउनुभयो । कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थी र माल्टाका अध्यक्ष रेमलाल खनाललाई नगरपालिकाले सम्मान गरेको छ । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले लगानीका विषयमा दुई–तीन पटक छलफल गरे पनि निष्कर्ष अझै नआएको जानकारी दिनुभयो ।
उहाँले पर्यटन क्षेत्रसहित होटल र कृषिमा लगानी साझेदार गर्न आफूहरू तयार रहेको बताउनुभयो । एनआरएन बेल्जियमका अध्यक्ष कमल पन्थीले आफू मातृभूमिमा लगानी गर्न आतुर भएकाले क्षेत्र र वातावरण हेरेर काममा जोडिने बताउनुभयो। एनआरएन माल्टाका अध्यक्ष रेमलाल खनालले रेसुङ्गालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र होटल व्यवसायमा लगानी गर्न आवश्यक रहेकाले आफूले सकेको लगानी सहयोग गर्ने बताउनुभयो ।
रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष श्रीप्रसाद भलामीले लगानी सम्भाव्यका विषयमा छलफल र विचारविमर्श भए पनि देशमा लगानीको सुरक्षा नहुँदा ऊर्जा भर्न नसकिएको बताउनुभयो । उहाँले रेसुङ्गाबारे प्रचार गर्न सकेमात्र समृद्धिको आधार तयार हुने बताउनुभयो । धार्मिक पर्यटनलाई विविधीकरण गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
नगरभित्र व्यवसाय गर्न सबैभन्दा ठुलो चुनौती जग्गा प्राप्ति भएकाले नगरपालिकाले लामो समय लिजमा पाउने गरेर सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले धार्मिक पर्यटन अबको लगानीको सम्भावना भएको बताउनुभयो । आफूहरूले रेसुङ्गाको विकास र प्रचारको लागि थुप्रै गतिविधि गरे पनि पर्याप्त नभएको बताउँदै सबैको सहयोग आवश्यक रहेको भुसालले बताउनुभयो ।
विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरूले नीतिगत समस्याको समाधानसहित ठोस कार्ययोजना आवश्यक रहेको बताउनुभयो । रेसुङ्गालाई समयसापेक्ष हाम्रो सोच र योजना परिवर्तन गरेर शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउनुपर्नेमा जोड दिनुभयो । रेसुङ्गाको प्रचार प्रसार नभएको भन्दा पनि गुल्मेलीको साझा बुझाइमा एकरूपता नहुनु दुःखद भएको माओवादी केन्द्रका नेता बुद्धि जिसीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले देश जटिल अवस्थामा हामीले आफ्नो ढङ्गबाट ठोस योजना बनाउन अहिलेको छलफल आयोजना गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकारको तर्फबाट लगानी गर्नेहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्ने बताउँदै ढुक्क भएर योजना अगाडि सार्न आग्रह गर्नुभयो ।