काठमाडौँ, कात्तिक १२ गते । नामिबियाका कप्तान जेर्हाड इरसमसले लगातार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्नुहुने भएको छ ।
काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा इरसमसलाई अनुबन्ध गरेको हो । उहाँले सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आउनुभएको थियो ।
३० वर्षीय इरसमसले सन् २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जित्नुभएको थियो । वर्ष २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर हुनेक्रममा इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग–२ का खेलमा २८ रन खर्चेर ५ विकेट लिनुभएको थियो ।
जुन उहाँको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको उपकप्तानको भुमिकामा उहाँले सानदार प्रदर्शन गर्नुभएको थियो । उहाँले सात खेलमा एक सय ३७ माथिको स्ट्राइक रेटमा एक सय १० रन बनाउनुका साथै ११.९० को औषतमा ११ विकेट लिनुभएको थियो ।